धनतेरसका नयाँ भाँडा किन्नेको घुइचो,तिहारमा चाहिने समाग्री किन्नेकाे भिड
१३ कार्तिक २०८१
२ मिनेटको पढाई
काठमाडौं- दीपावलीको किनमेलका लागि धनतेरसलाई निकै उत्तम मानिन्छ । धातुका नयाँ सामान जोडेर धनतेरस मनाइन्छ । विशेष गरी मिथिला क्षेत्रमा धातुका सामान किनेर पूजाआराधना गर्दै दीपावली पर्व प्रारम्भ गर्ने परम्परा छ । विराटनगरमा पनि सुनचाँदी र तामा पित्तलका सामग्री बेच्ने पसलहरुमा अत्यधिक भीड लागेको छ ।
दीपावली मुख्यतः धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गरिने पर्व भएको हुँदा पहिलो दिन नै नयाँ वस्तु जोडेर लक्ष्मी खुशी पार्न यो पर्वको परम्परा चलेको हो ।
धनतेरसका दिन सबैभन्दा बढी सुनचाँदीको विक्री हुने गरेको सुनचाँदी व्यापारीहरुले बताएका छन् ।
……………………………..
तिहारमा चाहिने विभिन्न समाग्रीहरुको खरिद गर्न विराटनगर वजारमा उपभोक्ताहरुको भिड लागेको छ ।
हिन्दु परम्परा अनुसार मनाईने चाडवाड र पर्व अनुसार फरक फरक पूजा सामग्री र फरक फरक प्रसादहरुको विक्री हुने गर्दछ । गत बर्ष भन्दा यसवर्ष सामानमा केही मुल्य बृदि भएको सर्वसाधारणहरुले गुनासो गरेका छन् ।
यसपटक लक्ष्मी पूजा र तिहारमा चाहिने फलफूल, माटोको दियो, मिठाई, नरिवल, केरा ,फूल, बाँसका सामग्री र पित्तल तथा तामाका भाडाहरु साथै भाई मसलाकोे मुल्य गत बर्ष भन्दा बढेको उपभोक्ताले बताए ।
अन्य समयको भन्दा चाढपर्वको बेलामा व्यापारीहरुले मनपरी मुल्य तोक्ने भएकाले सर्वसाधारणहरु ठगिने गरेका छन् । सरकारको फितलो अनुगमनका कारण पनि चाढपर्वमा हरेक सामानको मुल्य वढी तिर्नुपर्ने उपभोक्ताहरुले गुनासो गरेका छन् ।
उनिहरुले स्थानिय निकायले अनुगमन गरेर मुल्यमा एकरुपता ल्याउनु पर्ने बताए । व्यापारीहरुले भने तिहारका लागि पूजाका सामग्री तथा अन्य सामानहरु किनमेल गर्नेहरुको विगतमा जस्तो भिडभाड नभएको बताएका छन् ।
सरकारको गलत नीतिका कारण सिमावर्ती बजारहरुमा अत्यधिक मुल्य फरक भएका कारण व्यापार घटेको व्यापारीहरुको गुनासो छ । विराटनगरमा भन्दा सिमावर्ती जोगबनी बजारमा सामान सस्तो भएका कारण धेरै जसो ग्राहकहरु उतै जाने गरेका छन् ।
तिहारका समयमा विराटनगरमा करिब ९० देखी १ करोड मुल्य बराबरको विभिन्न सामग्री विक्री हुने गरेकोे व्यापारीहरुले बताएका छन् ।