६ मंसिर २०८१, बिहिबार
21 November 2024, Thursday

अमेरिकामा ४७औँ राष्ट्रपति छान्न मतदान जारी, ट्रम्प र ह्यारिसबीच कडा प्रतिस्पर्धा

अमेरिकामा ४७औँ राष्ट्रपति छान्न मतदान जारी, ट्रम्प र ह्यारिसबीच कडा प्रतिस्पर्धा

न्युयोर्क- संयुक्त राज्य अमेरिकामा नयाँ राष्ट्रपति निर्वाचन गर्न मङ्गलवार मतदान भइरहेको छ। यो निर्वाचनबाट देशका ४७औँ राष्ट्रपति छानिने छन्।

पदासीन उपराष्ट्रपति कमला ह्यारिस र पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पबीच नयाँ राष्ट्रपति बन्न निकै कडा प्रतिस्पर्धा हुने देखिएको छ।

न्यूयोर्क र इन्डिआनासहितका पूर्वी क्षेत्रहरूबाट सुरु भएरको मतदान अमेरिकाका अधिकांश राज्यहरूमा जारी छ।

ह्यारिसले गर्भपतनको अधिकारसँगै कामकाजी परिवारका लागि खाना तथा आवासको खर्च कम गर्ने पैरवी गरिरहेकी छन्। ट्रम्पले आप्रवासीहरूको गैरकानुनी अमेरिका प्रवेश रोक्न सीमा बन्द गर्ने र खर्बौँसम्म कर कटौती गर्ने वाचा गरेका छन्।

अमेरिकी इतिहासमा लामो समयपछि निकै महत्त्वपूर्ण रूपमा हेरिएको निर्वाचनअघि ठूला घटना र उतारचढावहरू देखा परेका थिए।

मतदानको मुख्य दिनअघि नै आठ करोडभन्दा धेरै अमेरिकीहरूले अग्रिम मत खसालिसकेका छन्।

निर्वाचनको अन्तिम परिणाम छिटोमा मतदान सकिएको केही समयमै र ढिलोमा केही दिनपछि आउन सक्ने ठानिएको छ।

राष्ट्रपति निर्वाचनअघि रिपब्लिकन पार्टीका उम्मेदवार डोनल्ड ट्रम्पको दुई पटक हत्या प्रयास भएको थियो। डेमोक्र्याटिक पार्टीको उम्मेदवार बनेका राष्ट्रपति जो बाइडन प्रतिस्पर्धाबाट बाहिरिएपछि उनको स्थानमा ह्यारिस उम्मेदवार बनेकी हुन्।

दुवै पक्षका उम्मेदवारहरूले चुनावी प्रचार र विज्ञापनमा अर्बौँ डलर खर्च गरेका छन्। मतसर्वेक्षणहरूले दुवै पक्षबीच कडा प्रतिस्पर्धा हुने र मतान्तर निकै कम हुने देखाएका छन्।
अमेरिकी मतदाताहरूले देशको राष्ट्रपतिसँगै कङ्ग्रेस भनिने त्यहाँको संसद्‌का सदस्यहरू चयनका लागि पनि मत हाल्दै छन्। कतिपय राज्यमा गर्भपतनको अधिकारबारे पनि मतदानबाट निर्णय हुँदै छ।

मत सर्वेक्षणहरूले अमेरिकी संसद्का दुवै सदनमा अहिले रहेको नियन्त्रणमा हेरफेर हुने देखाएका छन्। कुल ४३० सीट रहेको हाउस अफ रिप्रिजेन्टेटिभ्स भनिने तल्लो सदन र ३४ सीट रहेको सिनेट भनिने माथिल्लो सदनमा बहुमत पुर्‍याउन दुवै पक्षले प्रयास गरिरहेका छन्।

विश्लेषकहरूले माथिल्लो सदन भनिने सिनेटमा रिपब्लिकनहरूले आफ्नो पुरानो नियन्त्रण फर्काउने आकलन गरेका छन्। डेमोक्र्याटहरूले प्रतिनिधिसभामा नियन्त्रण कायम गर्ने आकलन भएका छन्। यसमा बहुमतका लागि उक्त दललाई अहिले भएको भन्दा केही सीट मात्रै थप गरे पुग्ने अवस्था छ।

अमेरिकी सदनहरूमा हुने बहुमतले सन् २०२६ मा हुने अर्को कङ्ग्रेसको निर्वाचनअघिसम्म राष्ट्रपतिले गर्ने शासनलाई प्रत्यक्ष असर पुर्‍याउन सक्छ।

संसद्‌का यी दुई सदनले कानुनहरू पारित गर्नुका साथै ह्वाइट हाउसमाथि नियन्त्रणको काम गर्छन्। राष्ट्रपतिको योजना कुनै सदनमा बहुमत रहेको पार्टीलाई चित्त नबुझे त्यसको कार्यान्वयन गर्न ह्वाइट हाउसलाई अप्ठ्यारो पर्न सक्छ।

मतदान हुने दिन नजिकिँदै गर्दा देशभरि र ‘स्विङ स्टेट’मा गरिएका मतसर्वेक्षणहरूले यी दुई उम्मेदवारबीच प्रतिस्पर्धा अझ बढेको देखाएका छन्। त्यसले विभिन्न स्थानमा थोरै मतान्तरले जितको छिनोफानो हुन सक्ने देखाउँछ। परिणामस्वरूप पुनः मतगणना पनि हुन सक्छ।

सामान्यतयाः विजेता को भयो भन्ने कुरा प्रायः निर्वाचन सकिएको राति नै वा भोलिपल्ट बिहानै मतदाताहरूले थाहा पाउने गरेका छन्।

उदाहरणका लागि, सन् २०१६ मा मतदान सकिएको भोलिपल्ट बिहान सबेरै (ईएसटी ३ बजे, जीएमटी ८ बजे) ट्रम्प विजेता घोषित भएका थिए।

सन् २०१२ मा बराक ओबामा दोस्रो पटक निर्वाचित हुँदा मतदान सकिएको राति नै उनी विजयी हुने अनुमान गरिसकिएको थियो।

तर यसअघि सन् २०२० मा भएको निर्वाचनका लागि नोभेम्बर ३ मा मतदान भएको थियो। तर अमेरिकी टेलिभिजन सञ्जालले नोभेम्बर ७ बिहानसम्म जो बाइडनले चुनाव जितेको घोषणा गरेनन्।

अधिकांश राज्यहरूले मतदान सकिएको २४ घण्टाभित्रै परिणाम घोषणा गरे पनि पेन्सिल्भेनिया र नभाडाजस्ता केही महत्त्वपूर्ण राज्यले परिणाम ढिलो घोषणा गरेका थिए।

झिनो मतान्तर हुने स्थितिमा पुनः मतगणना हुने र कानुनी चुनौती उत्पन्न हुन सक्ने अवस्था पनि आउन सक्छ।

उदाहरणका लागि, पेन्सिल्भेनिआमा दुई उम्मेदवारले पाएको मतको कुल सङ्ख्यामा ०.५ प्रतिशतभन्दा कम अन्तर आए राज्यमा खसेको पूरै मत फेरि गन्नुपर्ने हुन्छ। सन् २०२० मा त्यस्तो अन्तर केबल १.१ प्रतिशत थियो।

अमेरिकाका नयाँ राष्ट्रपतिले ज्यानुअरी २०, २०२५ सोमवार देशको संसद् ‘यूएस क्यापिटल’ को परिसरमा आयोजना गरिने विशेष समारोहमा शपथग्रहण गर्ने छन्। बीबीसी