८ मंसिर २०८१, शनिबार
23 November 2024, Saturday

आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालले सोमबार क्यानडाको सामना गर्दै

आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालले  सोमबार क्यानडाको सामना गर्दै

आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालले दोस्रो शृङ्खलाको पहिलो खेलमा सोमबार क्यानडाको सामना गर्दै छ । खेल क्यानडाकाे किंग्स सिटी ओरान्टियोमा नेपाली समयअनुसार बेलुका पाैने ८ बजे सुरु हुनेछ । यो शृङ्खलामा नेपाल र क्यानडासँगै ओमानसमेत रहेको छ । समग्रमा जारी लिग–२ को यो छैटौं शृङ्खला हो ।

क्यानडा भ्रमणमा नेपालले ४ वटा खेल खेल्नेछ । नेपालले पहिलो खेलमा सोमबार १६ सेप्टेम्बरमा क्यानडासँग, १८ सेप्टेम्बरमा ओमानसँग, २२ सेप्टेम्बरमा क्यानडासँग र २४ सेप्टेम्बरमा ओमानसँग खेल्नेछ । एक दिवसीय शृङ्खलापछि यिनै ३ राष्ट्रबीच टी–२० शृङ्खला हुनेछ ।

क्यानडासँगको एक दिवसीय खेललाई फर्किएर हेर्ने हो भने नेपाल भारी देखिन्छ । नेपालले गत फेब्रुअरीको पहिलो शृङ्खला अघि क्यानडासँग ३ एक दिवसीय शृङख्ला खेलेको थियो । जसमा तीनवटै खेलमा नेपाल विजयी भएको थियो ।

तर पछिल्लो समय सुधारिएको प्रदर्शन गरेको क्यानडालाई कमजोर ठान्ने गल्ती नेपालले गर्नेछैन । पहिलो शृङ्खलाका ४ वटै खेल जितेको क्यानडाले नेदरल्याण्ड्स र अमेरिकासँगको शृङ्खलामा भने ४ वटै खेल हारेको थियो । त्यसैले घरेलु मैदानमा हुन लागेको शृङ्खला क्यानडाका लागि पनि महत्वपूर्ण छ ।

नेपाल र ओमानबीच भने पछिल्ला ७ एक दिवसीय खेलमध्ये ओमानले ४ खेल जितेको छ भने नेपालले ३ खेल आफ्नो पक्षमा पारेको छ ।

नेपालले सेप्टेम्बरको यो शृङ्खलालगत्तै अक्टोबरमा अमेरिका र स्कटल्याण्डसँग तेस्रो शृङ्खला खेल्नेछ । क्यानडा र अमेरिकी टोलीमा केही प्रभावशाली भारतीय मूलका खेलाडीहरू छन् ।

क्यानडाका प्रगत सिंह, श्रेयस मोभ्भा, हर्ष ठाकेरजस्ता खेलाडीलाई बेलैमा पभेलियनको बाटो देखाउन सके नेपाललाई सहज हुनेछ । नेपालका लागि ओपनर कुशल भुर्तेल र आशिफ शेखसँगै अनिल साह, कप्तान रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी र बलिङतर्फ सन्दीप लामिछानेसँग टोलीले आशा राख्नेछ ।

यी दुई शृङ्खला सकिँदा नेपालले आफ्ना ३६ मध्ये १२ खेल खेलिसक्ने छ । गत फेब्रुअरीमा घरेलु मैदानमा नेदरल्याण्ड्स र नामिबियासँग खेलेको पहिलो शृङ्खलामा निराशाजनक नतिजाको सामना गरेको नेपाललाई २०२७ को एक दिवसीय विश्वकप छनोटमा सहभागिता जनाउन पनि यी दुई शृङ्खला निकै महत्वपूर्ण छन् ।

लिगमा ४ खेल खेलेको नेपाल २ अंकसहित तालिकाको ७औं स्थानमा छ । घरेलु मैदानमा पहिलो शृङ्खला सोचेजस्ता राम्रो नभएपछि ८ राष्ट्र सम्मिलित लिगमा शीर्ष ४ भित्र अटाउन नेपालले यी दुई शृङ्खलामा उत्कृष्ट खेल प्रस्तुत गर्नुपर्नेछ । लिग २ तालिकामा अघिल्लो ८ मध्ये ६ खेल जितेको नेदरल्याण्ड्स शीर्ष स्थानमा छ ।

लिग–२ प्रतियोगिताको शीर्ष ४ मा पर्ने राष्ट्रले सन् २०२७ को विश्वकप छनोटमा सिधै प्रवेश पाउनेछ भने अन्तिम ४ टोलीले भने क्वालिफायर प्लेअफ खेल्नुर्नेछ । नेपालले सन् २०१८ मा पाएको एक दिवसीय मान्यता जोगाउन पनि यो प्रतियोगिता महत्वपूर्ण हुनेछ ।

लिग–२ मा स्कटल्याण्ड, नेदरल्याण्ड्स, नामिबिया, ओमान, अमेरिका र यूएईजस्ता टिम रहेकाले नेपालले एक दिवसीय मान्यता जोगाउन र विश्वकप छनोटमा पुग्न पनि स्तरीय प्रदर्शन गर्नुपर्नेछ ।

नेपाल क्रिकेट संघ (क्यान) ले सिरिजका लागि खेलाडी बिदाइ गर्दा प्रशिक्षक मोन्टी देसाईले तयारी राम्रो भएको बताएका थिए । यसै शृङ्खलाका लागि नेपालले भारतको बैंग्लोर र श्रीलंकामा अभ्यास गरेको थियो ।

टोलीका दुई प्रमुख खेलाडी कप्तान रोहित कुमार पौडेल र दीपेन्द्रसिंह ऐरी भने क्यानडामा नै भएको ग्लोबल टी–२० लिगपछि त्यही प्रशिक्षण गरिरहेका थिए । यो शृङ्खलामा लेग स्पिनर सन्दीप लामिछानेको पुनरागमनले टोली थप उत्साहित छ ।

नेपाली टोलीमा कप्तान रोहित पौडेल, कुशल भुर्तेल, आशिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी छन् ।

यस्तै अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्सन झा, रिजन ढकाल, सन्दीप लामिछाने र ललित राजवंशी पनि टिममा समेटिएका छन् । देव खनाललाई रिजर्भ खेलाडीका रुपमा टोलीमा राखिएको छ ।