८ मंसिर २०८१, शनिबार
23 November 2024, Saturday

कमला ह्यारिसले स्वास्थ्य रिपोर्ट सार्वजनिक गर्दै भनिन् : अब पालो ट्रम्पको

कमला ह्यारिसले स्वास्थ्य रिपोर्ट सार्वजनिक गर्दै भनिन् : अब पालो ट्रम्पको

न्युयोर्क- अमेरिकी राष्ट्रपति चुनावकी डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसले आफ्नो मेडिकल रिपोर्ट सार्वजनिक गरेकी छन् । राष्ट्रपति पद सम्हाल्नका लागि आफू पूर्णरूपमा स्वस्थ रहेको दाबीसहित ह्यारिसले मेडिकल रिपोर्ट सार्वजनिक गरेकी हुन् ।

उपलब्ध रिपोर्टअनुसार, ह्यारिसको स्वास्थ्य ‘धेरै राम्रो’ श्रेणीमा पर्दछ र उनी राष्ट्रपति पदका लागि पूर्णरूपमा फिट रहेको देखिन्छ । ह्यारिसले आफ्नो मेडिकल रेकर्ड सार्वजनिक गरेपछि डेमोक्रेटिक पार्टीले डोनाल्ड ट्रम्पलाई पनि आफ्नो स्वास्थ्य अवस्था सार्वजनिक गर्न चुनौती दिएको छ । ट्रम्पले मेडिकल रेकर्ड सार्वजनिक नगर्नु अपारदर्शी काम भएको उसको आरोप छ ।

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प रिपब्लिकन पार्टीबाट अमेरिकी राष्ट्रपति पदका उम्मेदवार हुन्। मेडिकल रेकर्डको विषयलाई लिएर कमला ह्यारिसले ट्रम्पलाई कटाक्ष गरिन्।

उनले भनिन्, ‘ट्रम्प आफू राष्ट्रपति पदका लागि योग्य छैन भनेर अमेरिकी जनतालाई थाहा होस् भन्ने चाहँदैनन् ।’

ट्रम्पको मेडिकल रेकर्ड सार्वजनिक नगरी उनको टोलीले डाक्टरको हवाला दिँदै जवाफ दिएको थियो– ‘ट्रम्प पूर्णरूपमा सही र उत्कृष्ट स्वास्थ्य अवस्था’मा छन्। यसअघि, रिपब्लिकन पार्टीले वर्तमान राष्ट्रपति जो बाइडेनको स्वास्थ्यलाई लिएर निरन्तर प्रश्न उठाउँदै आएको थियो ।

यहाँसम्म कि डेमोक्रेटिक पार्टीभित्र पनि बाइडेनको स्वास्थ्यका विषयमा असन्तुष्टि देखा परेको थियो। हाल बाइडनको उमेर ८१ वर्ष र ट्रम्पको उमेर ७८ वर्ष छ । जुन महिनामा ट्रम्प र बाइडेनको पहिलो सार्वजनिक बहसपछि अमेरिकी चुनावमा मानसिक स्वास्थ्यको मुद्दा निकै चर्चामा आएको थियो।

यहाँसम्म कि जो बाइडनलाई ‘कग्निटिभ टेस्ट’ (मस्तिष्कको काम गर्ने क्षमता) गराउन माग गरिएको थियो ।