न्युयोर्क- यतिबेला सामाजिक विभिन्न सञ्चार माध्ययम तथा सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ, अमेरिकी राष्ट्रपतीय चुनाव। चर्चा चुनावको मात्र होइन। विश्वकै धनाड्य व्यापारी एलन मस्कको पनि छ।
राष्ट्रपतिका दुई उम्मेदवार कमला ह्यारिस र डोनान्ड टम्पमध्ये मस्क पूर्वराष्ट्रपतिसमेत रहेका टम्पको पक्षमा खुलेर लागेका छन्।
सामाजिक सञ्जाल एक्स(ट्वीटरमा) पोस्ट गर्नेदेखि लिएर आर्थिक सहयोगसम्मका खबरले अमेरिकी चुनावसँगै मक्सलाई पनि चर्चा मिलेको छ। चर्चा मात्र होइन यो चुनावले मस्क विवादमा पनि तानिएका छन्।
हालै मतदातालाई दिएको १ मिलियन डलरको विषयले उनलाई विवाद मात्र होइन कानुनी झमेलाको बाटोमा समेत डोर्याउने देखिन्छ।
अमेरिकाको न्याय विभागले ट्रम्पको चुनावी अभियानलाई सहयोग गर्ने मस्कको अभियान समूह प्याक अवैध हुने चेतावनी दिइसकेको छ। त्यहाँको न्याय विभागले १ मिलियन अमेरिकी डलर दिने अभियान संघीय कानुन अनुसार अवैध हुनसक्ने चेतावनी दिएको हो।
बिलिनियर मस्कले स्विङ राज्यमा याचिकामा हस्ताक्षर अभियान चलाएका हुन्। यसरी हस्ताक्षर गर्नेलाई प्रत्येक दिन १ मिलियन डलरका दरले प्रदान गरिने छ। केही कानुन विज्ञले मतदातालाई पैसाबाट प्रभाव पार्ने काम गैरकानुनी हुने चेतावनी यसअघि नै दिइसकेका थिए।
लोटरी शैलीको पहिलो जम्बो चेक १९ अक्टोबरका दिन पेनेसेल्भिनियामा आयोजित कार्यक्रममा प्रदान गरिएको थियो।
मस्कको यो अभियान जर्जिया, नेभाडा, एरिजोना, मिचिगन, विन्सीन्सकन र उत्तरी क्यारोलिनामा छ।
पेनेसेल्भिनियामा यसरी हस्ताक्षर गर्नेलाई सय अमेरिकी डलर प्रदान गरिएको हो। अर्को एक जनालाई हस्ताक्षर गर्न प्रेरित गर्नेलाई ४७ अमेरिकी डलर प्रदान गरिएको छ।
अहिले ट्रम्पका समर्थकले ह्यारिसलाई स्टोन कोल्ड लुजरको संज्ञा दिन थालेका छन्। अहिले चलीरहेको अर्ली भोटिङमा बुधबार ह्यारिसका चुनावी सहयात्री टिम वाल्जका छोरा १८ वर्षीय गुसले पनि मतदान गरे। ट्रम्पले पनि अली भोटिङ गर्ने बताएका छन्। उनले आफ्ना समर्थकलाई पनि अर्ली भोटिङका लागि सुझाएका छन्।
हाल स्विङ राज्यको सर्वेक्षणले ट्रम्पलाई बलियो देखाएको छ। १६ इलेक्ट्रोल मत रहेको जर्जिया तथा ११ इलेक्ट्रोल मत रहेको एरिजोनामा ट्रम्प २ प्रतिशत भन्दा बढी मत भारले अघि छन्। १९ मत रहेको पेनेसेल्भियना तथा १६ मत रहेको नर्थ क्यारोलिनमा पनि ट्रम्प ११ प्रतिशत भन्दा कम अन्तरले अघि देखिएका छन्।
१५ मत रहेको मिचिगन, १० मत रहेको विन्सकिन्सन र ६ मत रहेको नेभाडामा ह्यारिस १ प्रतिशत भन्दा कम मत अन्तरले अघि छिन्।
यसअघि मस्कको ट्वीटले अमेरिकी राष्ट्रपतीय चुनावमा हंगामानै मच्चाएको थियो। जुन ट्वीटका कारण उनी गुप्तचरको नजरमा समेत परेका थिए। यद्यपि, उक्त ट्वीट उनले पछि हटाएका थिए।