७ मंसिर २०८१, शुक्रबार
22 November 2024, Friday

के २०२४ को राष्ट्रपतीय चुनाव अमेरिकी इतिहासकै महत्त्वपूर्ण हो?

के २०२४ को राष्ट्रपतीय चुनाव अमेरिकी इतिहासकै महत्त्वपूर्ण हो?

न्युयोर्क- हरेक चार वर्षमा हुने अमेरिकी राष्ट्रपतीय निर्वाचनलाई उम्मेदवारहरू तथा तिनका समर्थकले आफ्नो जीवनकालकै सबैभन्दा महत्त्वपूर्ण रहेको दाबी गर्ने प्रचलन नयाँ होइन। तर पनि यसपालिको चुनावमा यस्तो कथन बढी नै सुनिँदै आएको छ।

त्यसो त यो चुनावलाई असामान्य नै मान्नुपर्छ। एकजना अश्वेत महिला पहिलो पटक देशको सर्वोच्च पदका लागि मैदानमा छिन्। त्यस्तै एकजना पूर्वराष्ट्रपतिले फेरि चुनाव लड्नु पनि सामान्य होइन। त्यसमाथि दुई प्रमुख उम्मेदवारहरूको दृष्टि र दृष्टिकोणमा असाधारण एवं स्पष्ट भिन्नताहरू रहेका छन्।

डेमोक्र्याटिक पार्टीकी उम्मेदवार एवं बहालवाला उपराष्ट्रपति कमला ह्यारिसले अमेरिकाले यसपालि “अगाडि बढ्ने वा पछाडि फर्कने” मध्येबाट एउटा छनौट गर्नुपर्ने बताउँदै आएकी छन्। उता रिपब्लिकन उम्मेदवार तथा पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकासामु “आफ्नो महान्‌ताको पुनर्पुष्टि गर्ने मौका भएको” बताउने गरेका छन्।

मूलतः यो चुनाव नीतिको लडाइँ हो, जसमा उम्मेदवारहरूले अमेरिकाको वर्तमान र भविष्यबारे फरकफरक दृष्टिकोणहरू प्रस्तुत गरेका छन्। उनीहरू स्वास्थ्य सेवा सुधार अनि जलवायुसम्बन्धी कार्यदेखि आर्थिक असमानता र परराष्ट्र नीतिसम्मका कुरामा तिखो प्रतिस्पर्धामा छन्।

यो चुनाव अन्तर्राष्ट्रिय कूटनीति र विश्वव्यापी स्थिरताको लागि एक महत्त्वपूर्ण क्षण हो किनकि आगामी राष्ट्रपतिको विदेश सम्बन्धको दृष्टिकोणले गठबन्धन, विश्वव्यापी सुरक्षा र विश्वमा अमेरिकाको भूमिकालाई महत्त्वपूर्ण असर गर्ने छ। चुनावको नतिजाले आगामी वर्षहरूमा घरेलु र विश्वव्यापी परिदृश्य दुवैलाई आकार दिने छ।

दुवै उम्मेदवारका अभियानले एकअर्काका आशा एवं दृष्टिमाथि आक्रमण गर्ने क्रम बढ्दो छ। “मेक अमेरिका ग्रेट अगेन” को कल्पना अर्थात् ट्रम्पको स्थायी अभियानको विषयमाथि श्वेत, पुरुष र विषमलिङ्गी अमेरिकीहरूलाई प्राथमिकता दिएर अन्यका एक शताब्दीदेखिका मूल्यमान्यता र अधिकारहरू फिर्ता गर्न खोजेको आरोप लाग्दै आएको छ। आधा शताब्दीदेखि महिलालाई दिइएको प्रजनन अधिकारमा कटौती गर्ने प्रपञ्च पनि भनिएको छ।

ट्रम्पको अभियानले दोस्रो विश्वयुद्धपछिको अमेरिकाको विश्वव्यापी सुरक्षाका लागि अन्तिम उपायको प्रवर्तकको भूमिकाप्रति पूर्ण फिर्ती खोजेको आलोचकहरूको भनाइ छ। उनका कतिपय नीति तथा कार्यक्रम गुज्रिसकेको विगतप्रति समीप रहेको भनी आलोचित छन्।

ट्रम्पका समर्थकहरू भने ह्यारिसलाई वामपन्थी कट्टरवादीका रूपमा चित्रण गर्ने गर्दछन्, जसका प्रस्तावित नीति तथा कार्यक्रम “अमेरिकी वास्तविकता, आवश्यकता र आकाङ्क्षासँग मेल खाँदैनन्।”

आलोचकहरू ह्यारिस र राष्ट्रपति जो बाइडनले दक्षिणी सिमाना खुला गरेर गैरकानुनी आप्रवासीलाई प्रश्रय दिइरहेको गुनासो गर्दछन्। यसले अमेरिकाको सामाजिक पहिचान र स्थायित्वमा दखल पुग्ने उनीहरूको कथन छ।

यस्ता दोहोरो आलोचना पनि कुनै नौला कुरा होइनन्। तथापि यसपालि प्रयोग भइरहेका भाषा र आचरणचाहिँ पहिलेभन्दा अलि कठोर र कतै अभद्र नै पनि सुनिन्छ र देखिन्छ। केही वर्षयता पार्टीगत आधारमा बनेको खाल्डो गहिरिने क्रममा तीव्रता आएको कतिपय विश्लेषकहरूको बुझाइ छ।

अर्को स्पष्ट प्रसङ्ग के छ भने दुवै पार्टीभित्रबाट आधिकारिक उम्मेदवारको अभूतपूर्व रूपमा चर्को विरोध भइरहेको छ। ट्रम्पले रिपब्लिकन पार्टीलाई आफ्नो आधारभूत परम्पराबाट टाढा र अतिवादतर्फ उन्मुख गराएको भन्दै ह्यारिसलाइ मत खसाल्न तत्पर रिपब्लिकनको पङ्क्ति बाक्लै देखिन्छ। उता बाइडन-ह्यारिस प्रशासनले इजरेलको अन्धो समर्थन गरेर गाजामा नरसंहार मच्चाउन सहयोग गरिरहेको भन्दै ह्यारिसलाई मत दिन नसकिने भन्ने परम्परागत डेमोक्र्याट मतदाताहरूको आवाज पनि चर्कै छ।

त्यस्तै निर्वाचन स्वतन्त्र र निष्पक्ष रहने विश्वास गर्ने अमेरिकीको सङ्ख्या विगतको भन्दा कम रहेको सर्वेक्षणहरूले देखाएका छन्। उम्मेदवार र समर्थक दुवैलाई चुनावको नतिजा सहजै स्वीकार्य हुनेमा पनि अमेरिकीहरु त्यति विश्वस्त देखिँदैनन्। त्यस्ता चुनौतीहरू धेरै हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै ६ ज्यानुअरी २०२५ मा निर्वाचन परिणामको अन्तिम प्रमाणीकरणसम्मको अवधि आरोप र तर्कले भरिएको हुन सक्छ।

महिनौँदेखि धेरैजसो मत सर्वेक्षणहरूले दुई उम्मेदवारहरूबीच झिनो अन्तर देखाउँदै आएका छन्। चुनावी प्रचारका अन्तिम साताहरूमा अधिकांश सर्वेक्षणहरूले ह्यारिसलाई मसिनो अग्रता दिएका छन् जबकि अरूले ट्रम्पलाई शीर्ष तर अस्थिर स्थानमा राखेका छन्। अनिर्णीत मतदाता र ‘स्विङ स्टेट’ भनिने केही राज्यहरूमा मतदानको संरचनाले अन्ततः चुनावको निर्णय गर्ने देखिन्छ।

करोडौँ अमेरिकीहरूले प्रारम्भिक अवधिमा मतदान गरिरहेका छन् भने अन्यले नोभेम्बर ५ को औपचारिक मतदानको दिनलाई पर्खिराखेका छन्। दौड कति प्रतिस्पर्धात्मक छ, हुलाकमार्फत् पठाइएका मतपत्रहरूको मात्रा कति छ र मतहरू कति चाँडो गन्न थालिन्छ जस्ता धेरै कारणहरूले स्पष्ट विजेता निर्धारण हुने समयसीमालाई असर गर्ने छन्।

साथै मतान्तरका आधारमा कानुनी तवरले पुन: गणना गर्न आवश्यक भएमा ‘ह्वाइट हाउस’ कसले जित्छ भन्ने निर्धारण हुन थप केही दिन वा साता पनि लाग्न सक्छ। अमेरिकी निर्वाचन प्रक्रियाअनुसार लोकप्रिय मतको विजेताले अन्तिममा ‘इलेक्टोरल कलेज’बाट पनि बहुमत प्राप्त गर्छ नै भन्न सकिँदैन।

यसरी तीव्र चासो र अपेक्षाबीच चिन्ता र शङ्काको मात्राले पनि यो चुनावलाई असाधारण बनाएको छ। बीबीसी