न्युयोर्क- केही हप्तासम्म जारी रहनसक्ने परिणामको रिक्तताको सामना गर्दै अमेरिकी टिभी नेटवर्कहरूले गल्ती र दुष्प्रचारबाट बच्न अभूतपूर्व दबाबको पृष्ठभूमिमा प्रसारण भर्न तयारी गरिरहेका छन् ।
सन् २०२० मा राष्ट्रपति बाइडेनको विजय घोषणा गर्न तनावपूर्ण चार दिन लागेको थियो ।
यस वर्ष पनि विशेषज्ञ र पर्यवेक्षकहरूले एक–एक गरी राज्यहरू डेमोक्रेट्स वा रिपब्लिकन्सको पक्षमा हुने घोषणा र तीसँगै जीतका लागि आवश्यक दुई सय ७० इलेक्टोरल कलेज मतको प्रतीक्षा गर्नेछन् ।
“यो सबै सात अत्यन्त प्रतिस्पर्धी स्विङ राज्यमा निर्भर हुनेछ र धेरै राज्यमा त्यो साँझ ढिलो भोलिपल्ट बिहान वा केही मामलामा चुनावपछिको केही दिनसम्म पनि प्रक्षेपण गर्न पर्याप्त डाटा हुनेछैन”, एडिसन रिसर्चका कार्यकारी उपाध्यक्ष जो लेन्स्कीले भने।
उनको संस्थाले एबिसी, सिबिएस, एनबिसी न्युज र सिएनएन नेटवर्कहरूका लागि एग्जिट पोल, प्रक्षेपण र मत गणना उत्पादन गर्नेछ ।
जटिल निर्वाचन प्रणालीको अतिरिक्त, मतदान र गणना प्रक्रियाहरू क्षेत्रअनुसार फरक छन् ।
लेन्स्कीले दुई महत्त्वपूर्ण स्विङ राज्य विस्कन्सिन र पेन्सिल्भेनियालाई औँल्याए। यहाँ नोभेम्बर ५ को चुनावी दिनसम्म अग्रिम मतगणना सुरु हुँदैन ।
हप्तौँसम्म कुनै आधिकारिक नतिजा नआउँदा पूर्वराष्ट्रपति ट्रम्प वा उपराष्ट्रपति कमला ह्यारिसको पक्षमा राज्यहरू घोषणा गर्ने जिम्मेवारी टिभी समाचार नेटवर्कहरूमा पर्छ ।
आकर्षक टिभी स्टुडियोहरू पछाडि वास्तविक दबाब प्रस्तोता र विश्लेषकहरूमा नभई नेटवर्क निर्णय डेस्कहरूमा हुनेछ । तथ्याङ्कविद् र विश्लेषकहरूको टोलीले छरिएका प्रारम्भिक नतिजाहरूमा आधारित अनुमानहरू एङ्करहरूलाई उपलब्ध गराउनेछन् ।
– जबरजस्त दबाब –
“दाउ धेरै उच्च छ… दर्शकहरूलाई जानकारी उपलब्ध हुनासाथ छिटो दिने दबाब ठूलो छ तर सबैभन्दा ठूलो जोखिम भनेको गतिका लागि सटीकतालाई त्याग्नु हो”, नर्थइस्टर्न विश्वविद्यालयका राजनीतिक विज्ञानका प्राध्यापक तथा एनबिसी निर्णय डेस्कका पूर्व सदस्य कोस्टास पानागोपुलोसले भने।
सन् २०२० नोभेम्बर ३ मा मतदान बन्द भएको केही घन्टापछि नै अमेरिकाको सबैभन्दा लोकप्रिय कन्जर्भेटिभ च्यानल फक्स न्युजले एरिजोनालाई बाइडेनको पक्षमा घोषणा गरेर ट्रम्पको सम्भावनामा ठूलो धक्का दिएको थियो ।
केही दिनपछि अन्य मिडियाले पुष्टि गरेको यो घोषणाले ट्रम्प समूहलाई आक्रोशित बनाएको थियो ।
सम्भवतः सबैभन्दा नराम्रो घटना सन् २००० मा फ्लोरिडालाई डेमोक्रेटिक उम्मेदवार अल गोरको पक्षमा समयभन्दा अगावै घोषणा गरेपछि नेटवर्कहरूले गरेको यु–टर्न थियो ।
विश्वसनीयतामा क्षति पुर्याउने यस्तो घटना दोहोरिन नदिन मिडियाहरू एग्जिट पोल मात्र नभई अग्रिम मतदाताहरूको सर्वेक्षण पनि प्रयोग गर्ने उन्नत विश्लेषणमा भर परिरहेका छन् ।
– राजनीतिक नाटक –
निर्वाचन वकिल बेन गिन्सबर्गले सन् २०२० को ‘रेड मिराज’ दोहोरिने अपेक्षा गर्नुभयो । त्यो बेला डेमोक्रेट्स मन पराउने मेल–इन मतपत्रहरू गणनामा थपिँदै जाँदा रिपब्लिकनको प्रारम्भिक अग्रता घट्दै गएको थियो ।
“यस वर्ष रिपब्लिकनहरूले आफ्ना मतदाताहरूलाई अग्रिम मतदान गर्न गरेको प्रयासले यो ढाँचा परिवर्तन गर्छ कि गर्दैन, त्यो अझै अस्पष्ट छ”, गिन्सबर्गले न्युयोर्क टाइम्सको सम्पादकीयमा लेखेका छन ।
नतिजा आउने म्याराथन दौडमा च्यानलहरूले कथित निर्वाचन धाँधलीबारे अपेक्षित दुष्प्रचारको छालविरुद्ध सटीकता र पारदर्शिता कायम राख्दै दर्शकहरूलाई कायम राख्न सङ्घर्ष गर्नेछन् ।
सिएनएनले आफ्नो ‘म्याजिक वाल’ पुनः प्रयोग गर्नेछ । यसले मुख्य राष्ट्रिय संवाददाता जन किङलाई पुराना मतहरूको विश्वकोशीय ज्ञान प्रदर्शन गर्दै प्रवृत्तिहरू दृश्यात्मक रूपमा देखाउन सक्षम बनाउनेछ ।
एनबिसी न्युजले नोभेम्बर ५ देखि एक लाखभन्दा बढी मतदान केन्द्रबाट तथ्याङ्क कसरी सङ्कलन गरिनेछ भन्ने बारे विस्तृत लेखहरू प्रकाशित गरेको छ ।
उनीहरूले सिनेट र प्रतिनिधिसभाको चुनावसहित छ सय १० मतदानको नतिजा सही ढङ्गले प्रक्षेपण गर्न लिइने सावधानीहरूको पनि विस्तृत विवरण दिएका छन् ।
“हाम्रा साझेदार समाचार संस्थाहरूले आफ्ना दर्शकहरूलाई प्रदान गर्ने तथ्याङ्कको मात्रा… पहिले कहिल्यै प्रदान नगरिएको भन्दा बढी छ । पहिलेभन्दा बढी विवरण, बढी नक्सा, बढी विश्लेषण छ”, लेन्स्कीले भन्नुभयो ।
“ढिलाइ आफैँमा षड्यन्त्रको प्रमाण होइन”, गिन्सबर्गले आफ्नो स्तम्भमा लेख्नुभएको छ, “यदि कुनै पनि उम्मेदवारले मत गणना हुनुअघि नै विजयको घोषणा गरे भने त्यसलाई राजनीतिक नाटकका रूपमा लिनुहोस् ।”