१० मंसिर २०८१, सोमवार
25 November 2024, Monday

धरहरा चढ्नेको अत्यधिक भीड, आईतबारसम्मका लागि टिकट बूकिङ

धरहरा चढ्नेको अत्यधिक भीड, आईतबारसम्मका लागि टिकट बूकिङ

सर्वसाधारणका लागि खुला गरिएपछि बिहीबार पहिलो दिन धरहरा चढ्नेहरूको भीड लागेको छ । शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाईका प्रमुख कोषनाथ अधिकारीले धरहरा चढ्नका लागि आईतबारसम्मका लागि टिकट बूकिङ भइसकेको छ ।

सरकारले संविधान दिवसका अवसरमा बिहीबारदेखि धरहरा अस्थायी रूपमा सञ्चालनमा ल्याउने निर्णय गरेको थियो । इकाईका प्रमुख अधिकारीले विक्रम संवत् २०७२ सालको भूकम्पले भत्किएको धरहरा ९ वर्षपछि खुला हुँदा पहिलो दिनमा नै सर्वसाधारणको अत्यधिक घुइँचो लागेको र सुरक्षा व्यवस्थापनमा चुनौती भएको बताए ।

‘अर्को व्यवस्था नभएसम्मका लागि प्रत्येक दिन ६०० जनाका लागि निःशुल्क रूपमा धरहरा चढ्ने व्यवस्था गरिएको थियो । तर पहिलो दिन नै १ हजार २०० जनाले धरहरा चढेकोे आधिकारिक रेकर्ड छ,’ उनले भने । उनका अनुसार कतिपय मानिसहरू विना टिकटक नै धरहरा चढेका थिए । उनले भने, ‘आज अत्यधिक भीड भयो । भोलिदेखि व्यवस्थित रूपमा ६०० जनाका लागि मात्रै चढ्न दिन्छौं ।’

शहरी विकास मन्त्रालयले धरहरा निर्माण गर्न जीआईटीसी रमण कन्स्ट्रक्सन ज्वाइन्ट भेञ्चर कम्पनीलाई ठेक्का दिएको थियो । विक्रम संवत् २०७२ वैशाख १२ गएको विनाशकारी भूकम्पबाट धरहरा पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो ।

विक्रम संवत् २०७५ असोज १४ गते नेपाल सरकार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट धरहरा पुनर्निर्माण सुरु भएको थियो । विक्रम संवत् २०७८ वैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको उद्घाटन गरेका थिए ।

धरहरा चढ्नका लागि बूकिङ गर्न केन्द्रीय आयोजना कार्यान्वयन इकाईले ‘धरहरा डटकम डट जीओभी डटएनपी’ वेबसाइट सञ्चालन गरेको छ ।

विक्रम संवत् १८८२ सालमा महारानी ललित त्रिपुरासुन्दरीको आदेशमा जनरल भीमसेन थापाद्वारा ६१ दशमलव ८८ मिटर अग्लो ११ तल्ले धरहरा निर्माण गरिएको थियो । विक्रम संवत् १९१३ मा धरहरा चट्याङ परी भत्किएको थियो भने विक्रम संवत् १९२३ मा धरहराको जीर्णोद्धार गरिएको थियो ।

विक्रमम संवत् १९९० माघ २ मा महाभूकम्पमा परी धरहरा पुनः भत्किएको थियो । विक्रम संवत् १९९२ तत्कालीन राणा प्रधानमन्त्री जुद्धशम्शेर राणाद्वारा पुनर्निर्माण गरिएपछि धरहरा ११ तलाबाट ९ तलामा सीमित भएको थियो ।

विक्रम संवत् २०७२ वैशाख १२ गएको विनाशकारी भूकम्पबाट धरहरा पूर्णरूपमा क्षतिग्रस्त भएको थियो । विक्रम संवत् २०७२ फागुन ४ गते प्रधानमन्त्री ओलीले ‘मेरो धरहरा, मै बनाउँछु’ अभियान सुरु गरेका थिए ।