७ मंसिर २०८१, शुक्रबार
22 November 2024, Friday

न्यूयोर्कमा भव्यताका साथ मनाइयो इन्द्रजात्रा

न्यूयोर्कमा भव्यताका साथ मनाइयो इन्द्रजात्रा

न्यूयोर्क : हरेक वर्षझैँ यसपटक नेवा गुठी न्यूयोर्कले भव्यरुपमा ऐतिहासिक इन्द्रजात्रा पर्व मनाएको छ ।

न्यूयोर्कका ज्याक्सन हाइटमा नेवारी परम्पराले सिँगारिएको समयबजीको प्रतीकमा चिउरा, माछा, उसिनेको अण्डा, बारा, उसिनेको आलु, छोइला, अदुवा, मिठाइ र फलफुलले सजाएको चिन्ह राखिएको थियो । उक्त प्रतीक हेर्न र फोटो खिच्न ठूलो संख्यामा मानिसको भिड लागेको थियो ।

उक्त कार्यक्रममा कुमारीलाई रथमा राखेर चार जनाले रथ बोकेर परिक्रमा गराएका थिए । कुमारीको अगाडि लाखेले नाच्दै कुमारीको रथलाई अगाडि बढाइएको थियो ।

कुमारीलाई रथबाट ओराली सिँगारेको आसनमा विराजमान गराएपछि मुख्य जात्राको कार्यक्रम सुरु भएको थियो। लाखेले खुसी भइ कुमारीलाई ढेगेपछि नाच्दै दर्शकसित रमाएको थियो ।

इन्द्र देवताको बाहन पुलुकिसी(ऐरावत हात्ती)ले पनि कुमारीको दर्शन गरेपछि खुसीले आफ्नो नाँच देखाएको थियो ।

कार्यक्रममा सन्तोष महर्जन, राजेन्द्र महर्जनलगायतले धिमे नृत्य प्रस्तुत गरेका थिए। धिमय बजाउनेहरुमा न्हुच्छेनारायण डंगोल, नारायण महर्जन, मिन नकर्मी आदित्य महर्जन थिए।

लाखेको भूमिकामा देविस श्रेष्ठ, कुमारी हुनेमा माया महर्जन र पुलुकिसीमा निराज महर्जन र आरब महर्जन थिए।

कविन महर्जनको संयोजन रहेको उक्त कार्यक्रममा सुवर्ण शाक्यले स्वागत भाषण गरेका थिए भने समिर महर्जनले कार्यक्रम सञ्चालन गर्नुका साथै कार्यक्रमको महत्ववारे प्रकाश पारेका थिए।

कार्यक्रमको अन्त्यमा गुठीका अध्यक्ष विजयमान सिंहले धन्यवाद ज्ञापन गरेका थिए। कार्यक्रममा नेपाली रंगमञ्चका वरिष्ठ एवं नेपाली सिनेमाका नायक रविन्द्र खड्का र नायक सञ्जय खतिवडाको पनि उपस्थिति थियो ।

दुवै कलाकारले कार्यक्रम एकदमै राम्रो आफूहरुले काठमाडौंमा बसेर इन्द्रजात्रा हेरेजस्तो लागेको भन्दै नेवा गुठी परिवारलाई बधाई दिए । उनीहरुले आफ्नो कला र संस्कृतिलाई यसरी विदेशी भूमिमा प्रस्तुत गरेको हेर्न पाएकोमा खुसी लागेको जनाए।

कार्यक्रममा उपस्थित सम्पूर्णलाई कुमारीको प्रसाद स्वरुप समयबजी वितरण गरिएको थियो ।