६ मंसिर २०८१, बिहिबार
21 November 2024, Thursday

अमेरिकाको टेक्सासमा हर्षोल्लासका मनाइयो छठ

अमेरिकाको टेक्सासमा हर्षोल्लासका मनाइयो छठ

न्युयोर्क:  संयुक्त राज्य अमेरिकाको टेक्सासमा रहेका नेपाली मुलका मधेसी समुदायले यस बर्षको छठ पर्ब हर्षोल्लासका साथ मनाएका छन् ।

स्थानीय समयअनुसार बिहीबार बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर सुरु भएको छठ पर्व शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन गरिने ‘मधेसी एसोसियसन ईन अमेरिका’का अध्यक्ष डा सङ्गीत रौनियारले जानकारी दिए।

टेक्सासको ड्यालस फोर्टवर्थ क्षेत्रमा रहेका नेपाली समुदायका लागि डेन्टनमा रहेको पानीको तलाउ नजिक छठ पर्व मनाउने व्यवस्था गरिएको थियो । टेक्सासमा रहेका विशेषगरी मधेसी समुदायसम्बद्ध सङ्घ–संस्था एवं मधेसी समुदायका अगुवाहरूले छठ पर्व कार्यक्रमको व्यवस्थापनमा सहयोग गरेका थिए । अस्ताउँदो सूर्यलाई अर्घ दिन ड्यालस फोर्ट वर्थमा रहेका मधेसी समुदायको डेन्टनमा उल्लेख्य सङ्ख्यामा उपस्थिति रहेको डा रौनियारले बताए।

यसैगरी टेक्सासको राजधानी अस्टिनमा पनि छठ पर्व धुमधामका साथ मनाइएको छ । अस्टिनस्थित नेपाली समुदायको साझा संस्था ‘ग्रेटर अस्टिन नेपाली समाज’ले छठ पर्ब मनाउन सहयोग र सहजीकरण गरेको थियो । अस्टिनस्थित  पशुपतिनाथ मन्दिर नजिकको तलाऊमा अस्ताउँदो सूर्यलाई अर्घ दिनेहरुको भिड लागेको थियो ।

अघिल्ला वर्षहरूमा मधेसी समुदायको मात्र सहभागिता रहने छठ पर्बमा यस बर्ष गैरमधेसी समुदायको पनि सहभागिता रहेको ग्रेटर अस्टिन नेपाली समाजका पूर्वउपाध्यक्ष  तथा सामाजिक अभियन्ता रामकुमार महतोले जानकारी दिए।

त्यस्तै मधेसी समुदायसम्बद्ध सङ्घ–संस्था एवं अगुवाहरुका अनुसार संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया, फिलाडेलफिया, फोलिरिडा, अटलान्टा, न्यूयोर्कलगायतका राज्य तथा सहरमा पनि यस वर्ष हर्षाेल्लासका साथ छठ पर्ब मनाइएको छ ।

सम्बन्धित खबर