क्यानडामा सिख व्यापारीको हत्या स्वीकार गर्ने दुई जनाबीच अदालतमै कुटाकुट
- ०६ कार्तिक २०८१
- १ मिनेटको पढाई
न्युयोर्क- क्यानडामा सिख व्यापारीको हत्या गरेको स्वीकार गर्ने दुई जनाबीच अदालतमै कुटाकुट भएको छ । सन् १९८५ मा एअर इन्डियाको विमानमा भएको बम विस्फोटनको मुद्दामा निर्दोष साबित भएका एक व्यक्तिलाई गोली प्रहार गर्ने दुई व्यक्तिले क्यानडाको एउटा अदालतमा आफू दोषी भएको स्वीकार गरेका हुन् । लगत्तै उनीहरुबीच मुक्का हानाहान भएको बीबीसीले जनाएको छ ।
सिख व्यापारी रिपुदमन सिंह मलिकको सन् २०२२ मा हत्या भएको थियो । उनीहरूको मुद्दामा अक्टोबर ३१ का लागि तोकिएको इजलासले फैसला सुनाउने छ । सन् २०२२ को एप्रिल १४ मा मलिकलाई ब्रिटिश कोलम्बियाको सरीमा उनको पारिवारिक व्यवसाय रहेको ठाउँबाहिर गोली प्रहार भएको थियो । विमान बम विस्फोटन प्रकरणमा मलिकले सन् २००५ सफाइ पाएका थिए ।
सन् १९८५ को जुन २३ मा क्यानडाबाट भारतका लागि उडेको एअर इन्डियाको विमानमा आइरिश तटनजिकै विस्फोटन भएको थियो । विस्फोटनका कारण विमानमा रहेका सबै तीन सय २९ जनाको ज्यान गयो । सन् १९८४ मा भारतमा सिखहरूको पवित्र तीर्थस्थल स्वर्णमन्दिरमा आक्रमण भएपछि त्यसको जबाफ दिन ती विस्फोटनहरू गराइएको ठानिन्छ । त्यो घटनालाई क्यानडाको इतिहासमा अहिलेसम्मकै सबैभन्दा घातक आतङ्कवादी आक्रमण मानिन्छ ।