न्यूयोर्क – न्यूयोर्कमा सेप्टेम्बर १५ मा हुन लागेको अवार्ड कार्यक्रममा भाग लिन चर्चित कलाकारहरू अमेरिका आइपुगेका छन।
सातौँ एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्डमा भाग लिन करिश्मा मानन्धर, केदार घिमिरेलगायत चर्चित कलाकारहरु अमेरिका आएका हुन्।
सो कार्यक्रममा भाग लिन यसअघि पनि थुप्रै कलाकारहरू अमेरिका आइसकेका छन्।
अमेरिका आउने कलाकारहरुमा नेपाली सिनेमाकी चर्चित नायिका करिश्मा मानन्धर, माग्ने बुढा उपनामले परिचित केदार घिमिरे लगायत कृष्ण मल्ल, शर्मिला मल्ल, रवीन्द्र खड्का, वसुन्धरा भुसाल, शम्भुजित बास्कोटा, प्रशान्त ताम्रकार, सन्दीप क्षेत्री आदि रहेका छन्।
अवार्ड कार्यक्रममा चलचित्रकर्मीलाई सम्मान पुरस्कार र प्रोत्साहन गर्ने जनाइएको छ। सन् २०१६ बाट सुरु भएको यो कार्यक्रमको नारा ‘नेपाली सिनेमा भिलेज टु ग्लोब’ भन्ने रहेको छ।
अवार्ड कार्यक्रम २०२४ सेप्टेम्बर १५ तारिखमा अमेरिकाको मेलरोज बलरुममा हुने र अवार्डको लागि टिकट अनलाइन बुकिङ गर्न सकिने व्यवस्था रहेको थियो।
कार्यक्रमले मनोरञ्जन, उत्सव र सांस्कृति प्रदर्शन गर्ने र दर्शकहरुको मन जित्ने आयोजक टिमले बताएका छन्।
कार्यक्रम त्रिवेणी इन्टरटेन्मेन्ट र दिलकुमारी केसी स्मृति फाउन्डेसनको सहकार्यमा ग्लोबल नेपाली फिल्म अवार्डले आयोजना गरेको हो।
कार्यक्रममा देश विदेशमा रहेका नेपाली कलाकार तथा प्रतिष्ठिक व्यक्तिहरु आउने छन्। कार्यक्रममा उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशक, उत्कृष्ट अभिनेतारअभिनेत्री सहित विभिन्न विधाका पुरस्कारहरू प्रदान गरिने जनाइएको छ।
साथै अवार्ड कार्यक्रममा विभिन्न कलाकारहरूद्वारा मनमोहक कला प्रदर्शन हुने छ।
अवार्ड आयोजनाको उद्देश्य अमेरिकामा नेपाली फिल्मको प्रवर्द्धन, नेपाली कलाकार तथा अमेरिकावासी नेपाली जनसमुदायहरू बीच प्रत्यक्ष साक्षात्कार गराउनु रहेको आयोजकले बताएका छन्।
अवार्डका अघिल्ला ६ संस्करणहरू कोलोराडो, सनफ्रान्सिस्को र न्यूयोर्क शहरमा सफलतापूर्वक सम्पन्न भएको जनाइएको छ।