३० फाल्गुन २०८२, शनिबार
14 March 2026, Saturday

जापानमा बाढीपहिरोका कारण एकको मृत्यु, सात बेपत्ता

जापानमा बाढीपहिरोका कारण एकको मृत्यु, सात बेपत्ता

न्युयोर्क – जापानको भूकम्प प्रभावित क्षेत्र इशिकावामा भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परि शनिबार एक जनाको मृत्यु हुनुका साथै कम्तिमा सात जना बेपत्ता भएको अधिकारीहरूले बताएका छन् ।

सरकारले विज्ञप्ति मार्फत घटनाको पुष्टि गरेको छ । बाढीका कारण वाजिमामा भूकम्प प्रभावित सडक मर्मत गरिरहेका अन्य चार जना पनि बेपत्ता भएको भुमि मन्त्रालयका अधिकारी कोजी यामामोटोले बताएका छन।

जापानको क्योडो समाचार एजेन्सीले वाजिमामा दश जना बेपत्ता भएको जनाएको छ। इशिकावा सरकारका अनुसार बाढीका कारण धेरै भवनहरू डुबानमा परेका छन् सडक अवरुद्ध छ भने करिब छ हजार घरहरू बिजुली विहीन भएका छन्

प्रभावित क्षेत्रका केही मानिसहरु सञ्चार सेवा विहिन भएको अपरेटरहरूले बताएका छन् । बाढी पहिरोको खतराको बीच वजिमामा र सुजुका साथै नोटो सहरका बासिन्दाहरूलाई घर छोडेर सुरक्षित स्थानमा जान आदेश दिएको अधिकारीहरूले बताएका छन् ।

इशिकावाको निगाता र यामागाता प्रान्तका बासिन्दाहरूलाई सुरक्षित स्थानमा जान आदेश दिएको विपद् व्यवस्थापन बिभागले जनाएको छ ।

जापान मौसम विज्ञान बिभाग (जेएमए) ले जीवन जोखिममा पार्ने सल्लाह दिँदै इशिकावाका लागि उच्च–स्तरको चेतावनी जारी गरेको छ ।

प्रधानमन्त्री फुमियो किशिदाले सरकारलाई प्राथमिकताका साथ जनताको जीवन बचाई विपद् व्यवस्थापन गर्न निर्देशन दिएका छन।