९ मंसिर २०८१, आइतवार
24 November 2024, Sunday

ट्रम्प समर्थक मतदातालाई इलन मस्कले पैसा दिन पाउने, पेनसिल्भेनिया अदालतले गर्यो यस्तो फैसला

ट्रम्प समर्थक मतदातालाई इलन मस्कले पैसा दिन पाउने, पेनसिल्भेनिया अदालतले गर्यो यस्तो फैसला

न्युयोर्क- नयाँ राष्ट्रपति छान्नका लागि अहिले अमेरिकामा निर्वाचनको माहोल छ । आज हुने निर्वाचनमा आगामी राष्ट्रपतिका लागि पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र वर्तमान उपराष्ट्रपति कमला ह्यारिस भिड्दै छन् ।
निर्वाचनका बीच ट्रम्प समर्थकलाई अमेरिकी अर्बपति व्यवसायी इलन मस्कले दैनिक १ मिलियन अमेरिकी डलर (१३ करोड ४६ लाख नेपाली रुपैयाँ) उपहारका रुपमा दिने घोषणा गरेका थिए । ट्रम्पका समर्थकलाई मस्कले यति धेरै रकम दिने विषयलाई लिएर विश्वभर नै चर्चा भएको थियो । कतिपयले यसलाई चुनावलाई प्रभावित पार्न खोजिएको पनि भनेका थिए ।

मस्कको उक्त कदमलाई लिएर अमेरिकी अदालतमा परेको मुद्दामा सोमबार भने फैसला भएको छ ।

अमेरिकी राज्य पेनसिल्भेनियाले सोमबार मस्कले ‘स्विङ स्टेट’ का मतदातालाई दैनिक रुपमा दिने भनेको १ मिलियन अमेरिकी डलर दिन पाउने फैसला गरिदिएको छ । चुनाव हुनुभन्दा एक दिनअघि अर्थात सोमबार अदालतले यस्तो निर्णय गरिदिएको हो ।

न्यायधिश एन्जेलो फोग्लिईट्टाले मस्कले चालेको अभियानलाई ‘गैरकानुनी लटरी’ नभएको भन्दै फैसला गरेकी छिन् ।

टेस्लाका सीईओ मस्कले हालसम्म १६ मिलियन अमेरिकी डलर रकम उनले चालेको अिभयानमार्फत दिइसकेका छन् । साथै, उनको समूह अमेरिका राजनीतिक कार्य समिति (पोलिटिकल एक्सन कमिटि)ले मंगलबार अर्थात निर्वाचनको दिन मिसिगन राज्यबाट अन्तिम विजेता चुनिने पनि बताएको छ ।

मस्क र उनको अभियानको विषयमा मुद्दा हालेका कानुन व्यवसायीहरुले भने मस्कले यो रकम ट्रम्पको एजेन्डा फैलाउनमा उत्कृष्ट काम गर्नेहरुलाई चुनेर वितरण गरिएको भन्ने आरोप लगाएका थिए । यद्यपी अर्बपति मस्कले भने विजेताहरुलाई पुर्वनिर्धारित नभई अनियमित रुपमा नै छानिएको तर्क अघि सारेका छन् ।

मस्कको समूहले यो अभियान अक्टोबर १९ मा सुरु गरेको थियो, जसमा निर्वाचनका प्रमुख भूमिका खेल्ने ७ राज्यहरु, एरिजोना, जर्जिया, मिसिगन, नेभाडा, नर्थ क्यारोलाइना, पेन्सिलभेनिया र विस्कोन्सिन रहेका थिए । त्यहाँ उनीहरुले अभिव्यक्ति स्वतन्त्रता र बन्द्कसँग सम्बन्धित अधिकारको विषयमा आवेदनमा हस्ताक्षर गरेका थिए ।

अक्टोबर २८ मा भने फिलाडेल्फियाका जिल्ला अटर्नी ल्यारी कार्सनरले भने उक्त अभियानलाई बन्द गर्न भन्दै मुद्दा दायर गरेका थिए । डेमोक्रेट रहेका उनले यो अभियानले नियमको अवहेलना गरेको भन्दै अदालतमा आर्थिक जरिवानाको समेत माग गरेका थिए ।

तर अदालतले भने कार्सनरको मुद्दाको विपरितमा निर्णय गरिदिएको छ ।