सात ‘स्वीङ स्टेट’ मध्ये नर्थ क्यारोलाइनामा ट्रम्पले बाजी मारे
- २१ कार्तिक २०८१
- १ मिनेटको पढाई
वासिङ्टन । अमेरिकी राष्ट्रपति पदको निर्वाचन सम्पन्न भएसँगै विभिन्न राज्यमा मतगणना भइरहेको छ । निर्वाचन परिणामका लागि अमेरिकाका ७ ‘स्वीङ स्टेट’ (कसले जित्छ भन्ने अनुमान गर्न कठिन) नै निर्णायक मानिने जानकारहरू बताउँछन् ।
तिनै ‘स्वीङ स्टेट’मध्येको एक नर्थ क्यारोलाइनामा डोनाल्ड ट्रम्प विजयी भएका छन् । सात ‘स्वीङ स्टेट’मा नर्थ क्यारोलाइनाका अतिरिक्त एरिजोना, जर्जिया, मिशिगन, नेवाडा, पेन्सिलभेनिया र विस्कन्सिन छन् ।
यसमध्ये जर्जिया र पेन्सिलभेनियामा पनि ट्रम्प जितको नजिक छन् । यी राज्यका अधिकांश मत गणाना भइसक्दा ट्रम्पले अग्रता बनाइरहेका छन् । एरिजोना र विस्कन्सिन राज्यमा पनि कमला ह्यारिससँग ट्रम्पले झिनो अन्तरले अग्रता बनाइरहेका छन् । यी दुवै राज्यमा आधाभन्दा बढी मत गणना भइसकेको छ ।
मिशिगनमा भने कमला ह्यारिसले अग्रता बनाएकी छन् । यहाँ ३२ प्रतिशतभन्दा बढी मत गणना भएको छ ।