९ मंसिर २०८१, आइतवार
24 November 2024, Sunday

लेबननस्थित हालका स्थानबाट ‘पछि नहट्ने’ राष्ट्र सङ्घीय शान्ति सेना प्रमुखको भनाइ

लेबननस्थित हालका स्थानबाट ‘पछि नहट्ने’ राष्ट्र सङ्घीय शान्ति सेना प्रमुखको भनाइ

न्युयोर्क -संयुक्त राष्ट्र सङ्घले दक्षिणी लेबननमा रहेका उसका शान्ति स्थापक सैनिकहरू हाल ती रहेका कुनै पनि स्थानबाट अन्यत्र नहट्ने बताउँदै इजरेलले शान्ति सैन्य हटाउन गरेको आह्वानको अवज्ञा गरेको छ।

संयुक्त राष्ट्र संघीय शान्ति स्थापना कार्यका प्रमुख जँपीएर लाक्र्वाले न्यू योर्कमा पत्रकारहरूसँग कुरा गर्दै लेबननमा युनिफिल सैन्यलाई तिनको हालकै स्थानमा कायमै राख्ने निर्णयलाई सुरक्षा परिषद र उक्त सैन्यमा आफ्ना सैनिकहरू पठाउने सदस्य राष्ट्रहरूको पूर्ण समर्थन रहेको बताएका छन्।

बेइरुतमा रहेका बीबीसीका संवाददाता जोनाथन हेड भन्छन्- आइतबार इजरेलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले संयुक्त राष्ट्र सङ्घलाई दक्षिणी लेबननबाट आफ्ना शान्ति स्थापक सैन्यलाई हटाउन ठाडो चेतावनी दिएका थिए।

तर संयुक्त राष्ट्र सङ्घ शान्ति सैनिकहरूलाई तिनीहरू कायम रहेका स्थानबाट अन्यत्र नलैजाने निर्णयमा दृढ देखिएको छ।

राष्ट्र सङ्घको शान्ति सेनाका प्रमुखले भनेका छन्- ‘नीलो हेलमेट’का नामले पनि चिनिने शान्ति सेना तिनीहरू हाल रहेकै स्थानमा बसिरहन जरुरी छ।

तिनीहरूलाई संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषदले दिएको कार्यादेश, म्यान्डेट, पालना गर्न त्यहाँका गैरसैनिक जनताहरूलाई सहायता पुर्‍याउन पनि आवश्यक रहेको उनको भनाइ छ।

इजरेलले त्यस क्षेत्रमा सुरुङ्हरू बनाउन र सी नजिकै रकेट र क्षेप्यास्त्रहरू राख्ने कार्यबाट हिज्बुल्लाहलाई रोक्न संयुक्त राष्ट्र सङ्घ असफल भएको तर्क गरेको छ। जुन १८ वर्ष अगाडिको युद्ध रोक्न भएको सम्झौताको उलङ्घन भएको पनि उसको भनाइ छ।

संयुक्त राष्ट्र सङ्घले आफूहरूको म्यान्डेट द्वन्द्वका पक्षहरूलाई सहयोग गर्नु मात्र रहेको र उक्त सम्झौता लागु गर्ने काम आफूहरूको नभएको बताएको छ।

उक्त संस्थाले आफ्ना शान्ति सैन्यहरूको अखाडालाई जानाजान निसाना बनाइएको भनी इजरेललाई आरोप लगाएको छ। त्यो आरोपलाई नेतन्याहूले खण्डन गरेका छन्।

त्यस्ता आक्रमणको घटनाको अन्तर्राष्ट्रिय रूपमा व्यापक आलोचना भएको छ।

सोमवार इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले शान्ति सैनिकहरूलाई चोटपटक लागेको घटनाप्रति दुःख व्यक्त गरेका थिए।

उनले एक वक्तव्यमा त्यस्ता घटनाहरू नदोहोरिन इजरेल सकेसम्म प्रयास गर्ने तर खतरा हुन सक्ने स्थानबाट राष्ट्र सङ्घीय शान्ति स्थापकहरू टाढा जान पर्ने बताएका छन्।

यसअघि उनले बारम्बार शान्ति स्थापक सैन्यहरूलाई लडाइँ भइरहेको स्थान छाड्न भन्दै आएका थिए।

उनले हिज्बुल्लाहले त्यस्ता स्थानलाई मानवढालका रूपमा प्रयोग गर्दै आएको आरोप पनि लगाएका थिए।

इजरेलले उक्त सशस्त्र समूहका लेबननका विभिन्न भागमा रहेका अखाडाहरूमा हमला गर्न जारी राखेको छ।

सोमवार एक अनुमानित हवाई हमलामा लेबननको एक उत्तरी गाउँमा २० जना भन्दा बढीको ज्यान गएको छ।