२९ फाल्गुन २०८२, शुक्रबार
13 March 2026, Friday

अमेरिकाले रुसविरुद्ध लामो दूरीका मिसाइल प्रयोग गर्न अनुमति दिने सम्भावना

अमेरिकाले रुसविरुद्ध लामो दूरीका मिसाइल प्रयोग गर्न अनुमति दिने सम्भावना

न्युयोर्क- रुसले जासुसी गरेको आरोपमा ६ बेलायती कूटनीतिज्ञको मान्यता रद्द गरेको छ। बेलायतको विदेश मन्त्रालयले आफ्ना कूटनीतिज्ञहरूविरुद्ध लगाइएको आरोपलाई पूर्णतया आधारहीन भएको बताएको छ।

यसैबीच, बेलायती प्रधानमन्त्री कियर स्टारमर युक्रेन युद्धबारे राष्ट्रपति जो बाइडेनसँग कुराकानी गर्न अमेरिका पुगेका छन्।

बीबीसीका अनुसार बेलायती प्रधानमन्त्रीको भ्रमणका क्रममा युक्रेनलाई रुसभित्र लामो दूरीका क्षेप्यास्त्र प्रयोग गर्न दिने कि नदिने भन्ने विषयमा पनि छलफल हुनेछ।

बेलायती प्रधानमन्त्री स्टारमरले युद्ध रोक्ने कुरा रुसको हातमा रहेको बताइरहेका छन्। यसअघि रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अन्तर्राष्ट्रिय मान्यता प्राप्त रुसी भूभागमा पश्चिमी मुलुकका मिसाइल आक्रमणका कारण यो विवाद नयाँ उचाइमा पुग्ने चेतावनी दिएका छन्।

न्युयोर्क टाइम्सको रिपोर्टमा भनिएको छ- अमेरिकाले चाँडै युक्रेनलाई पश्चिमी देशहरूबाट प्राप्त लामो दूरीका मिसाइल रुसी भूमिमा प्रयोग गर्न अनुमति दिनसक्छ।

स्टोर्म साडो मिसाइल कस्तो हो?
युक्रेनले रुसभित्र प्रयोग गर्न अनुमति मागेको मिसाइललाई स्टोर्म साडो मिसाइल भनिन्छ। यो मिसाइल विमानबाट प्रक्षेपण गरिन्छ र यसको गति लगभग ध्वनिको गति बराबर हुन्छ।

यो मिसाइलको अधिकतम दायरा लगभग २५० किलोमिटर छ। यो एउटा मिसाइलको मूल्य १० लाख अमेरिकी डलर छ। यस्तो मिसाइल बंकरहरू भेट्टाउन उपयोगी मानिन्छ। रुसले युक्रेनविरुद्ध यस्तै मिसाइल प्रयोग गरेको छ।