ह्यारिस वा ट्रम्प? अमेरिकी चुनावबाट चिनियाँहरू के चाहन्छन्?
- ०९ कार्तिक २०८१
- ५ मिनेटको पढाई
न्युयोर्क- चीनमा, मानिसहरू गहिरो रुचि र केही व्यग्रतासहित अमेरिकी चुनाव पच्छ्याइरहेका छन्। ह्वाइट हाउसको चुनाव जसले जिते पनि देशभित्र वा विदेशमा असर पर्न सक्ने चिन्ता उनीहरूमा देखिन्छ।
“हामी कोही पनि युद्ध हेर्न चाहँदैनौँ,” बेइजिङस्थित रिटन पार्कमा अन्य जेष्ठ नागरिकहरूसँगै नृत्य अभ्यास गर्न आएका शियाङ भन्छन्।
चीनका लागि अमेरिकी राजदूतको बेइजिङस्थित निवासबाट केही सय मिटरको दूरीमा यो पार्क रहेको छ र यहाँ उनीहरू निरन्तर रूपमा भेला हुने गर्छन्।
नाचको नयाँ हाउभाउसँगै उनीहरूको मनमा अमेरिकी चुनावको विषय पनि रहेको देखिन्छ।
ताइवान, व्यापार र अन्तर्राष्ट्रिय मामिलालाई लिएर दुई शक्ति राष्ट्रबीचको मतभेद चर्किरहेको भेद चलिरहेको महत्त्वपूर्ण समयमा अमेरिकी चुनाव हुन लागेको छ।
“चिन-अमेरिका सम्बन्ध तनावपूर्ण बन्दै गएकोमा मालाई चिन्ता लागेको छ,” ६० वर्ष उमेर नाघेका शियाङले भने। “हामीले चाहेको शान्ति हो,” उनले थपे।
यो कुराकानी सुन्न एउटा भीड जम्मा भएको छ। भीडमा रहेका धेरैजसो आफ्नो पूरा नाम भन्न चाहँदैनन् किनकी यो देशमा अमेरिकी राष्ट्रपतिको बारेमा बोल्न पाइन्छ तर आफ्नै देशका नेताबारे आलोचनात्मक हुँदा समस्यामा परिन्छ।
उनीहरू युद्धका बारेमा चिन्ता लागेको बताउँछन्। वासिङ्टन र बेइजिङबीचको द्वन्द्वबारे मात्रै होइन अहिले मध्यपूर्व र युक्रेनमा भइरहेका युद्धहरू चर्किनेबारे पनि उनीहरू चिन्ता व्यक्त गर्छन्।
त्यसैले अहिले ७० वर्ष पार गरिसकेका मेङ अमेरिकी चुनाव राष्ट्रपति डोनल्ड ट्रम्पले जितुन् भन्ने चाहन्छन्।
“उनले चीनविरुद्ध आर्थिक प्रतिबन्धहरू लगाए पनि उनी युद्ध सुरु गर्न वा लड्न चाहँदैनन्। बाइडन धेरै युद्धहरू थाल्छन् त्यसैले धेरै मानिसहरू उनलाई मन पराउँदैनन्। बाइडन युक्रेन युद्धलाई समर्थन गर्छन् र रुस र युक्रेन दुवैले युद्धबाट धेरै नोक्सान बेहोरेका छन्,” उनले भने।
आफ्नो सामाजिक सञ्जालको पेजका लागि नाचको भिडिओ रेकर्ड गर्न आएका केही दिदीबहिनीहरू पनि हाम्रो कुराकानीमा सामेल हुन्छन्।
ती मध्ये एकले भनिन्, “डोनल्ड ट्रम्पले बहसका क्रममा आफूले जिम्मेवारी सम्हालेको २४ घन्टाभित्र युद्ध अन्त्य गर्ने बताएका छन्।”
“ह्यारिसबारे भने हामीलाई कम नै थाहा छ र हामीलाई लाग्छ कि उनले पनि युद्धको समर्थन गर्ने राष्ट्रपति बाइडनकै मार्ग पच्छ्याउने छिन्।”
उनीहरूको यस्तो धारणा चीनका सरकारी सञ्चारमाध्यमले प्रचार गरिरहेको मुख्य सन्देशको प्रतिध्वनी हो।
चीनले गाजामा युद्ध विरामका लागि वार्ता गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेको छ।
युक्रेनबारे विदेश मन्त्री वाङ यीले संयुक्त राष्ट्र सङ्घमा बोल्दै चीनले “रचनात्मक भूमिका” खेलिरहेको बताएका छन् भने वासिङ्टनमाथि भने “स्वार्थी फाइदाका लागि परिस्थितिको दुरुपयोग” गरेको आरोप लगाएका छन्।
धेरैजसो विश्लेषकहरूको विचारमा ह्वाइट हाउसका लागि भैरहेको दौडमा बेइजिङलाई मनपर्ने कोही पनि छैनन्।
तर कमला ह्यारिस चिनियाँ जनता र नेताहरूका अपरिचित व्यक्तित्व हुन् भन्नेमा धेरैजना सहमत छन्।
अमेरिका र चीनबीच ताइवानलाई लिएर कठिन परिस्थिति आउँदा ट्रम्पभन्दा ह्यारिस बढी स्थिर हुनेछिन् भन्ने चाहिँ केही मानिसहरू ठान्छन्।
“मलाई ट्रम्प मन पर्दैन। मलाई अमेरिका र चीनबीचको भविष्य राम्रो छ भन्ने लाग्दैन – एकदमै धेरै समस्याहरू छन्, विश्वव्यापी अर्थतन्त्र छ र ताइवानको पनि समस्या छ,” परिवारसँग पार्क घुम्न आएका एक चार वर्षीय छोराका पिताले भने।
ताइवानका विषयमा अमेरिका र चीनबीचको मतभेदले अन्ततः द्वन्द्व निम्त्याउनेछ भन्ने उनको डर छ।
“म त्यस्तो चाहँदिन। म मेरो छोरा सेनामा जाओस् भन्ने चाहँदिन,” उनले भने।
चीनले स्वशासित टापू देश ताइवानलाई आफ्नो क्षेत्र भएको दाबी गर्छ र राष्ट्रपति सीले “पुनर्एकीकरण अवश्यम्भावी छ” भनेका छन् । उनले आवश्यक परे बल प्रयोग गरेर भएपनि त्यसो गर्ने वाचा गरेका छन्।
अमेरिकाले बेइजिङसँग औपचारिक सम्बन्ध कायम राख्छ र त्यसलाई आफ्नो “एक चीन नीति” अन्तर्गतको एक मात्रै चिनियाँ सरकारको रूपमा मान्यता दिन्छ तर उ ताइवानको सबैभन्दा महत्त्वपूर्ण अन्तर्राष्ट्रिय समर्थकको रूपमा कायमै छ।
वासिङ्टन कानुनी रूपमा नै ताइवानलाई प्रतिरक्षात्मक अस्त्रहरू प्रदान गर्न बाध्य छ र जो बाइडनले यसअघिको रणनीतिक अस्पष्टताको अडानलाई भंग गर्दै अमेरिकाले फौजी ढंगले नै ताइवनको प्रतिरक्षा गर्ने बताएका छन्।
ह्यारिसले यस विषयमा त्यति परसम्मको टिप्पणी गरेकी छैनन्। बरु, भर्खरैको एउटा अन्तर्वार्तामा उनले “सबै राष्ट्रहरूका निम्ति सुरक्षा र समृद्धिको प्रतिबद्धता” व्यक्त गरेकी छन्।
डोनल्ड ट्रम्पचाहिँ कूटनीतिमा भन्दा सम्झौतामा केन्द्रित छन्। उनले ताइवानलाई उस्को सुरक्षा गरिदिए बापत पैसा तिर्न आग्रह गरेका छन्।
“ताइवानले हामीबाट हाम्रो चिप व्यवसाय लगेको छ। मतलब, हामी कति मूर्ख छौँ? तिनीहरू एकदमै धनी छन्,” हालैको एक अन्तर्वार्तामा उनले भने। “ताइवानले उस्को प्रतिरक्षा गर्नका लागि हामीलाई पैसा तिर्नुपर्छ।”
अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पको कुरा गर्दा चिनियाँहरूको सबैभन्दा ठूलो चिन्ताको विषय के हो भने उनले चिनियाँ सामानहरूमा ६० प्रतिशत कर लगाउने योजना पनि स्पष्ट पारिसकेका छन्।
र आर्थिक मन्दीबाट पार पाउन देशले निर्यात गर्नका लागि पर्याप्त मात्रामा उत्पादन बृद्धि गर्ने प्रयास गरिरहेका बेला चीनका थुप्रै व्यवसायहरूले त्यस्तो व्यवस्था चाहँदैनन्।
अमेरिकी नेतृत्वमा लागु व्यापारिक करहरूलाई चिनका मन्त्रीहरूले घृणा गर्दछन् र त्यस्ता शुल्क सबैभन्दा पहिला डोनल्ड ट्रम्पले लगाएका थिए।
राष्ट्रपति बाइडनले पनि चिनियाँ विद्युतीय सवारी साधन र सौर्य प्यानललाई लक्षित गर्दै करहरू लगाएका छन्।
बेइजिङले यी कदमहरूलाई विश्वव्यापी आर्थिक शक्तिको रूपमा आफ्नो उदयलाई रोक्ने प्रयासका रूपमा लिने गर्छ।
“चीनमाथि कर लगाउँदा अमेरिकालाई कुनै फाइदा हुन्छ भन्ने मलाई लाग्दैन,” शियाङले हामीले भेटेका धेरैको भावना झल्किने गरी भने। कर लगाउँदा त्यसले अमेरिकी जनतालाई नै असर गर्ने र त्यसबाट सर्वसाधारण मानिसको खर्च बढ्ने उनको भनाइ छ।
युवा पुस्ताका धेरै मानिसहरू, राष्ट्रवादी हुँदा हुँदै पनि, नयाँ नयाँ चालचलन तथा साँस्कृतिक व्यवहारका लागि अमेरिकाको अनुसरण गर्न खोज्छन्। र यस्तो प्रवृतिमा सम्भवतः कुनै कूटनीतिक मिसनभन्दा बढी शक्ति पनि छ।
यस्तो प्रतिस्पर्धात्मक सम्बन्धको कुरा चल्दा, पार्कमै भेटिएका र टिकटकबाट समाचार लिने २० र २२ वर्षका लिली र आनाले चिनियाँ सरकारी सञ्चारमाध्यमले फैलाउने गरेको राष्ट्रिय गर्वको सन्देशलाई नै दोहोर्याउँछन्।
“हाम्रो देश एकदमै समृद्ध र शक्तिशाली देश हो,” आफ्नो राष्ट्रिय पोशाकमा सजिएका उनीहरूले बताए।
उनीहरू भन्छन् उनीहरू चीनलाई माया गर्छन् यद्यपि उनीहरू ‘एभेन्जर्स’ र त्यसमा पनि खासगरी ‘क्याप्टेन अमेरिका’लाई मन पराउँछन्।
टेलर स्विफ्टका गीतहरू पनि उनीहरूले नियमित सुन्ने संगितको सूचीमा पर्छन्।
१७ वर्षीया लुसी जस्ता अरूहरू कुनै दिन अमेरिकामा पढ्न जाने आशामा छन्।
पार्कमा नयाँ जडान गरिएको साइकलमा व्यायाम गरिरहेकी उनले अमेरिकामा पढाइ सकेपछि युनिभर्सल स्टुडियो हेर्ने आफ्नो सपना रहेको बताइन्।
अमेरिकी राष्ट्रपतीय निर्वाचनमा महिला उम्मेदवार भएको हेर्न पाउँदा आफू उत्साही भएको उनी बताउँछिन्।
“लैङ्गिक समानताका लागि ह्यारिसको उम्मेदवारी एउटा महत्त्वपूर्ण कदम हो र उनलाई राष्ट्रपतिको उम्मेदवारका रूपमा हेर्न पाउनु उत्साहजनक छ।”
जनवादी गणतन्त्र चीनमा कहिल्यै पनि महिला सर्वोच्च नेता बनेका छैनन् र चिनीयाँ कम्युनिष्ट पार्टीको सबैभन्दा बरिष्ठ नेताहरू सम्मिलित पोलिट ब्युरो भनिने २४ सदस्यीय टोलीमा हाल एक जना पनि महिला छैनन्।
लुसी चीन र अमेरिका बीचको तीव्र प्रतिस्पर्धालाई लिएर पनि चिन्तित छिन् र यी दुई देशले आफूहरूबीचको सम्बन्धमा सुधार ल्याउने सबैभन्दा राम्रो उपाय भनेको जनस्तरमा आपसी आदानप्रदानलाई बढाउनु हो भन्नेमा विश्वास गर्छिन्।
दुबै देशले यसतर्फ काम गर्ने वाचा त गरेका छन्। तर चीनमा अध्ययन गर्ने अमेरिकी विद्यार्थीहरूको सङ्ख्या सन् २०११ मा करिब १५,००० रहेकोमा त्यो सङ्ख्या अहिले करिब ८०० मा झरेको छ।
चिनियाँ राष्ट्रपति सीले आउँदो पाँच वर्षमा ५० हजार अमेरिकी विद्यार्थीहरूका लागि चीन आउने वातावरण बनाउन सकिने आशा व्यक्त गरेका छन्।
तर बीबीसीसँगको हालैको एक अन्तर्वार्तामा चीनका लागि अमेरिकी राजदूत निकोलश बर्न्सले उक्त प्रतिबद्धतालाई चीन सरकारको केही अङ्गले गम्भीर रूपमा नलिएको आरोप लगाएका थिए।
उनले दर्जनौँ अवसरहरूमा सुरक्षा सैन्य वा सरकारी मन्त्रालयले चिनीयाँ नागरिकहरूलाई अमेरिकाले सञ्चालन गरेको सार्वजनिक कूटनीतिक गतिविधिमा भाग लिन नदिएको बताए।
अर्कोतर्फ, चिनियाँ विद्यार्थी र प्राज्ञहरूले आफूहरूलाई अमेरिकी सीमा सुरक्षा अधिकारीहरूले भेदभावपूर्ण ढङ्गले निशाना बनाउने गरेको बताएका छन्।
यद्यपि लुसी कुनै दिन आफूले चीनको संस्कृति प्रवर्द्धन गर्नका लागि अमेरिकाको यात्रा गर्न पाउनेमा आशावादी छिन्।
उनी अमेरिकीहरूलाई पनि चीन घुम्न र यहाँको अनुभव हासिल गर्न आह्वान गर्छिन्।
“हामी केही मात्रामा कहिलेकाहीँ अरूसँग छिटै घुलिमल हुँदैनौँ र अमेरिकीहरू जस्तो खुला वा बहिर्मुखी नहुन पनि सक्छौँ तर हामी निश्चय नै मिलनसार छौँ,” उनले भनिन्। बीबीसी
ताजा खबर
मलेसियाको श्रम उत्पादकता २.६ प्रतिशतले बढ्यो
- ०७ मंसिर २०८१
नेपालमा अब ओमानी रियाल पनि खरिद-बिक्री हुने
- ०७ मंसिर २०८१
ट्रेन्डिङ
सम्बन्धित खबर
ट्रम्पले महान्यायाधिवक्ता छानेका म्याट गेट्जले लिए नाम फिर्ता
- ०७ मंसिर २०८१
- १ मिनेटको पढाई
इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई विपक्षी दलको ध्यानाकर्षण
- ०५ मंसिर २०८१
- १ मिनेटको पढाई
‘लडाइँभन्दा जेल ठिक’ : धमाधम मुद्दा खेप्दै रुसका भगौडा सैनिकहरू
- ०५ मंसिर २०८१
- ५ मिनेटको पढाई
सामूहिक निर्वासनका लागि सेना प्रयोग गर्ने ट्रम्पको घोषणा
- ०४ मंसिर २०८१
- २ मिनेटको पढाई