न्युयोर्क- अमेरिकी राष्ट्रपतीय चुनावअघि एक इरानी षड्यन्त्रमा गराइएको भनिएको डोनल्ड ट्रम्पको हत्या प्रयाससँग सम्बन्ध रहेको भन्दै अमेरिकी सरकारले एक अफगान नागरिकविरुद्ध अभियोग अघि बढाएको छ।
अमेरिकी न्याय मन्त्रालयले ५१ वर्षीय फर्हाद शकेरीविरुद्ध शुक्रवार ट्रम्पको हत्या गर्ने “योजना उपलब्ध गराएको” आरोपमा अभियोग अघि बढाएको हो। अमेरिकी सरकारका अनुसार शकेरी पक्राउ परेका छैनन्। उनी इरानमा रहेको अमेरिकी दाबी रहे पनि इरानले त्यसमा सत्यता नरहेको बताउँदै आएको छ।
म्यानहटन अदालतमा दर्ता गरिएको एक फौजदारी मुद्दामा अभियोजनकर्ताहरूले इरानको रेभुलस्नरी गार्डका एक अधिकारीले सेप्टेम्बर महिनामा शकेरीलाई ट्रम्पको निगरानी र हत्या गर्ने योजना तयार पार्न निर्देशन दिएको दाबी गरेका छन्।
अमेरिकी महान्यायाधिवक्ता मेरिक गार्लन्डले एक विज्ञप्तिमा भनेका छन्: “आपराधिक सहयोगीका सञ्जाललाई राष्ट्रपति-निर्वाचित डोनल्ड ट्रम्पसहितको हत्या योजना अघि बढाउने निर्देशन दिने भूमिकामा रहेका एक इरानी सत्ताका प्रतिनिधिमाथि न्याय मन्त्रालयले अभियोग दायर गरेको छ।”
-अन्य दुई पक्राउ
न्याय मन्त्रालयका अनुसार इरानको खरो आलोचकका रूपमा रहेकी एक अमेरिकी पत्रकारको हत्या गर्ने काम दिइएको अभियोगमा अन्य दुई जनाविरुद्ध समेत मुद्दा दर्ता गरिएको छ। ती मानिसहरू ‘पप’ भनेर समेत चिनिने ब्रुकलिनका ४९ वर्षीय कारलिस्ले रिभेरा र स्टाटन आइल्यान्डका ३६ वर्षीय जोनाथन लोडहल्ट रहेको न्याय मन्त्रालयले जनाएको छ।
बिहीवार उनीहरू दुई जना न्यूयोर्कको दक्षिणी जिल्लास्थित अदालतमा उपस्थित भएका थिए। उनीहरूलाई बाँकी अभियोजनका लागि हिरासतमा राखिएको छ। यो वर्ष ट्रम्पले दुई भिन्दाभिन्दै हत्या प्रयास सामना गरे। जुलाईमा पेन्सिल्भेनिआमा आयोजित चुनावी सभामा ट्रम्पमाथि गोली प्रहार हुँदा उनको कानको केही भाग छेडिएको थियो। त्यसपछि सेप्टेम्बरमा वेस्ट पाम बिचमा गल्फ खेलिरहेका बेला उनीतिर बन्दुक ताकिरहेका एक जनालाई पक्राउ गरिएको थियो।
-‘सात दिनमा हत्या गर्ने योजना’
अभियोगपत्रमा आरोप लगाइए अनुसार शकेरीलाई सात दिनमा ट्रम्पको हत्या गर्ने एउटा योजना लिएर आउन भनिएको थियो। उनले यसअघि अमेरिकी प्रहरीलाई त्यस्तो बयान दिए तापनि उनलाई पक्राउ गरिएको थिएन। अभियोजनकर्ताहरूका अनुसार शकेरीले सात दिनभित्र ट्रम्पको हत्या गर्ने योजना प्रस्तुत गर्न नचाहेपछि इरानी रेभुलस्नरी गार्डले उक्त योजना स्थगित गरेका थिए।
शकेरीले यसअघि प्रहरीलाई दिएको बयान अनुसार इरानी सरकारले चुनावपछि ट्रम्पको हत्या गर्न सहज हुने बताएको थियो। अभियोजनकर्ताहरूले उनले निर्वाचन हार्दाको अवस्थामा त्यस्तो काम सहज हुने तेहरानले ठानेको उल्लेख गरेका छन्।
अभियोजनकर्ताहरूले शकेरीलाई एक बालकका रूपमा अमेरिका आएका एक अफगान नागरिकका रूपमा चिनाएका छन्। सन् २००८ मा उनी अन्ततः देश निकालामा परेका थिए। त्यसअघि उनी चोरीको अपराधमा १४ वर्ष जेल बसेका थिए।
अभियोजनकर्ताहरूका अनुसार ५१ वर्षीय उनले जेलको समय देखिकै “आपराधिक सहयोगीहरूको एउटा सञ्जाल” प्रयोग गरेका थिए। जसमध्ये रिभेरा र लोडहोल्टलाई इरानी सरकारका निशानामा निगरानी बढाउन भनिएको थियो।
-निशानामा पत्रकार पनि
शकेरीले रिभेरा र लोडहोल्टलाई इरानी सत्ताको मानवअधिकार हनन र भ्रष्टाचारबारे लेखेका अमेरिकी पत्रकारको हत्याका लागि एक लाख अमेरिकी डलर दिने बाचा गरेको अभियोजनकर्ताहरूले दाबी गरेका छन्। नाम नखुलाइएका ती पत्रकारलाई विगतमा समेत निशानामा पारिएको बताइएको छ।
शुक्रवार सामाजिक सञ्जालमा राखिएको एउटा पोस्टमा ब्रुकलिनस्थित पत्रकार मासी अलिनजेदले आफ्नो हत्या गर्ने प्रयास गरेका दुई जनालाई एफबीआईले पक्राउ गरेको जनाएकी छन्। उनले ती सन्दिग्ध हत्याराहरू ब्रुकलिनस्थित उनको घरअघि आएका थिए।
“म वाक स्वतन्त्रताको पहिलो संशोधन अधिकार अभ्यास गर्न अमेरिका आएँ— म मर्न चाहन्न,” उनले लेखेकी छन्। “म आतंकवाद विरुद्ध लड्न चाहन्छु, र म सुरक्षित हुन लायक छु।” अमेरिकी पत्रकार र ट्रम्पबाहेक उक्त अभियोगमा इरान सरकारले न्यूयोर्क सहरमा बस्ने दुई यहुदी अमेरिकी व्यवसायीहरूको हत्या गर्न खोजेको आरोप समेत लगाइएको छ। ती व्यवसायीहरू सामाजिक सञ्जालमा इजरेल समर्थक थिए।
शकेरीले उनका इरानी सम्पर्कसुत्रहरूले श्रीलङ्कामा इजरेली पर्यटकहरूविरुद्ध गोली हमला गर्ने योजना माग गरेको अभियोजनकर्ताहरूसँग बताएका छन्। इजरेलमा हमला भएको एक वर्षपछि सन् २०२४ को अक्टोबर महिनामा उक्त हमला गर्न खोजिएको थियो।
शकेरी, रिभेरा र लोडहोल्ट सबैलाई भाडामा खटाएर हत्या गर्न खोजेको आरोप लगाइएको छ। त्यस अपराधका लागि अधिकतम १० वर्षको जेल सजाय हुनसक्छ। उनीहरूले सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा सामना गर्छन् जसले २० वर्ष कारावास गराउन सक्छ। भाडामा लगाएर हत्या गर्ने षड्यन्त्र बनाएको अभियोग समेत उनीहरूविरुद्ध चल्नसक्छ। बीबीसी