८ मंसिर २०८१, शनिबार
23 November 2024, Saturday

‘आप्रवासीरहित अमेरिका’ कस्तो देखिएला?

‘आप्रवासीरहित अमेरिका’ कस्तो देखिएला?

न्युयोर्क- आप्रवासन आउँदो अमेरिकी राष्ट्रपतीय निर्वाचनको प्रमुखमध्येको हो। रिपब्लिकन र डेमोक्र्याटिक दुवै पार्टीका उम्मेदवारले अमेरिका छिर्ने र त्यसमा पनि खास गरी मेक्सिकोको सीमाबाट भित्रिने आप्रवासीहरूमाथि कडा नियन्त्रण गर्ने बताइरहेका छन्।

डोनल्ड ट्रम्पले बारम्बार आप्रवासीहरूमाथि “हस्तक्षेप” गर्ने र अवैध रूपमा छिरेकाहरूलाई सामूहिक रूपमा उनीहरूकै देश फर्काउने चेतावनी दिँदै आएका छन्।

उनका डेमोक्र्याटिक प्रतिद्वन्द्वी कमला ह्यारिसले पूर्वराष्ट्रपतिमाति “डर र विभाजनको आगोमा घिउ थपेको” आरोप लगाएकी छिन्। तथापि उनले दुवै दलले संयुक्त रूपमा प्रस्तुत गरेको सीमा सुरक्षा विधेयकप्रति आफ्नो समर्थन दोहोर्‍याएकी छन्, जसले सीमामा पर्खाल लगाउने करोडौँ डलरको योजनालाई पनि समेटेको छ।

तर विदेशमा जन्मिएका मानिसहरूको संसारकै सबैभन्दा ठूलो वासस्थान रहँदै आएको अमेरिकामा आप्रवासीहरूको भूमिका के छ त? साथै अमेरिकालाई आप्रवासीरहित बनाइयो भने के हुन्छ होला?

जनसङ्ख्या

आप्रवासीहरूबिना अमेरिकाको जनसङ्ख्या निकै कम हुने छ।

सन् २०२३ मा विदेशमा जन्मिएका मानिसहरूको सङ्ख्या अहिलेसम्मकै उच्च ४ करोड ७८ लाख पुग्यो। यो अमेरिकाको कुल जनसङ्ख्याको १४.३ प्रतिशत हो। त्यसमा मेक्सिकोबाट आएकाको सङ्ख्या सबैभन्दा धेरै एक करोड छ लाख छ। दोस्रोमा भारतीय मूलका २८ लाख र तेस्रोमा चिनियाँ मूलका २५ लाख मानिस छन्।

आप्रवासीको सङ्ख्या हालसम्मकै उच्च पुगे पनि अमेरिकामा जन्मदर घटेकाले समग्र जनसङ्ख्याको वृद्धिदर भने सुस्त छ।सन् २०१० र २०२० को बीचमा अमेरिकाले सन् १९३० को दशकयताकै सबैभन्दा सुस्त  जनसङ्ख्या वृद्धिदर भोग्यो। सन् १९३० पछि ‘ग्रेट डिप्रेशन’ भनिने आर्थिक मन्दीको समयमा जनसङ्ख्या वृद्धिदर सबैभन्दा तल्लो स्तरमा पुगेको थियो।

यसको अर्थ अन्य धेरै देशहरूजस्तै अमेरिकाले पनि वृद्ध हुँदै गरेको जनसङ्ख्याको चुनौती भोग्दै छ, जसमा स्वास्थ्योपचारको लागत बढ्नुका साथै कामकाजी मानिसको सङख्या सीमित हुँदै छ।

कङ्ग्रेसको बजेट कार्यालयको प्रक्षेपणअनुसार सन् २०४० मा मृत्युदरले जन्मदरलाई उछिन्ने एउटा महत्त्वपूर्ण बिन्दुको अपेक्षा गरिएको छ। उक्त समयमा सबै किसिमका जनसङ्ख्या वृद्धिका निम्ति आप्रवासन जिम्मेवार हुने छ।

केही अर्थशास्त्री र आप्रवासन पक्षधर समूहको तर्कअनुसार परिणामत: अर्थतन्त्रको आवश्यकताहरूलाई पूर्ति गर्नका निम्ति विशेष गरी ग्रामीण क्षेत्रमा आप्रवासीहरूलाई अनुमति दिनुपर्दछ।

बोस्टन विश्वविद्यालयका सहायक प्राध्यापक तारेक हसन आप्रवासीबिना अमेरिकी अर्थतन्त्रमा मर्का पर्ने बताउँछन्। “यदि आप्रवासीहरूलाई पूर्ण रूपमा हटाइयो भने प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन (जीडीपी) पाँचदेखि दश प्रतिशतले घट्न सक्छ। यसको अर्थ प्रतिव्यक्ति धन पनि घट्ने छ भने थोरै मात्रै मानिसहरू हुने भएकाले कुल जीडीपी पनि धेरै नै घट्न पुग्छ।”

हसनको अनुसन्धानले आप्रवासनले “नवप्रवर्तन र उत्पादकत्वलाई बढाएको र यो कुनै क्षेत्रविशेषमा सीमित नभएकाले यसले अमेरिकी अर्थतन्त्रको समग्र रचनात्मक क्षमतालाई पनि टेवा पुर्‍याएको” देखाएको छ।

आप्रवासीहरू काम गर्ने उमेर समूहका हुने सम्भावना बढी हुन्छ। अमेरिकी जनसङ्ख्यामा लगभग १४ प्रतिशत प्रतिनिधित्व गरिरहँदा उनीहरूले तीन करोड १० लाख कुल कार्यरत जनशक्तिमध्ये झन्डै १९ प्रतिशतले योगदान दिइरहेका छन्। सरकारी निकाय ‘ब्यूरो अफ लेबर स्ट्याटिस्टिक्स’ का अनुसार अमेरिकाका मूल निवासीहरूको तुलनामा आप्रवासीहरूको श्रमशक्तिमा सहभागिता दर पनि उच्च छ।

कङ्ग्रेसको बजेट कार्यालयको पूर्वानुमानअनुसार कुल ६२ प्रतिशत वयस्क जनसङ्ख्याको तुलनामा सन् २०२२ र २०३४ को बीचमा अमेरिका आउने आप्रावासीमध्ये ९१ प्रतिशतको उमेर १६ हुने र प्रायः सबै ५५ वर्षमुनिका हुने छन्।

कृषिजस्ता अर्थतन्त्रका निश्चित क्षेत्रहरू आप्रवासीहरूको श्रममा निर्भर हुने छन्।

अमेरिकी श्रम मन्त्रालयको ‘कृषि क्षेत्रका कामदारहरूको राष्ट्रिय सर्वेक्षण’ले खेतीमा संलग्नमध्ये ७० प्रतिशत श्रमिक आप्रवासी रहेको जनाएको छ। यद्यपि तीमध्ये धेरैजसो अवैध छन्।

तिनलाई गुमाउनुपर्‍यो भने “कृषिमा संलग्न धेरै व्यवसायीहरूलाई फलफूल र तरकारीको उत्पादन तथा उच्च मागका बेला अमेरिकी उपभोक्ताका निम्ति तिनलाई तयार पार्न पर्याप्त कामदार पाउन कठिन हुने” आप्रवासी पक्षधर समूह ‘अमेरिकन इमिग्रेशन काउन्सल’ (एआईसी) की अनुसन्धान निर्देशक न्यान वू बताउँछिन्।

आप्रवासनका आलोचकहरूले गर्ने गरेको एउटा तर्क भनेको कम ज्यालामा काम गर्न तयार विदेशी कामदारहरूको आगमनले स्थानीयवासीको ज्याला समेत घटाउँछ भन्ने हो।

तर डेभिसस्थित क्यालिफोर्निया विश्वविद्यालयको ‘अर्थतन्त्रमा आप्रवासनले पारेको प्रभाव’सम्बन्धी २७ वटा अध्ययनको सन् २०१४ मा गरिएको एउटा समीक्षाले मूल निवासीमाथिको आयमाथि आप्रवासीको असर नभएसरह देखिएको निष्कर्ष निकालेको छ।

त्यस्तै ईस्टर्न इलिनोई विश्वविद्यालयको हालैको अध्ययनले आप्रवासीको सङ्ख्या बढ्दा ज्यालाको वृद्धिमा उल्टै “आँकडामा ठूलो नभए पनि सकारात्मक” असर पर्न सक्ने देखाएको छ।

कर

तर करबाट हुने आयमा कस्तो असर पर्छ त?

एआईसीको विश्लेषणअनुसार सन् २०२२ मा आप्रवासीहरूको परिवारले अमेरिकाको समग्र करमा ६ भागको १ भाग अर्थात् झन्डै ५ खर्ब ८० अर्ब डलरको योगदान गरेका थिए।

वैध रूपमा आउने आप्रवासीहरूले मात्रै उल्लेखित करमा योगदान गर्ने होइनन्, वू भन्छिन्।

कुल आप्रवासीमध्ये अवैधको सङख्या २३ प्रतिशतजति छ। त्यो भनेको झन्डै १ करोड १० लाख जनसङ्ख्या हो। थिङ्क ट्याङ्क प्यू रिसर्च सेन्टरको विश्लेषणअनुसार अवैध मेक्सिकनको सङ्ख्यामात्रै झन्डै ४० लाख छ।

‘इन्स्टिच्यूट अन ट्याक्सेशन एन्ड ईकनोमिक पोलिसी’ले सन् २०२२ मा अवैध आप्रावासीहरूले सङ्घीय, राज्य र स्थानीय स्तरमा गरेर झन्डै १ खर्ब डलर कर तिरेको जनाएको छ।

यद्यपि ईकनोमिक पोलिसी इन्स्टिच्यूट नामक थिङ्क ट्याङ्कका आप्रवासन कानून तथा नीति अनुसन्धान निर्देशक ड्यानिअल कोस्टा आप्रवासनको आर्थिक प्रभाव राष्ट्रिय रूपमा सकारात्मक हुन सक्ने भए पनि केही राज्यहरूमा विशेष गरी अल्पावधिका निम्ति यसले नकारात्मक असर पार्न सक्ने बताउँछन्।

हालैको एउटा अध्ययनमा ड्यानिअल र उनको समूहले थोरै ज्यालामा काम गर्ने तर राज्यका सुविधा प्राप्त गर्न योग्य आप्रवासीहरू ठूलो सङ्ख्यामा भित्रिँदा अल्पावधिका निम्ति आर्थिक समस्या निम्तिन सक्ने उदाहरण पस्किएका छन्।

त्यसकारण उनी र उनको समूह यसबाट निम्तिन सक्ने चुनौतीहरूको सामना गर्न धेरै आप्रवासीहरू भएका क्षेत्रमा सङ्घले राज्यलाई दिने रकम बढाउनुपर्ने तर्क गर्छन्।

जोभानी पेरी क्यालिफोर्निया विश्वविद्यालयका अग्रणीमध्येका आप्रवासन विज्ञ तथा अर्थशास्त्री हुन्। उनी अमेरिकामै जन्मने मानिसहरूको सङ्ख्या बढ्दा जस्तो हुन सक्थ्यो, आप्रवासीहरू आउँदा समुदायमा त्यस्तै किसिमको दबाव हुन सक्ने बताउँछन्।

उनी भन्छन्, “सेवा र आवास सुविधाहरूको समायोजन नभए त्यसले पनि दबाव उत्पन्न गर्नेछ… कुरा के मात्रै हो भने आप्रवासीहरूतर्फ औँला तेर्स्याइदिन सजिलो छ।”

नवप्रवर्तन र उद्यमशीलता

महत्त्वपूर्ण अनुपातमा आप्रवासी वा उनीहरूका सन्तानहरू अग्रणी उद्यमी बनेका छन्।

‘फर्च्यून फाइभ हन्ड्रेड’ (धेरै कमाइ गर्ने पाँच सय ठूला अमेरिकी कम्पनीहरूको वार्षिक सूची) का अनुसार शीर्ष स्थानका पाँच सय कम्पनीमा ४५ प्रतिशतजति आप्रवासी वा तिनका सन्तानका छन्। त्यस्तै अमेरिकी ‘स्टार्टअप’हरूमा उनीहरूको ५५ प्रतिशत योगदान छ, जसको मूल्य एक अर्ब डलर वा त्योभन्दा अधिक हुन्छ।

आप्रवासीहरूको विश्‍व स्तरको प्राविधिक विकासमा पनि महत्त्वपूर्ण भूमिका खेलेका छन्। तीमध्ये धेरैजसो अन्तर्राष्ट्रिय विद्यार्थीका रूपमा अमेरिका आएकाहरू छन्।

‘असोसिएशन अफ इन्टर्न्याश्नल एडुकेटर्स’का अनुसार सन् २०२२–२०२३ को शैक्षिक सत्रमा १० लाखभन्दा अन्तर्राष्ट्रिय विद्यार्थीहरूले अमेरिकी अर्थतन्त्रमा ४० अर्ब डलरको योगदान पुर्‍याएका छन् भने पढाइ तथा बसोबास आदिसँग सम्बन्धित ३ लाख ६८ हजार रोजगारीको सिर्जनामा सघाएका छन्।

सार्वजनिक मत

अमेरिकाको अर्थतन्त्रमा आप्रवासीहरूले जेसुकै भूमिका खेलेको भए पनि एउटा ताजा मतसर्वेक्षणले ५५ प्रतिशत अमेरिकीले आप्रवासीको सङ्ख्या घटेको देख्न चाहेको देखाएको छ। सँगसँगै आप्रवासनमा र त्यसमा पनि विशेष गरी मेक्सिकोको सीमाबाट हुने अवैध प्रवेशमा कडाइ गरिनुपर्नेमा एक किसिमको बृहत् राजनीतिक सहमति देखिन्छ।

प्राध्यापक पेरी केही राजनीतिज्ञ र सञ्चारमाध्यमहरूले आप्रवासनलाई “सीमामा हुने अराजकता”का रूपमा चित्रित गर्ने गरेका छन्। उनीहरू आप्रवासनको व्यापक प्रभावको साटो उनीहरूको अवैध आगमनका कथाहरूमा केन्द्रित छन्।

अर्थतन्त्र तथा घट्दो जनसङ्ख्यामा आप्रवासीहरूले पुर्‍याएको योगदानको चर्चा हुनुको सट्टा “मानिसहरूले प्रायः दक्षिणी सिमानाबाट आप्रवासीको ‘बाढी’ पसेको सुन्ने र यो अत्यधिक अनि हानिकारक भएको ठान्ने गरेको” उनी बताउँछन्।

बोस्टन विश्वविद्यालयका तारेक हसनका अनुसार “विशेष गरी यो दुई दशकमा आप्रवासन उच्च भएको छ, जसले नवआगन्तुकलाई समायोजित गर्न सक्ने सामाजिक क्षमतालाई दबावमा पार्न सक्छ।”

“आप्रावासनले देशको आर्थिक, सामाजिक र सांस्कृति पाटोमा सकारात्मक प्रभाव पारिरहँदा मानिसहरूलाई असहज लाग्ने पक्षहरू पनि हुन सक्छन्।” बीबीसी