९ मंसिर २०८१, आइतवार
24 November 2024, Sunday

अपेक्षा गरिएका राज्यमा ट्रम्प र ह्यारिसको प्रारम्भिक जित, कसले रच्ला इतिहास

अपेक्षा गरिएका राज्यमा ट्रम्प र ह्यारिसको प्रारम्भिक जित, कसले रच्ला इतिहास

न्युयोर्क- संयुक्त राज्य अमेरिकामा कडा प्रतिस्पर्धा हुने ठानिएको राष्ट्रपतीय निर्वाचनमा मतदान सकिएका विभिन्न स्थानमा मतगणना भइरहेको छ।

अपेक्षा गरिए जस्तै डोनल्ड ट्रम्पले टेक्सस र फ्लोरिडामा जित हासिल गरेको प्रक्षेपण गरिएको छ। कमला ह्यारिसले न्यूयोर्क र म्यासचूसिट्समा जित हासिल गरेको प्रक्षेपण गरिएको छ।

चुनावको परिणाम घोषणा गर्न महत्त्वपूर्ण हुने ठानिएका ‘स्विङ स्टेट’हरूमा पनि मतदान सम्पन्न भएको छ। तर त्यहाँ कस्तो परिणाम आउँछ भन्न सकिने स्थिति छैन।

सात स्विङ स्टेटहरूमध्ये जोर्जा र नोर्थ क्यारलाइनामा मतगणना सुरु भएको छ। एरिजोना, मिशिगन र विस्कन्सिनमा मतदान सम्पन्न भएका विवरणहरू आएका छन्।

स्विङ स्टेटमध्ये सर्वाधिक मतभार रहेको पेन्सिल्भेनिआका अधिकारीहरूले मानिसहरूलाई धैर्य अपनाउन भनेका छन्।

सर्वाधिक जनसङ्ख्या रहेको क्यालिफोर्नियासहित कतिपय पश्चिमी राज्यहरूमा अझै मतदान भइरहेको छ।

यदि कमला ह्यारिस निर्वाचित भएको खण्डमा उनी पहिलो अमेरिकी महिला राष्ट्रपति बन्ने छिन्। डोनल्ड ट्रम्पले चुनाव जितेको खण्डमा एउटा निर्वाचनमा पराजित भएर पुनः चार वर्षपछि सत्तामा फर्कने उनी एक शताब्दीभन्दा बढी समययताका पहिलो राष्ट्रपति बन्ने छन्।

पछिल्लो एक्जिट पोलको तथ्याङ्कले मत खसाल्ने ५४ प्रतिशत महिलाहरूले ह्यारिसलाई र ४४ प्रतिशतले ट्रम्पलाई समर्थन गरेको देखाएको छ।

सन् २०२० मा जो बाइडनको पक्षमा ५७ प्रतिशत महिलाहरू उभिएका थिए। एक्जिट पोलका तथ्याङ्कहरू अझै पनि गणना भइरहेकाले यो अन्तिम सङ्ख्या भने होइन। यिनले स्विङ राज्यमा के भइरहेको छ भन्ने पनि खुलासा गर्दैनन्।

प्रतिस्पर्धालाई हेर्दा ट्रम्पले श्वेत मतदातामाझ अग्रता लिएका छन्। ह्यारिस अश्वेत मतदातामाझ अघि छिन्।

यसै गरी हिस्प्यानिक समूहमाझ ह्यारिस अघि रहे पनि सो समूहमाझ सन् २०२० को निर्वाचनभन्दा १० अङ्कले ट्रम्पले समर्थन बढाएका छन्।

यसैबीच मतदान गरिरहेका मतदाताहरूलाई भोट खसाल्न उत्प्रेरणा दिने विषयहरूलाई पनि एक्जिट पोलहरूले प्रकाश पारेको छ।

सीबीएसको एक्जिट पोलमा प्रश्न सोधिएका ७० प्रतिशतले हिंसाले चुनावको परिणामलाई प्रभावित तुल्याउने अपेक्षा गरेको बताएका थिए। मतदाताको सर्वाधिक चासोका अन्य दुई विषयमा अमेरिकी लोकतन्त्र र अर्थतन्त्र परेका थिए।

बीबीसीको साझेदार नेटवर्क सीबीएसको प्रक्षेपणअनुसार वेस्ट भर्जिनियाको एउटा प्रमुख सिनेट सीटमा रिपब्लिकन पार्टी विजयी भएको छ।

जारी निर्वाचनमा अमेरिकी कङ्ग्रेसको दुवै सदनमाथि पकड जमाउन प्रतिस्पर्धा भइरहेको छ।

हाल डेमोक्र्याटहरूको नियन्त्रणमा रहेको सिनेटको लगभग एकतिहाइ सीटका लागि प्रतिस्पर्धा भइरहेको छ।

रिपब्लिकनहरूको बहुमत रहेको हाउस अफ रेप्रिजेन्टेटिभ्सका सबै ४३५ सीटमा प्रतिस्पर्धा भइरहेको छ।

अमेरिकी इतिहासमा नै चुनावी अभियानका क्रममा सबैभन्दा ठूलो उथलपुथल यस पटकको निर्वाचनमा देखिएको थियो।

जुलाईमा दलभित्र दबाव बढेपछि राष्ट्रपति बाइडन चुनावी अभियानबाट अलग भए। त्यसपछि उपराष्ट्रपति ह्यारिस उम्मेदवार बनेकी थिइन्।

डोनल्ड ट्रम्पमाथि दुई पटक हत्याको प्रयास गरिएको थियो। पेन्सिल्भेनिआमा एक बन्दुकधारीले उनको हत्या गर्ने प्रयास गरेका थिए।

मे महिनामा ट्रम्पमाथि एक जना वयस्क चलचित्र अभिनेत्रीलाई चुप बस्न दिएको रकमबारेका कागजपत्रहरू किर्ते गरेको आरोप लागेको थियो।

ट्रम्पमाथि अहिले पनि गएको राष्ट्रपतीय चुनावमा आफ्नो पराजय उल्ट्याउन गरेको प्रयासका लागि फौजदारी आरोपहरू छन्।