८ मंसिर २०८१, शनिबार
23 November 2024, Saturday

ओलीको अमेरिका भ्रमणः बाइडेनको रात्रिभोजमा सरिक हुने, गुटेरेसलाई भेट्ने

ओलीको अमेरिका भ्रमणः बाइडेनको रात्रिभोजमा सरिक हुने, गुटेरेसलाई भेट्ने

न्यूयाेर्क-प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन अमेरिका आउने भएका छन् । प्रधानमन्त्री ओलीसहित नेपाली प्रतिनिधिमण्डल शुक्रवार (असोज ४ गते) अाउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री ओली ८ असोजमा न्युयोर्कमा शुरू हुने राष्ट्रसंघको महासभाको उद्घाटन समारोहमा सहभागी हुने कार्यक्रम छ । साथै उनी अमेरिकी राष्ट्रपति जो बाइडेनले ९ असोजमा दिने रात्रिभोजमा पनि सहभागी हुने बताइएको छ ।

त्यस्तै प्रधानमन्त्री ओलीले १० असोजमा राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग पनि भेट गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्रीको भ्रमण टोलीमा उनीसँगै पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री आरजु राणा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्रसचिव सेवा लम्साललगायत रहनेछन् ।

साथै प्रधानमन्त्री ओलीले ‘समिट अफ द फ्युचर’ कार्यक्रममा पनि सम्बोधन गर्ने बताइएको छ । त्यसमा भाग लिन काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनीता डंगोलसँगै पर्शुराम नगरपालिकाका प्रमुख भरत जोशी र नेकपा (एमाले)का युवा नेता अब्दुस मियाँ पनि मनोनयनमा परेका छन् ।

प्रधानमन्त्री ओली अमेरिका भ्रमण सकेर १४ असोजमा स्वदेश फर्किनेछन् ।