१८ मंसिर २०८१, मङ्लबार
3 December 2024, Tuesday

स्कटल्याण्डलाई पराजित गर्दै नेपाल पाँच विकेटले विजयी

स्कटल्याण्डलाई पराजित गर्दै नेपाल पाँच विकेटले विजयी

न्युयोर्क- नेपालले स्कटल्याण्डलाई पाँच विकेटले पराजित गरेको छ।अमेरिकाको डालसमा आइसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ शृङ्खलाअन्तर्गत टस हारेर पहिलो ब्याटिङ गरेको स्कटल्याण्डविरुद्ध नेपालले शानदार जित हासिल गरेको हो।

४१.४ ओभरमा सबै विकेट गुमाउँदै १५४ रनको लक्ष्य दिएको स्कटल्याण्डलाई नेपालले ५ विकेट गुमाएर २९.५ ओभरमा पूरा गरेको हो।

नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट, करन केसी, सोमपाल कामी, गुल्सन झाले २/२ विकेट र आरिफ शेखले एक विकेट लिएका थिए। तीव्र गतिका बलर करणले पहिलो ओभरमै ओपनर चार्ली टिअरलाई बोल्ड आउट गरेका थिए। स्कटल्याण्डका लगि मार्क वाटले ३४ रन बनाए भने अन्य ब्याटरले २० रन पनि कटाउन सकेनन्।

जवाफि ब्याटिङमा उत्रिएको नेपालका लागि आरिफ शेखले सर्वाधिक ५१ रनको योगदान दिए। त्यसैगरी कुशल भुर्तेल र गुल्शन झाले २५/२५ रन, आसिफ शेखले २१ रन र अनिल शाहले १३ रन बनाए।

स्कटल्याण्डका लागि ब्राण्डम म्याकुलमले २ विकेट, ब्राड कुरी, मार्क वाट र ज्याक जार्विसले १/१ विकेट लिएका थिए।

पहिलो खेलमा नेपाल अमेरिकासँग तीन विकेटले पराजित भएको थियो। लिग-२ मा नेपाल १० खेलमा २ मा जितसहित पाँच अंकका साथ सातौं स्थानमा छ। नेपालले आगामी शनिबार अमेरिका र सोमबार स्कटल्यान्डसँग खेल्ने क्यानले जनाएको छ।