सातौँ एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड आज हुँदै
- ३० भदौ २०८१
- १ मिनेटको पढाई
न्यूयोर्क: सातौँ एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड अमेरिकाको न्यूयोर्कमा आज बेलुकी ६ बजेबाट सुरु हुने भएको छ। कार्यक्रममा चलचित्रकर्मीलाई सम्मानस्वरुप पुरस्कार र प्रोत्साहन गर्ने आयोजकले जनाएका छन्।
सन् २०१६ बाट सुरु भएको यो कार्यक्रमको नारा ‘नेपाली सिनेमा भिलेज टु ग्लोब’ भन्ने रहेको छ।
अवार्ड कार्यक्रम अमेरिकाको मेलरोज बलरुममा हुने छ। अवार्ड कार्यक्रममा सहभागी हुन नेपालका चर्चित कलाकार तथा सिनेमाकर्मीहरु न्यूयोर्क आएका छन्।
कार्यक्रमले मनोरञ्जन, उत्सव र सांस्कृति प्रदर्शन गर्ने र दर्शकहरुको मन जित्ने आयोजक टिमले बताएका छन्।
कार्यक्रम त्रिवेणी इन्टरटेन्मेन्ट र दिलकुमारी केसी स्मृति फाउन्डेसनको सहकार्यमा ग्लोबल नेपाली फिल्म अवार्डले आयोजना गरेको हो।
कार्यक्रममा देश विदेशमा रहेका नेपाली कलाकार तथा प्रतिष्ठिक व्यक्तिहरुको उपस्थिति रहने छ। कार्यक्रममा उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशक, उत्कृष्ट अभिनेता/अभिनेत्री सहित विभिन्न विधाका पुरस्कारहरू प्रदान गरिने जनाइएको छ।
साथै अवार्ड कार्यक्रममा विभिन्न कलाकारहरूद्वारा मनमोहक कला प्रदर्शन हुने छ।
अवार्ड आयोजनाको उद्देश्य अमेरिकामा नेपाली फिल्मको प्रवर्द्धन, नेपाली कलाकार तथा अमेरिकावासी नेपाली जनसमुदायहरू बीच प्रत्यक्ष साक्षात्कार गराउनु रहेको आयोजकले बताएका छन्।
अवार्डका अघिल्ला ६ संस्करणहरू कोलोराडो, सनफ्रान्सिस्को लगायत शहरमा सफलतापूर्वक सम्पन्न भएको थियाे।