७ मंसिर २०८१, शुक्रबार
22 November 2024, Friday

बेलायती राजाविरुद्ध अस्ट्रेलियाली सांसदको नारा– राजा होइन, हत्यारा हौ

बेलायती राजाविरुद्ध अस्ट्रेलियाली सांसदको नारा– राजा होइन, हत्यारा हौ

न्युयोर्क- बेलायती राजा वा महारानीलाई आफ्नो राष्ट्र प्रमुख मान्ने देश हो अस्ट्रेलिया । तर, यही अस्ट्रेलियाको भ्रमणमा गएका बेलायती राजा चार्ल्सले विरोधको सामना गर्नुपरेको छ ।

किङ चार्ल्स सोमबार अस्ट्रेलियाको संसदलाई सम्बोधन गरिरहेका थिए । यस क्रममा एक जना अस्ट्रेलियाका आदिवासी सिनेटरले किङ चार्ल्सविरुद्ध आफूहरूको राजा नभएको भन्दै नारा लगाइन् । सिनेटर लिडिया थर्पले चार्ल्स हत्यारा भएको र अस्ट्रेलियाली जनताको नरसंहार गरेको आरोप लगाइन् ।

उनले अस्ट्रेलियाका मूल निवासीलाई उनीहरूको जमिन, पूर्वजका अस्थी र कलाकृति फिर्ता गर्न माग गरिन् । उनले ब्रिटिस साम्राज्यले अस्ट्रेलियाको जमिन बर्बाद बनाएको समेत आरोप लगाइन् । चार्ल्सको विरोधमा उत्रिएकी सिनेटर लिडिया पारम्परिक कपडा लगाएर संसदमा पुगेकी थिइन् ।

नाराबाजी गरेपछि सुरक्षाकर्मीले उनलाई बाहिर लगेका थिए । संसद भवनबाहिर पनि उनले बेलायती राजा अस्ट्रेलियाको राष्ट्र प्रमुख रहेसम्म ब्रिटिस साम्राज्यको विरोध गर्ने बताएकी छन् । उनले कुनै अर्को देशको राजाले आफूहरूलाई आदेश दिन नसक्ने पनि टिप्पणी गरेकी छन् ।

लिडिया थर्प अस्ट्रेलियाको भिक्टोरिया राज्यबाट स्वतन्त्र सिनेटर हुन् । उनी ब्रिटिस राजतन्त्रविरुद्ध कडा रूपमा प्रस्तुत हुँदै आएकी छन् । सन् २०२२ मा सिनेटरका रूपमा शपथ लिने क्रममा ब्रिटिस राजालाई उपनिवेशवादी महामहिम भन्दै सम्बोधन गरेकी थिइन् । उक्त घटनाले उनलाई पुनः शपथ लिन लगाइएको थियो ।