न्यूयोर्कमा मनाइयो बलिहाङ तङ्नाम
- २० कार्तिक २०८१
- १ मिनेटको पढाई
न्यूयोर्क : संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा बलिहाङ तङनाम २०८१ (येले तङ्वे ५०८४) मनाइएको छ । याक्थुङ लिम्बु जातिहरुको मौलिक पर्व बलिहाङ तङनाम न्यूयोर्कको गुल्सनटेरेशमा मनाइएको हो ।
अक्टुबर २६ मा मा भएको कार्यक्रममा विविध साँस्कृतिक प्रस्तुतिहरु दिइएको थियो। कार्यक्रममा हाक्पारे साङलो, लारिङ्गेत् (देउसी भैलो) तथा यालाङ (धान नाच) प्रस्तुत गरिएको थियो । लिम्बू संस्कृति झल्किने साँस्कृतिक शो मा ४ बालबालिकाहरुले लिम्बू मौलिक पहिरन लगाएर क्याटवाक गरेका थिए ।
बलिहाङ तङ्नाम किरात याक्थुङ चुम्लुङ अमेरिकाको आयोजनामा गरेको हो । यसमा विविध कार्यक्रमको आयोजना गरिएको थियो। बलिहाङ तङनामलाई पूर्वी नेपालमा बसोबास गर्ने प्रकृति पूजक याक्थुङ लिम्बु जातिहरुको मौलिक पर्व मानिन्छ।
कार्यक्रममा स्थानीय कलाकारहरुले विभिन्न खालका प्रस्तुति दिएका थिए । उनीहरुले लिम्बु भेषभेषामा लिम्बू जातिहरुको मौलिक बाजा च्याब्रुङ बजाएर केलाङ् प्रस्तुत गरेका थिए। साथै कार्यक्रममा बुद्धिजिवीहरुको स्वागत तोङबा खुवाएर गरिएको थियो ।
उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा कोलम्बिया युनिभर्सिटीका अन्तराष्ट्रिय तथा तुलनात्मक शिक्षाका एशोसिएट प्रो डा प्रेम फ्याक रहेका थिए। उनले कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘बलिहाङ तङ्नामलगायतका मौलिक पर्वहरु रमाइलोका लागि मात्र नभएर विभिन्न जातजाति, धर्म र संस्कृतिसँग जोडिएका नेपाली समुदायबिच अन्तरकृया गर्ने अवसर समेत हुने गरेको छ। यस्ता कार्यक्रमले हामी को हौं भनेर आफ्नो परिचय स्थापित गराउन थप सहयोग पुग्छ। बालबालिका, युवा, प्रौढ र पाका उमेरका सबैको उपस्थितिले अन्तरपुस्ता सम्वाद सिर्जना गर्छ।’
नयाँ पुस्तालाई आफ्नो भाषा संस्कृतिसँग परिचित गराउने हिसावले वर्षेनी चुम्लुङ अमेरिकाले उक्त कार्यक्रम आयोजना गर्दै आएको आयोजक चुम्लुङ अमेरिकाका अध्यक्ष दीपक थेबे बताए।
कार्यक्रमा संस्थापक अध्यक्ष श्याम मेयाङवो, अधिकारका सह–निर्देशक नर्वदा क्षेत्रीले बलिहाङ तङनाम सम्योजक राम लिम्बुले आफ्नो मन्तव्य राखेका थिए।