७ मंसिर २०८१, शुक्रबार
22 November 2024, Friday

विश्व शेर्पा संघले प्रधानमन्त्री ओलीलाई बुझायो ज्ञापनपत्र

विश्व शेर्पा संघले प्रधानमन्त्री ओलीलाई बुझायो ज्ञापनपत्र

न्युयोर्क- संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष विश्व शेर्पा संघले ज्ञापनपत्र बुझाएको छ । संघले विभिन्न ४ बुँदे माग राखी ज्ञापनपत्र बुझाएको हो ।

संघले सोलुखुम्बुको प्राचीन बस्ती थामेमा हिमताल फुट्दा आएको पहिरोले क्षति भएका घरहरूको निर्माण सरकारले गरिदिनुपर्ने गर्नुपर्ने माग राखेको छ ।

ज्ञापनपत्रमा भनएिको छ, ‘हालै सोलुखुम्बुको प्राचीन बस्ती थामे गाउँमा हिमताल फुटेर क्षतिग्रस्त घरहरुको तत्काल त्यस ठाउँमा पुनर्निर्माण गर्न मिल्ने वा फेरि पनि खतरा छ भने अर्को ठाउँमा सार्ने सम्बन्धमा अध्ययन गरी तत्काल प्रक्रिया अगाडि बढाउन अनुरोध गर्दै उक्त प्राचीन गाउँभन्दा माथि तिब्बतसँगको नाङ्पा ल पास नाका पर्दछ ।

त्यसभन्दा माथि अर्को गाउँ छैन, त्यसैले त्यहाँका बसिन्दाहरुले देशको सीमा रक्षकको काम पनि गर्दै आएको छ । त्यो ठाउँ भौगोलिक बिकटताको कारणले सबै सामानहरु हेलिकप्टर तथा खच्चर वा याकले दुवानी गर्नु पर्दा अत्यधिक महँगो पर्ने भएको हुँदा घर निर्माण गर्न धेरै महँगो पर्ने भएको हुँदा पूर्ण क्षतिग्रस्त घरहरु नेपाल सरकारले निर्माण गरी सहयोग गरी दिन माग गर्दछौँ । ’

यस्तै नेपालको पर्वतारोहण पेसामा लागेका आरोही शेर्पाहरुको न्यूनतम जीवन बीमा ३० लाखभन्दा माथि बनाउन र दुर्घटनामा परेका शेर्पाका बालबच्चाको शिक्षाको जिम्मा लिन पनि माग गरिएको छ ।

यस्तै बौद्ध धर्मको कतिपय धार्मिक स्थल, स्तुपा चैत्य र गुम्बाहरु अतिक्रमण तथा जीर्ण अवस्था रहेको हुँदा सरकारले त्यस्को सुरक्षा तथा जीर्णोदार गर्नुपर्ने माग संघले राखेको छ ।

संघले नेपालमा प्राथमिक तहमा स्थानीय भाषाको अध्ययन अध्यापन गराउने नीति रहे पनि धेरै जसो शेर्पा गाउँहरुमा शेर्पा भाषाको पढाइ नभएको हुँदा त्यसलाई कार्यन्वयन गर्नुपर्ने माग गरेको छ ।

संघका वरिष्ठ उपाध्यक्ष निमा शेर्पा, महासचिव आङ जाङ्बु शेर्पा, अमेरिका सदस्य पासाङ दोर्जी शेर्पा, अमेरिका सदस्य इ. तेम्बा शेर्पा र शेर्पा संघ अमेकिाका सचिव पेम्बा गिर्मे शेर्पा लामाले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।