युनुस-बाइडेन भेटवार्ता : युनुस सरकारलाई अमेरिकाको पूर्ण समर्थन
- ०९ अशोज २०८१
- १ मिनेटको पढाई
न्युयोर्क- अमेरिकी राष्ट्रपति जो बाइडेनसँग बंगलादेशको अन्तरिम सरकारको प्रमुख मुहम्मद युनुसले भेटवार्ता गरेका छन् ।
संयुक्त राष्ट्रसंघको महासभाको अवसरमा अमेरिकाको न्यूयोर्क पुगेका बंगलादेशको अन्तरिम सरकारका प्रमुख युनुसले राष्ट्रपति बाइडेनसँग भेट गरेका हुन् । भेटमा बंगलादेशको पछिल्लो राजनीतिक घटनाक्रमबारे राष्ट्रपति बाइडेनले चासो राखेका थिए ।
भेटमा युनुसले विगतको सरकारको अत्याचारविरुद्ध विद्यार्थीहरू जागरुक भएको र बंगलादेश पुनर्निर्माणको अवसर सिर्जना भएको बताएका थिए ।
भेटपछि जारी प्रेस नोटमा उल्लेख भएअनुसार युनुसले आफ्नो सरकार देशको पुनर्निर्माणमा सफल हुनैपर्ने अवस्था रहेको र त्यसका लागि अमेरिकाको सहयोग आवश्यक रहेको आग्रह गरेका थिए । भेटमा राष्ट्रपति बाइडेनले बंगलादेशको अन्तरिम सरकारलाई आफ्नो पूर्ण समर्थन रहने आश्वासन दिएका थिए ।
बंगलादेशमा आरक्षण कोटाका विषयमा भएको विद्यार्थी आन्दोलनपछि गत साउनमा तत्कालीन प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर देश छोडेकी थिइन् । आन्दोलनपछि अन्तरिम सरकारको नेतृत्वमा आएका युनुसले पहिलो पटक अमेरिकी राष्ट्रपतिसँग भेटवार्ता गरेका हुन् ।