मेक्सिकन सेनाले गोली प्रहार गरेको ट्रकमा ११ नेपाली रहेको पुष्टि
- १९ अशोज २०८१
- १ मिनेटको पढाई
न्युयोर्क- मेक्सिको-ग्वाटेमाला सीमा नजिक मेक्सिकोको सीमा बलले गोली हानेको ट्रकमा ११ जना नेपाली रहेको पुष्टि भएको छ । ती मध्ये ३ जनाको घाइते अवस्थामा उपचार भइरहेको छ । ११ जनानै मेक्सिको अध्यागमनको हिरासतमा रहेको बासिङ्टनस्थित नेपाली दूतावासले जनाएको छ ।
‘घटनामा कुनै पनि नेपालीको मृत्यु भएको छैन । दूतावास सम्बन्धित मेक्सिकन अधिकारीहरूसँग सम्पर्कमा छ र थप सान्दर्भिक जानकारी उपलब्ध हुनेवित्तिकै घटनाको बारेमा थप अपडेट गर्नेछ’ दूतावासको प्रेसनोटमा छ ।
नेपालीसहित ३३ आप्रवासी चढेको ट्रकमा मेक्सिकन सेनाले गोली हानेको थियोे ।उक्त घटनामा ६ जनाको ज्यान गएको थियो । मंगलबार साँझ ग्वाटेमालासँगको सीमाबाट करिब ४० किलोमिटर उत्तरमा भएको घटनामा थप १० घाइते भएको मेक्सिकोको रक्षा मन्त्रालयले जनाएको छ ।
ट्रकमा नेपालसहित भारत, पाकिस्तान, इजिप्ट, क्यूबा र अरबी नागरिक सवार थिए । मेक्सिकोको रक्षा मन्त्रालयका अनुसार आक्रमणमा मारिएकामध्ये ४ जनाको घटनास्थलमै र २ जनाको अस्पतालमा ज्यान गएको हो ।
सैनिकहरू सीमा गस्तीमा रहेका बेला आप्रवासी चढेको गाडीबाट विस्फोटको आवाज सुनेपछि सेनाले गोली चलाएको जनाएको छ ।