२६ फाल्गुन २०८२, मङ्लबार
10 March 2026, Tuesday

कैलालीका १३९ जनालाई सुरक्षित स्थानमा सारियो

कैलालीका १३९ जनालाई सुरक्षित स्थानमा सारियो

काठमाडौं- बाढीको जोखिममा परेका कैलालीका १३९ जनालाई सुरक्षित स्थानमा सारिएको छ । दुई दिनदेखि भइरहेको अविरल वर्षाका कारण नदीमा बाढी आएपछि जोखिममा रहेका व्यक्तिलाई सुरक्षित स्थानमा सारिएको हो । जिल्ला प्रशासन कार्यालयका अनुसार जानकी गाउँपालिका–४ स्थित १५ परिवारका ३४ जनालाई सुरक्षित घरमा सारिएको छ ।

यसैगरी, जानकी गाउँपालिका–७ स्थित १७ परिवारका ९४ जनालाई पनि  सुरक्षित घरमा सारिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए। त्यस्तै, जोशीपुर गाउँपालिका–३ भितरियाका दुई परिवारको ११ जनालाई जनहित सामुदायिक वनको भवनमा सारिएको छ ।

पछिल्लो छ घण्टामा कैलालीको विभिन्न स्थानमा भारी वर्षा भएको र थप वर्षा हुने देखिएको जल तथा मौसमविज्ञान विभागले जानकारी दिएको छ । वर्षाका कारण नदीनालामा पानीको बहाव बढ्दो क्रममा  छ । कर्णाली नदीमा पानीको बहावले सतर्कता तह पार गरेको छ ।

यसैगरी, मोहना, खुटिया, कान्द्रा, घुरहा, कटैनी, पथरैया नदीमा जलसतह बढिरहेको र खतरा आसपास पुग्ने देखिएकाले तटीय क्षेत्र र डुबान हुने होचा स्थानका बासिन्दालाई आज साँझसम्म उच्च सतर्कता अपनाउन जल तथा मौसमविज्ञान विभागले आग्रह गरेको छ ।