७ मंसिर २०८१, शुक्रबार
22 November 2024, Friday

अमेरिकामा रहँदा मोदीसँग सइडलाइन भेटवार्ता गर्ने प्रयासमा ओली

अमेरिकामा रहँदा मोदीसँग सइडलाइन भेटवार्ता गर्ने प्रयासमा ओली

काठमाडौं- प्रधानमन्त्री केपी केपी शर्मा ओली आज अमेरिका जाँदै छन् । न्यूयोर्कमा जारी संयुक्त राष्ट्रसंघ महासभाको ७९औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी आज त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।

अमेरिका भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि साइडलाइन वार्ता गर्ने नेपालको प्रयास छ । तर, भारतीय पक्षले भने यसबारे जवाफ दिइसकेको छैन । ओलीनिकट एमाले नेताका अनुसार न्युयोर्कमा मोदीसँग वार्ता गर्न ओली प्रयासरत छन् । तर, भारतले यसबारे जवाफ भने दिइसकेको छैन ।

ओलीले १० असोजमा संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनी ८ असोजमा महासभाको साधारण बहसको उद्घाटनसत्र र ९ असोजमा अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन् ।

न्युयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले अतिकम विकसित देशहरूको ग्लोबल समन्वय ब्यूरोको अध्यक्षका रूपमा सम्मेलनलाई पनि सम्बोधन गर्ने मन्त्रालयले जनाएको छ । साथै उनले समुद्री सतह वृद्धिबाट उत्पन्न अस्तित्व खतरा विषयक समूहगत उच्चस्तरीय बैठक र ‘एन्टिमाइक्रोबियल’ प्रतिरोध विषयक उच्चस्तरीय बैठकलाई पनि सम्बोधन गर्नेछन् ।

प्रधानमन्त्री ओलीले कोलम्बिया विश्वविद्यालयमा ७ असोजमा आयोजना हुने ‘नेपालको प्रजातन्त्र र आर्थिक समृद्धिको यात्रा’ विषयमा सम्बोधन गर्नेछन् भने ११ असोजमा हुने हार्वर्ड विश्वविद्यालयमा जोन एफ केनेडी जुनियर फोरममा ‘नेपालको परिप्रेक्ष्यः सङ्क्रमणकालीन न्यायबाट जलवायु न्याय’ विषयक कार्यक्रमलाई पनि सम्बोधन गर्ने कार्यतालिका छ ।

उनले भ्रमण क्रममा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटघाट गर्नुका साथै द्विपक्षीय वार्तासमेत गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीका साथमा उनकी पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सचिव सेवा लम्साल र नेपाल सरकारका वरिष्ठ अधिकारीहरू हुनेछन् । प्रधानमन्त्री ओली असोज १४ मा स्वदेश फर्कनेछन् ।