लेबनानमा नेपाली शान्ति सैनिक सुरक्षित छन् : मन्त्री राई
- ०६ कार्तिक २०८१
- १ मिनेटको पढाई
काठमाडौँ । रक्षामन्त्री मानवीर राईले लेबनानमा खटिएका नेपाली शान्ति सैनिक अहिलेसम्म सुरक्षित रहेको बताएका छन् । मन्त्रालयमा आफूले मन्त्रालय सम्हालेको १०० दिन पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले लेबनानमा ८७७ जना नेपाली शान्ति सैनिक रहेको र सबै सकुशल रहेको जानकारी दिए ।
उनले नेपाली सेना जहिले पनि रक्षा मन्त्रालयको चासोको रूपमा रहने र दैनिक आफूले जानकारी लिने बताए । उनले भने, ‘नेपाली सेना जहिले पनि रक्षा मन्त्रालयको चासोको रूपमा रहन्छ । दिनदिनै त्यहाँ के भइरहेको छ, त्यहाँको अवस्था कस्तो छ परराष्ट्र मन्त्रीसँग छलफल भइरहन्छ ।’
यस्तै, मन्त्री राईले लेबनानमा रहेका शान्ति सैनिकसँग प्रधानसेनापति अशोक सिग्देलले दिनमा ३ पटकसम्म संवाद गर्ने गरेको दाबी गरे । राईले पत्रकारले सोधेको प्रश्नको उत्तर दिँदै गृह मन्त्रालय र रक्षा मन्त्रालयबीच काममा सल्लाह नभएको भनेर बाहिर हल्ला आएकाले त्यसमा सत्यता नरहेको उनले बताएका हुन् ।