‘पूर्णबहादुरको सारङ्गी’ ले रच्यो इतिहास
- २४ कार्तिक २०८१
- १ मिनेटको पढाई
न्युयोर्क- चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ ले अहिलेसम्मकै सर्वाधिक ‘सो’ पाउने नेपाली चलचित्रको कीर्तिमान बनाएको छ। सरोज पौडेलको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रले दर्शकलाई सिनेमा हलसम्म आकर्षिते गर्दै मन जितिरहेको छ।
यसअघि ‘बेहुली फ्रम मेघौली’ ले देशभरि ३३५ सो पाएर कीर्तिमान बनाएको थियो तर एक महिनाभित्रै उक्त रेकर्ड तोडिएको हो। ‘बेहुली फ्रम मेघौली’ प्रदर्शन हुँदा अन्य चलचित्र नभएकाले सुरुवातमै धेरै सो पाएको थियो। ‘पूर्णबहादुरको सारङ्गी’ लाई पनि हलवालाहरूले सुरुमा पत्याएका थिएनन्। कात्तिक १५ गतेदेखि देशभर एकैसाथ प्रदर्शनमा आएको यो चलचित्रले बिहीबार नेपालभरका सिनेमा हलमा ३८० भन्दा बढी ‘सो’ पाएको थियो।
यसले नेपाली चलचित्रको इतिहासमै एकै दिन सबैभन्दा धेरै सो पाउने नेपाली चलचित्रको कीर्तिमानसमेत बनाएको फिल्म निर्माण संस्था सेभेन सिजले जनाएको छ। तिहारको अघिल्लो दिन शुक्रबार दुई भारतीय चलचित्र प्रदर्शन भएसँगै हलहरूले चलचित्रलाई जम्मा ५७ सोमा खुम्च्याइदिएका थिए। भारतीय चलचित्र ‘सिङ्घम अगेन’ लाई उनीहरूले १२१ सो र ‘भुलभुलैया ३’ लाई ८३ सो दिएका थिए। चलचित्रले अहिले चार सयभन्दा बढी सो पाएको वितरक प्रचण्डमान श्रेष्ठले जानकारी दिए। उनका अनुसार अस्टनारायण हललगायत हलले दिएको सोको हिसाबकिताब राम्रोसँग आएको छैन।