राष्ट्रसंघीय महासचिवलाई इजरायल प्रवेशमा प्रतिबन्ध
- १६ अशोज २०८१
- १ मिनेटको पढाई
न्युयोर्क — इजरायलले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई आफ्नो देश प्रवेशमा रोक लगाएको छ । इजरायली विदेशमन्त्रीले महासचिव गुटेरेस इजरायलमा ‘पर्सना नन ग्राटा’ भएको र उनलाई इजरायल प्रवेश गर्न निषेध गरिएको बताएका बीबीसीले जनाएको छ ।
महासचिव गुटेरेसले मंगलबार इरानले इजरायलमा गरेको क्षेप्यास्त्र आक्रमणको स्पष्ट शब्दमा निन्दा गर्न नसकेको जनाउँदै विदेशमन्त्री इजरायल काट्जले यस्तो निर्णय लिइएको बताएका हुन् ।
विदेशमन्त्री काट्जले महासचिव गुटेरेस ‘इजरायलविरोधी भएको र आतंकवादी, बलात्कारी र हत्याराहरूलाई समर्थन गरेको आरोप लगाएका छन् । ‘गुटेरेसलाई आगामी पुस्ताले राष्ट्रसंघको इतिहासमा दागको रूपमा सम्झिनेछन्,’ उनले भनेका छन् ।
महासचिव गुटेरेसले मंगलबार मध्यपूर्वमा विस्तार हुँदै गएको द्वन्द्वको निन्दा गर्दै युद्धविरामको लागि आह्वान गरेका थिए ।