अमेरिकी राष्ट्रपति बाइडेन र अष्ट्रेलियाका प्रधानमन्त्री अल्बनिजबीच भेटवार्ता, द्विपक्षीय सम्बन्धमा भएको प्रगतिबारे समिक्षा
- ०५ अशोज २०८१
- १ मिनेटको पढाई
वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति जो बाइडेनले सेप्टेम्बर २० मा डेलावेयरको विल्मिङ्टनमा अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बेनिजसँग भेट गरेका छन। भेटवार्ताका क्रममा दुबै पक्षले साझेदारीका लागि एकअर्कालाई धन्यवाद दिँदै द्विपक्षीय सम्बन्धबारे समिक्षा गरे।
नेताहरूले अमेरिका–अष्ट्रेलिया गठबन्धन द्विपक्षीय सम्बन्धको मूल रहेको कुरामा जोड दिँदै यसका तीन स्तम्भहरूः रक्षा र सुरक्षा, आर्थिक र जलवायु र स्वच्छ ऊर्जा क्षेत्रमा भएको प्रगतीबारे छलफल गरे। दुबै नेताले दुई देशबीचको बलियो आर्थिक सम्बन्धलाई प्रतिबिम्बित गरे र जलवायु परिवर्तन र स्वच्छ ऊर्जा संक्रमणलगायत नयाँ चुनौतिको सामना गर्न गठबन्धनलाई आधुनिकीकरण गर्न विगत दुई बर्षमा भएको प्रगतिबारे छलफल गरे।
उनहरुले महत्वपूर्ण खनिज आपूर्ति श्रृङ्खला निर्माणका लागि सहयोग विस्तार गर्ने र जापानको हिरोशिमामा मे २०२३ मा हस्ताक्षर गरिएको “कम्प्याक्ट“ अनुसार स्वच्छ ऊर्जामा संक्रमणलाई गति दिने प्रतिबद्धता पनि दोहोर्याएका छन ।
दुई नेताहरूले ताइवान स्ट्रेटमा शान्ति र स्थिरता कायम गर्न आफ्नो समर्थन, रुसको क्रूर आक्रमण विरुद्ध युक्रेनको रक्षा गर्न निरन्तर सहयोग र गाजाका जनतालाई दिगो युद्धविराम र मानवीय सहायता बढाउनका लागि आफ्नो समर्थनबारे पनि छलफल गरेका छन ।
साथै दुई देशका वरिष्ठ नेताहरूले स्वतन्त्र र खुला इन्डो–प्यासिफिकका लागि आफ्नो साझा दृष्टिकोणलाई अगाडी बढाउन द्विपक्षीय साझेदारीलाई गहिरो बनाउने प्रतिबद्धता व्यक्त गरे। यसैबीच, अल्बनिजले बाइडेनसँग तस्बिर सार्वजनिक गर्दै अष्ट्रेलिया र अमेरिका शान्ति, समृद्धि र स्थिरताका लागि एकसाथ उभिएको बताएका छन।