ज्याक्सन हाइटमा हाम्रो मेला आयोजना हुँदै
- ०३ कार्तिक २०८१
- १ मिनेटको पढाई
न्यूयोर्क। नेपाली कला संस्कृति र व्यवसायको प्रवर्द्धन गर्ने उद्देश्यले न्यूयोर्कको क्विन्समा ब्यापार मेला आयोजना हुने भएको छ। हिमालयन कल्चर स्ट्रिट फेयर हाम्रो मेला नाम दिएको यस सडक ब्यापार मेला यही अक्टोबर १९ गते शनिबार दिन हुन लागेकाे हाे।
अमेरिकामा सञ्चालनमा रहेका नेपाली व्यवसायको संरक्षण र संवर्द्धनका लागि तेस्रो हाम्रो मेला आयोजना हुन लागेकाे सञ्चालक दिपेन्द्र लामा जानकारी दिए। ज्याक्सन हाइट ७६ स्ट्रिटमा सञ्चालन हुने मेलामा करिब ५० वटा स्टलहरू रहने र सो स्टलहरू नेपाली कला, संस्कृतिसँग सम्बन्धित उत्पादनहरूकाे जनाइएकाे छ। उक्त मेला नेपालीको मात्र नभई नेपाली भाषा बोल्ने भुटानी, तिब्बत, भारत लगायत देशका नेपालीभाषी समुदायको सहभागितामा हुने आयाेजकले जनाएका छन।
अर्का सञ्चालक केशवराम राईले नेपाली उत्पादनहरूको प्रबर्द्धन गर्नुका साथै नेपाली व्यवसायको विकासको लागि यो मेला आयोजना गरेको बताए। नेपाली व्यवसायी र अन्य देशका व्यवसायीबीच पनि सम्बन्ध विस्तार गर्ने कार्यमा सफलता हासिल हुने राईकाे भनाइ थियाे।
अर्का सञ्चालक निमा कान्छी शेर्पाले मेलामा सांस्कृतिक कार्यक्रम, फेसन सो, नेपाली हस्तकला, खाना आदी प्रदर्शन हुने जानकारी दिए । मेलामा नेपाली कलाकारहरूले विभिन्न गीत सङ्गीत तथा नृत्यको प्रस्तुती रहने उनले जानकारी दिए। मेला विहान १० बजेबाट शुरु हुने र बेलुका ७ बजेसम्म सञ्चालन हुनेछ।