पहिलो चरणको चिकित्सा सहायता सामग्री बोकेर राष्ट्र सङ्घको विमान लेबनान पुग्यो
- १९ अशोज २०८१
- १ मिनेटको पढाई
न्युयोर्क- चिकित्सा सहायता बोकेको संयुक्त राष्ट्र सङ्घको विमान लेबनान पुगेको छ । इजरायल र हिजबुल्लाहबीचको बढ्दो तनावपछि राष्ट्रसङ्घबाट प्राप्त भएको यो पहिलो सहायता रहेको संयुक्त राष्ट्र सङ्घ र लेबनानले जनाएका छन् ।
विश्व स्वास्थ्य सङ्गठनका क्षेत्रीय निर्देशक हनान बाल्खीले सामाजिक सञ्जालमा दशौँ हजार मानिसको उपचार गर्न पर्याप्त ३० मेट्रिक चिकित्सा सहायता सामग्री लिएर एउटा विमान बेरुत अवतरण गरेको र थप सहायता सामग्री आउनेक्रममा रहेको जानकारी दिनुभएको छ ।
सेप्टेम्बर २३ तारिखदेखि हिजबुल्लाह लडाकुलाई लक्षित गरी भएको इजरायली आक्रमणबाट लेबनानमा एक हजार एक सय भन्दा धेरै मानिस मारिएका छन् भने सयौँ घाइते छन् । बेरुत पुगेको सहायता सामग्री घाइते भएकाहरुको उपचारका लागि महत्त्वपूर्ण हुने अधिकारीहरुलाई उद्धृत गरी एएफपीले उल्लेख गरेको छ ।