बाढीपहिरो अपडेट : मृत्यु हुनेको संख्या ८७ पुग्यो, ७२ बेपत्ता
- १२ अशोज २०८१
- १ मिनेटको पढाई
काठमाडौँ- पछिल्लो तीन दिनसम्ममा परेको भारी वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट बेलुका ८ः३० बजेसम्म मृत्यु हुनेको सङ्ख्या ८७ जना पुगेको छ।
यसअघि साँझ ५ बजेसम्म ६६ जनाको मृत्यु भएकोमा पछिल्ला विवरण अनुसार थप २१ जनाको मृत्यु पुष्टि भएसँगै मृत्यु हुनेको सङ्ख्या ८७ पुगेको हो।
सशस्त्र प्रहरी बल नेपालका केन्द्रीय प्रवक्ता, सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले ८७ जनाको मृत्यु पुष्टि गर्दै अरु ७२ जना बेपत्ता रहेको जानकारी दिए। अरु ३६ जना घाइते भएका छन्।
काठमाडौँ उपत्यकामा मात्रै ४८ जनाको मृत्यु भएको छ। काठमाडौँमा २५, भक्तपुरमा ५ र ललितपुरमा १८ जनाको मृत्यु भएको छ।
यस्तै कोशी प्रदेशमा १० र काठमाडौँ उपत्यकाबाहेकको बागमती प्रदेशमा २९ जनाको मृत्यु भएको हो।
बेपत्ता हुनेमा कोशीमा ९, मधेश प्रदेशमा १, काठमाडौँ उपत्यकामा २१, बागमतीमा ३९ र लुम्बिनी प्रदेशमा २ जना बेपत्ता छन्।
उपत्यकापछि सबैभन्दा बढी काभ्रेमा १४ जनाको मृत्यु भएको छ। मकवानपुरमा ७, पाँचथरमा ५, सिन्धुपाल्चोकमा ४, दोलखामा ३ जनासहित विभिन्न जिल्लामा गरेर कूल ८७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
यस्तै उपत्यकापछि सबैभन्दा बढी काभ्रेमै २६ जना बेपत्ता छन्।
यस्तै पाँचथरमा ५, झापामा चार, सिन्धुपाल्चोकमा ५ सहित अन्य जिल्लामा गरेर ७२ जना बेपत्ता भएका छन्।
त्यसैगरी प्रहरीका अनुसार कोशीबाट ८५३, मधेश प्रदेशबाट ५६, उपत्यकाबाट १ हजार ४५७, उपत्यकाबाहेकको बागमतीबाट ४९४ जनाको उद्धार गरिएको छ।