७ मंसिर २०८१, शुक्रबार
22 November 2024, Friday

अमेरिकामा नेपालीहरूले मनाए दसैँ, शनिबार न्यूयोर्कमा बिहान १०:०१ को साइत

अमेरिकामा नेपालीहरूले मनाए दसैँ, शनिबार न्यूयोर्कमा बिहान १०:०१ को साइत

न्यूयोर्क- अमेरिकाका विभिन्न राज्यमा बसोबास गर्ने नेपालीहरूले मान्यजनहरूबाट टीका ग्रहण तथा आशीर्वाद लिई दसैँ मनाएका छन् । अमेरिकाका केही राज्यमा केही घण्टा फरक हुने हुनाले छुट्टा छुट्टै समयमा टिका ग्रहण गरेका छन ।

यस पटक अमेरिकामा छुट्टीको दिन टीका लगाउने दिन परेकोले अझ नेपाली समुदायलाई सजिलो भएको छ ।

यस वर्षको दसैँ शनिबार परेकोले नेपाली समुदाय निकै खुसी हुनुको साथै आफ्नो संस्कृति ,परम्परा तथा चाडपर्व मनाउन निकै हर्षित देखिन्थे । अमेरिकामा नेपाली सङ्घ/संस्था तथा नेपाली मन्दिरहरूले समुदायको लागि जमराको व्यवस्था गरि दिए पछि सजिलो भएको छ ।

अमेरिकाका विभिन्न राज्यहरूमा दर्जनौँ मन्दिरहरू स्थापना गरि सकेका छन् । नेपाली मन्दिरहरूमा घटस्थापना देखि समय व्यवस्थापन गरि मन्दिरको दर्शन गरेका छन् ।

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले नेपाल सहित ३२ देशका लागि बडादसैँको टीकाको साइत सार्वजनिक गरेकोले अधिकांशले उक्त समयमा टीका ग्रहण गरे ।

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले दिएको साइत अनुसार अक्टोबर १२, शनिबार न्यूयोर्कमा बिहान १०:०१, टेक्ससमा बिहान १०:०५,वासिङ्टन डिसीमा बिहान ०९:५५ तथा क्यालिफोर्नियामा बिहान ०९:३९ बजे समय शुभ रहेकोले धेरै जनाले यसै अनुसार पनि टिका लगाएका छन् ।

अमेरिकामा हाल ३ पुस्ते परिवार पनि निकै भएकोले नेपाली समुदायले हजुरबा, हजुरआमा, मातापिता, सासुससुरा, पुरोहित, मान्यजन तथा ठुलाबडाको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उनीहरूबाट ऐश्वर्य वृद्धि, तथा दीर्घायुको आशीर्वाद समेत लिएका छन् ।