८ मंसिर २०८१, शनिबार
23 November 2024, Saturday

ट्रम्पद्वारा पहिलो महत्त्वपूर्ण नियुक्ति, ‘चीफ अफ स्टाफ’मा सुजी वाइल्स

ट्रम्पद्वारा पहिलो महत्त्वपूर्ण नियुक्ति, ‘चीफ अफ स्टाफ’मा सुजी वाइल्स

न्युयोर्क- अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनल्ड ट्रम्पले राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका महत्त्वपूर्ण पदमा नियुक्ति गर्न थालेका छन्। ट्रम्पले आफ्नो चुनावी अभियानकी वरिष्ठ सल्लाहकार सुजी वाइल्सलाई ‘चीफ अफ स्टाफ’ नियुक्त गरेका हुन्।

अमेरिकामा वाइल्सलाई प्रभावशाली नेत्री मानिन्छ। देशको इतिहासमा उक्त पदमा पुग्ने उनी प्रथम महिला हुन्। रिपब्लिकन पार्टीका दुई चुनावी व्यवस्थापकमध्येकी एक वाइल्स ट्रम्पले नियुक्त गर्न पाउने पदाधिकारीमध्ये प्रथम व्यक्ति हुन्।

-सुजी वाइल्स को हुन्

चुनावी अभियानमा वाइल्सले निभाएको भूमिकाको ट्रम्पले आफू निर्वाचित भएपछिको पहिलो भाषणमा प्रशंसा गरेका थिए। अमेरिकी सञ्चारमाध्यमहरूले सुजीलाई “निकै कम थाहा भएकी र सबैभन्दा भयानक” राजनीतिज्ञ भनेका छन्।

‘पोलिटिको’लाई गत एप्रिलमा दिएको निकै दुर्लभ अन्तर्वार्तामा उनले आफू निकै “परम्परागत पृष्ठभूमिबाट” आएको बताएकी थिइन्। उनले राजनीति सुरु गरेको एक वर्ष पनि नपुग्दै सन् १९८० को राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकन उम्मेदवार रोनल्ड रेगनको चुनावी अभियानमा काम गरेकी थिइन्।

सन् २०१० मा उनले राजनीतिबारे निकै कम जानकार रहेका अमेरिकी तत्कालीन व्यवसायी रिक स्कटलाई सात महिनामै फ्लोरिडाको गभर्नर बनाउन महत्त्वपूर्ण भूमिका खेलिन्। स्कट अहिले अमेरिकी माथिल्लो सदनमा सिनेटर छन्।

ट्रम्पसँग उनको भेट सन् २०१५ मा रिपब्लिकन पार्टीबाट राष्ट्रपतिको उम्मेदवार चयन गर्ने प्रक्रियाका क्रममा भयो। उनी फ्लोरिडाको चुनावी अभियानको सह-अध्यक्ष भइन्। ट्रम्पले सन् २०१६ मा उक्त राज्यमा हिलारी क्लिन्टन भन्दा १.६ प्रतिशत धेरै मत ल्याएका थिए।

आफू गभर्नरको उम्मेदवार हुँदा वाइल्सलाई आफ्नो अभियानको नेतृत्व दिएका फ्लोरिडाका गभर्नर रोन डिसान्टिसले उनको प्रशंसा गर्दै वाइल्सलाई यो “कामका लागि सबैभन्दा उत्कृष्ट” भनेका थिए।

-चीफ अफ स्टाफको भूमिका हे हुन्छ

ट्रम्पले नयाँ टोली बनाइरहेको फ्लोरिडामा रहेका बीबीसी संवाददाताका अनुसार वाइल्सले ह्वाइट हाउसमा प्रमुख नीति र दैनिक गतिविधि हेर्ने भूमिका पाउने छिन्। अमेरिकी राष्ट्रपतिको प्रशासनमा चीफ अफ स्टाफको उल्लेख्य भूमिका रहने गर्छ।

उनीहरूको सबैभन्दा प्रमुख जिम्मेवारी ह्वाइट हाउसको व्यवस्थापकको हो। राष्ट्रपतिको सचिवालयका कर्मचारीहरूको नेतृत्व पनि चीफ अफ स्टाफले गर्छन्। कार्यकारी अधिकार हुने राष्ट्रपति कार्यालयका अन्य कर्मचारीहरूका गतिविधि र सञ्चालनको रेखदेख गर्ने चीफ अफ स्टाफले राष्ट्रपतिलाई नीतिगत विषयमा सल्लाह र नीतिनिर्माणमा मार्गदर्शन पनि गर्ने हैसियत राख्छन्।

-बाइडनको वाचा

त्यसअघि राष्ट्रपति जो बाइडनले ट्रम्प निर्वाचित भएपछि पहिलो सार्वजनिक मन्तव्य दिँदै शान्तिपूर्ण सत्ता हस्तान्तरण गर्ने वाचा गरेका थिए। अमेरिकी प्रजातन्त्रको प्रशंसा गर्दै बाइडनले राष्ट्रपतिमा निर्वाचित भएकोमा ट्रम्पलाई बधाई पनि दिएका छन्।

“देशले एक जना वा अर्कोलाई छान्छ। हामीले देशको छनोट स्वीकार गर्नुपर्छ। आफूले जित्दा मात्रै तपाईँले देशलाई माया गर्ने भन्ने हुँदैन, तपाईँ सहमत हुँदा मात्रै छिमेकीलाई माया गर्ने भन्ने हुँदैन,” उनले भने। उनले निर्वाचनमा पराजित ह्यारिससँग पनि आफूले टेलिफोनमा संवाद गरेको भन्दै ह्यारिसको “प्रेरणादायी चुनावी अभियान”को प्रशंसा गरे।  बाइडनको कार्यकाल अब ७४ दिन बाँकी छ। उनले हरेक दिन उल्लेख्य बनाउने बताएका छन्। बीबीसी