के यो अमेरिकी निर्वाचनले संसार बदल्न सक्छ?
- १९ कार्तिक २०८१
- ६ मिनेटको पढाई
न्युयोर्क- अमेरिकी राष्ट्रपति जो बाइडनले सन् २०२३ को फेब्रुअरी महिनामा उनका युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीसँग ऐक्यबद्धता प्रदर्शन गर्न गरेका किएभको अकस्मात भ्रमणका बेला सडकमा पदयात्रा गर्दा हवाई हमला जनाउने ‘साइरन’हरू चर्को स्वरमा बजिरहेका थिए।
”त्यसबेला मैले अनुभव गरेँ पहिले पहिलेभन्दा पनि बलियो रूपमा,” पछि उनले त्यस घटनालाई स्मरण गर्दै भनेका थिए, ”अमेरिका संसारकै लागि आशाको केन्द्रमा रहेको देश हो।”
अब उक्त आशाको केन्द्रमा कसको नेतृत्व हुन्छ भनेर विश्वले नै राष्ट्रपतीय निर्वाचनको नतिजा पर्खिरहेको छ। ‘यस्तो अनिश्चयपूर्ण समयमा प्रस्ट छ अमेरिका पछि हट्न सक्दैन’ भन्ने मान्यता बोकेका बाइडनकै पदचिन्ह पछ्याउँदै कमला ह्यारिस नै प्रशासनको नेतृत्वमा पुग्लिन्? वा “अमेरिकावाद न कि विश्ववाद”को मान्यता बोक्ने डोनलड ट्रम्पले जित्लान्?
हामी त्यस्तो संसारमा बाँचिरहेका छौँ जहाँ विश्वव्यापी अमेरिकी प्रभावको मूल्यमाथि प्रश्न उठेका छन्। क्षेत्रीय शक्तिहरू आफ्नै सुरमा छन्, निरङ्कुश शासकहरूले भिन्नै गठबन्धन गरेका छन् भने गाजा, युक्रेन र अन्यत्र भइरहेका विनाशकारी युद्धहरूले वाशिङ्टनको भूमिकाबारे असहज प्रश्न जन्माएका छन्।
तर उसको आर्थिक तथा सैन्य शक्तिका कारण अनि कैयन् गठबन्धनहरूमा उसको मुख्य भूमिकाका कारण अमेरिकाको महत्त्व छँदैछ। मैले यो निर्वाचनको विश्वव्यापी प्रभावबारे केही जानकार पर्यवेक्षकहरूसँग सोधेकी छु।
-सैन्य शक्ति
“म यो चेतावनीलाई हलुका रूपमा प्रस्तुत गर्न सक्दिनँ,” नेटोकी पूर्व उपमहासचिव रोज गटमेलरले भनिन्। “डोनल्ड ट्रम्प युरोपका निम्ति दु:स्वप्न सरह हुन्। नेटोबाट अलग्गिने उनको धम्की सबैको कानमा गुञ्जिरहन्छ।”
नेटोका बाँकी ३१ देशको कुल सैन्य बजेटको दुई तिहाइ जति त केवल वाशिङ्टन एक्लैको रक्षा खर्च हुने गर्छ। रुस र चीनसहित सबभन्दा धेरै सैन्य खर्च हुने माथिल्ला पङ्क्तिका १० देशको कुल सैन्य बजेटभन्दा अमेरिकाको नै खर्च बढी हुन्छ।
ट्रम्पले भन्ने गर्छन् कि उनले नेटोका अन्य सदस्य देशहरूलाई तिनको खर्च लक्ष्य अनुसार खर्च गर्न बाध्य गराउन सक्छन्। नेटो सदस्य देशहरूले तिनको कुल गार्हस्थ उत्पादनको २% त्यसरी खर्च गर्नु पर्ने लक्ष्य छ। सन् २०२४ मा केवल २३ सदस्य देशले मात्र उक्त लक्ष्य अनुसार खर्च गरे।
यदि ह्यारिसले जितिन् भने, गटमेलर ठान्छिन्, “नेटोलाई वाशिङ्टनको पक्का साथ हुन्छ।” तर उनले थपिन्, “युक्रेनमा विजय हासिल गर्न नेटो र युरोपेली युनियनसँग ह्यारिस निरन्तर साथमा रहनेछिन् तर उनले पनि युरोपमाथि खर्चको दबाव भने रोक्ने छैनन्।”
तर ह्वाइट हाउसबाट पनि ह्यारिस प्रशासनको टोलीले सिनेट र हाउससँग मिलेर काम गर्नु पर्छ। ती दुवै सदन चाँडै नै रिपब्लिकनको नेतृत्वमा पुग्न सक्छन् र तिनीहरू विदेशी युद्धहरूमा होमिन डेमोक्र्याटहरूभन्दा कम इच्छुक हुन सक्छन्। तर जसले जिते पनि आगामी दिनमा किएभले जारी युद्धबाट बाहिरिने उपाय खोज्नु पर्ने दबाव बढ्न सक्छ किनभने अमेरिकी सांसदहरू ठूल्ठूला सहयोग प्याकेज दिन झन् झन् हच्किँदै छन्।
जे होस्, गटमेलर भन्छिन्, “नेटोमा विचलन आउला भन्ने त मलाई विश्वास छैन।” युरोपले ‘अगुवाइ लिन अग्रसर’ हुनु पर्छ।
-शान्ति प्रवर्तक?
आगामी अमेरिकी राष्ट्रपतिले ठूला शक्तिहरूबीच टकरावको शीतयुद्धकाल यताकै सबभन्दा धेरै जोखिम बेहोरिरहेको विश्वमा काम गर्नु पर्ने छ।
“शान्ति र सुरक्षाका मामिलामा अमेरिका नै सबभन्दा महत्त्वपूर्ण अन्तर्राष्ट्रिय खेलाडी हो,” इन्टरन्याशनल क्राइसिस ग्रुपकी प्रमुख कम्फर्ट इरोले भनिन्। उनले थपिन्, “तर द्वन्द्वहरू समाधान गर्ने उसको शक्ति चाहिँ क्षीण भएको छ।”
युद्धहरू अन्त्य गर्ने काम एकदमै कठिन हुन थालेका छन्। “विनाशकारी युद्धहरू लम्बिएका छन्, जहाँ महाशक्तिहरूबीचको प्रतिस्पर्धा तेज भएको छ भने मध्यम शक्तिहरू उदाइरहेका छन्,” इरोले वर्तमान परिस्थितिको वर्णन गरिन्। युक्रेनको जस्तो युद्धमा विभिन्न शक्तिहरू तानिएका छन् भने सुडानका जस्ता सङ्घर्षहरूमा क्षेत्रिय खेलाडीहरूका स्वार्थ टकराएका छन्, जहाँ कतिपय खेलाडीहरू शान्ति भन्दा युद्धमा बढ्ता केन्द्रित छन्।
इरो भन्छिन् अमेरिकाले उसको उच्च नैतिक धरातल गुमाउँदै गएको छ। “युक्रेनमा रुसी कारबाहीलाई एउटा मापदण्डबाट हेर्ने र गाजामा इजरेलको कारबाहीलाई अर्कै मापदण्डबाट हेर्ने उसको शैलीलाई बाँकी विश्वले नियालिरहेका छन्। सुडानमा भएको युद्धमा डरलाग्दा ज्यादती भएका छन् तर त्यसलाई दोस्रो प्राथमिकताको मुद्दा झैँ व्यवहार गरिएको छ।”
ह्यारिसको जितले, उनका अनुसार, ‘वर्तमान प्रशासनकै निरन्तरताको प्रतिनिधित्व गर्ने छ।’ तर यदि ट्रम्प आए भने उनले “गाजा तथा अन्यत्र इजरेललाई उसले चाहेजस्तो कारबाही गर्न थप सहज बनाइदिने छन्। युक्रेनको मामिलामा चाहिँ उनले किएभलाई बेवास्ता गर्दै मस्कोसँग कुनै समझदारी गर्न सक्ने सङ्केत दिएका छन्।”
मध्यपूर्वको मामिलामा ह्यारिसले बाइडनकै नीति अनुरूप इजरेलको ‘आत्मरक्षाको अधिकार’प्रति दृढ समर्थन जनाएकी छन्। तर उनले ‘निर्दोष प्यालेस्टीनीहरूको हत्या रोकिनु पर्ने’ विषयमा पनि जोड दिएकी छन्।
ट्रम्पले अब ‘शान्तितर्फ फर्कने र मानिस मारिने क्रम रोकिनु पर्ने’ समय आएको बताएका छन्। तर उनले इजरेली नेता बेन्जामिन नेतान्याहुलाई ‘जे गर्नुपर्छ गरे हुन्छ’ पनि भनेका खबर आएका छन्।
रिपब्लिकन उम्मेदवार ट्रम्प आफूलाई शान्ति प्रवर्तक भएको भन्दै गर्व गर्छन्। “म मध्यपूर्वमा शान्ति बहाल गराउँछु, छिट्टै नै,” हालै साउदी अरेबियाको अल अरेबिया टिभीलाई दिएको अन्तर्वार्तामा उनले भने।
उनले सन् २०२० को अब्राहम अकोर्ड्स भनिने सम्झौता विस्तार गर्ने पनि बताए। यस अन्तर्गत भएका द्विपक्षीय सम्झौताहरूले इजरेल र केही अरब देशहरूबीचको सम्बन्ध सामान्यीकरण गरेको थियो। तर त्यसले प्यालेस्टीनीहरूलाई बेवास्ता गरेको त्यसैका कारण अहिलेको अभूतपूर्व सङ्कट आइपरेको ठानिन्छ।
युक्रेनको मामिलामा ट्रम्पले रुसी नेता भ्लादिमिर पुटिनप्रति उनको प्रशंसा कहिल्यै लुकाएका छैनन्। उनले भनेका छन् उनी युक्रेन युद्ध अन्त्य गराउन चाहन्छन् र त्योसँगसँगै युक्रेनलाई प्रदान गरिँदै आएको विशाल सैन्य तथा आर्थिक सहयोग रोक्न चाहन्छन्। “हामी बाहिरिनुपर्छ,” उनले हालैको एक र्यालीमा सम्बोधन गर्दै भने।
तर ह्यारिसले चाहिँ भनेकी छन्: “युक्रेनको साथ खडा रहनमा मलाई गर्व छ। म युक्रेनको साथमा निरन्तर खडा रहने छु। साथै यो युद्धमा युक्रेनलाई जिताउन म लागिपर्नेछु।”
तर इरो भन्छिन् जो कसैले जिते पनि विश्वको अवस्था झन् खराब बन्न सक्ने छ।
-बेइजिङसँगको व्यापार
“दशकौँयता विश्व अर्थतन्त्रमा पुग्ने सबभन्दा ठूलो धक्का।” ट्रम्पले सबै आयातित चिनियाँ सामानमा लगाउने भनेर प्रस्ताव गरेको ६० प्रतिशत शुल्कबारे चीन विज्ञ राना मित्तरको दृष्टिकोण यस्तो छ।
‘अमेरिका पहिले’ भन्ने ट्रम्पको नीतिअन्तर्गत उनले निरन्तर दिँदै आएको धम्कीमा चीन तथा अन्य व्यापारीक साझेदारमाथि उच्च शुल्क लगाउने कुरा प्रमुख छन्। तर ट्रम्पले चीनका नेता सी जिन्पिङसँग उनको व्यक्तिगत सम्बन्धको पनि चर्चा गरिरहन्छन्। वाल स्ट्रिट जर्नलको सम्पादकीय मण्डलसँग कुरा गर्दै उनले ताइवानलाई चीनले नाकाबन्दी गरेको खण्डमा आफूले सैन्य शक्ति प्रयोग गर्नु नपर्ने भने। त्यसको कारण खुलाउँदै उनले चिनियाँ नेतामा रहेको ‘आफूप्रतिको सम्मान’ र ‘ट्रम्पले जे पनि गर्न पछि नपर्ने’ तिनले बुझेको बताए।
तर चीनको मामिलामा रिपब्लिकन र डेमोक्र्याट दुवै कठोर छन्। अमेरिकाको विश्वव्यापी प्रभावलाई बेइजिङले छायाँमा पार्न खोजेको दुवै ठान्छन्।
तर ब्रिटिश इतिहासविद् र हाल हार्भर्ड युनिभर्सिटीको केनेडी स्कूलमा अमेरिका-एसिया सम्बन्धबारे एसटि ली चेअर रहेका मित्तर तिनमा केही भिन्नता देख्छन्। ह्यारिसले जितेको हकमा ‘सम्बन्ध अहिलेकै अवस्थाबाट सोझो रेखामा अघि बढ्ने सम्भावना छ।’ यदि ट्रम्पले जितेमा ‘अनिश्चय बढ्ने छ।’ उदाहरणका लागि ताइवान मामिलामा अमेरिकाभन्दा धेरै टाढा रहेको उक्त टापुको रक्षा गर्न अग्रसर हुने बारे ट्रम्पले अस्पष्ट बोलेका छन्।
चिनियाँ नेताहरूले ह्यारिस र ट्रम्प दुवै कठोर हुने विश्वास गर्छन्। मित्तरको भनाइमा “शासनसत्तामा रहेका सानो समूहले चिनेको प्रतिद्वन्द्वीको रूपमा ह्यारिसको जित चाहन्छन्। केही थोरैले चाहिँ ट्रम्पलाई एक व्यापारी मान्दै उनको अनिश्चयपूर्ण व्यवहार भनेको चीनसँग कुनै ठूलो लेनदेनमा केन्द्रित हुने ठान्छन्।”
-जलवायु सङ्कट
“जलवायु र वातावरण सङ्कटको ठूलो महत्त्वका कारण अमेरिकाको निर्वाचन त्यहाँका नागरिकका लागि मात्र नभइ सम्पूर्ण संसारकै लागि महत्त्वपूर्ण छ,” नेल्सन मण्डेलाले स्थापना गरेको विश्व नेताहरूको समूह एल्डर्सकी वर्तमान अध्यक्ष तथा आयरल्यान्डकी पूर्व राष्ट्रपति एवं मानवाधिकारसम्बन्धी राष्ट्रसङ्घीय पूर्व उच्चायुक्त मेरि रबिन्सनले भनिन्।
“(तापमान वृद्धिमा) एक डिग्रीको सानै अंशले पनि जलवायु परिवर्तनका डरलाग्दा प्रभाव रोक्न अनि मिल्टन जस्ता आँधी सामान्य बन्ने स्थिति नबनोस् भन्नेमा महत्त्व राख्छन्,” उनले भनिन्।
तर जब मिल्टन र हेलेन जस्ता आँधीले विनाश मच्चाउँदै थिए ट्रम्पले जलवायु आपत्कालसँग जुझ्न बनाइएका वातावरणीय योजना तथा नीतिहरूलाई ‘इतिहासकै सबभन्दा ठूला ठगी’को संज्ञा दिएर गिज्याएका थिए। पहिलो कार्यकालमा जस्तै यसपाली पनि उनले अमेरिकालाई सन् २०१५ को प्यारिस जलवायु सम्झौताबाट अलग्याउने धेरैले ठानेका छन्।
तर जलवायु क्षेत्रमा भइरहेका प्रगतिको गतिलाई ट्रम्पले रोक्न नसक्ने रबिन्सन ठान्छिन्। “उनले अमेरिकाको ऊर्जा क्षेत्रमा भइरहेको परिवर्तन रोक्न सक्दैनन् र हरित अनुदानका रूपमा दिँदै आइएको अर्बौँ डलरको अनुदान हटाउन सक्ने छैनन्…साथै उनले जलवायु आन्दोलनको वेगलाई पनि रोक्न सक्ने छैनन्।”
यो विषयमा स्पष्ट धारणा नराखिसकेकी ह्यारिसलाई रबिन्सनले ‘नेतृत्व प्रदर्शन गर्न, हालैका वर्षहरूमा भएका प्रगति थप अघि बढाउन अनि अन्य मुख्य प्रदूषकहरूलाई पनि झक्झकाउन’ सुझाव दिइन्।
-मानवीयतापूर्ण नेतृत्व
“सैन्य वा आर्थिक शक्ति मात्र नभइ उसले नैतिक बलमार्फत विश्व मञ्चमा पुर्याउन सक्ने प्रभावका कारण अमेरिकी निर्वाचनको परिणामले धेरै महत्त्व राख्छ,” द्वन्द्व मध्यस्थताका अनुभवी मार्टिन ग्रिफिथ्सले भने। उनी केही अघिसम्म राष्ट्रसङ्घका महासचिवका निम्ति मानवीय मामिला तथा आपत्कालीन राहत संयोजक थिए।
उनी भन्छन्, “ह्यारिस नेतृत्वले त्यो आशाको प्रतिनिधित्व गर्छ।” तुलनात्मक रूपमा “ट्रम्प प्रशासनको पुनरागमन भएमा त्यसले अमेरिका एक्लिँदै जाने तथा एकतर्फी काम गर्ने क्रम बढ्ने छ। त्यसले विश्वव्यापी अस्थिरता र निराशा झन् सघन हुने बाहेक अर्थोक आशा गर्न सकिन्न।”
संयुक्त राष्ट्रसङ्घीय प्रणालीका निम्ति अमेरिका सबभन्दा ठूलो दाता पनि हो। सन् २०२२ मा उसले १८.१ अर्ब डलर राष्ट्रसङ्घलाई दिएको थियो।
आफ्नो पहिलो कार्यकालमा ट्रम्पले कैयन् राष्ट्रसङ्घीय निकायहरूलाई दिने वित्तीय सहयोग रोकिदिएका थिए भने विश्व स्वास्थ्य सङ्गठनबाट अमेरिकालाई अलग्याइदिएका थिए। अन्य दाताहरूले त्यसको भरथेग गर्नु परेको थियो – जुन ट्रम्प पहिलेदेखि चाहन्थे।
मानवीय सहयोगका कार्यहरूमा संलग्न समुदाय र अरूमा पनि निराशा बढ्न थालेको भन्दै ग्रिफिथ्सले मध्यपूर्वको बिग्रँदो अवस्थाप्रति बाइडन प्रशासनको ‘हिच्किचाहट’को आलोचना गरे। मानवीय सहयोगमा सामेल निकायका प्रमुखहरूले अक्टोबर ७ मा इजरेली गैरसैनिकमाथि हमासको हमलाको बारम्बार निन्दा गरेका छन्। तर तिनले गाजा र लेबननका गैरसैनिकहरूको गहिरो पीडा रोक्न अमेरिकाले थप काम गर्नु पर्छ भनेर पनि बारम्बार भन्दै आएका छन्।
बाइडन तथा उनका उच्च अधिकारीहरूले गाजामा थप सहयोग पुर्याउनुपर्ने भन्दै आएका छन्, र त्यसको कहिलेकाहिँ सकारात्मक प्रभाव पनि परेको छ। तर आलोचकहरू भन्छन् त्यस्ता सहयोग र त्यस्ता दबाव कहिले पर्याप्त मात्रामा थिएन। सहयोगको मात्रा नबढाए इजरेललाई उसले दिने केही मुख्य सैन्य सहायता कटौती हुन सक्ने चेतावनी अमेरिकी निर्वाचनसम्मका निम्ति थाँती राखिएको छ।
“मानवीय सङ्कटहरूलाई अविचलित नैतिक स्पष्टताका साथ झेल्ने, अनि मानव जीवन रक्षालाई अमेरिकी कूटनीति र उसको विश्व मञ्चको कारबाहीको मूल ध्येय मान्ने कार्यबाट नै साँचो नेतृत्व जन्मन्छ,” ग्रिफिथ्सले भने।
तर उनी अमेरिका विश्वको अपरिहार्य शक्ति भएको विश्वास गर्छन्। “विश्वव्यापी द्वन्द्व र अनिश्चयको समयमा संसारले अमेरिकाले चुनौती सामना गर्न आवश्यक जिम्मेवार, आदर्श नेतृत्व प्रदान गरोस् भन्ने चाहन्छ…र हामी थप आशा पनि राख्छौँ।” बीबीसी
ताजा खबर
ट्रेन्डिङ
सम्बन्धित खबर
ट्रम्पले महान्यायाधिवक्ता छानेका म्याट गेट्जले लिए नाम फिर्ता
- ०७ मंसिर २०८१
- १ मिनेटको पढाई
इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई विपक्षी दलको ध्यानाकर्षण
- ०५ मंसिर २०८१
- १ मिनेटको पढाई
‘लडाइँभन्दा जेल ठिक’ : धमाधम मुद्दा खेप्दै रुसका भगौडा सैनिकहरू
- ०५ मंसिर २०८१
- ५ मिनेटको पढाई
सामूहिक निर्वासनका लागि सेना प्रयोग गर्ने ट्रम्पको घोषणा
- ०४ मंसिर २०८१
- २ मिनेटको पढाई