६ मंसिर २०८१, बिहिबार
21 November 2024, Thursday

निक्की हेली र माइक पोम्पेओलाई आफ्नो प्रशासनमा जिम्मेवारी नदिने ट्रम्पको भनाई

निक्की हेली र माइक पोम्पेओलाई आफ्नो प्रशासनमा जिम्मेवारी नदिने ट्रम्पको भनाई

न्युयोर्क- अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्व राजदूत निक्की हेली र पूर्व विदेशमन्त्री माइक पोम्पिओलाई आफ्नो टिममा सामेल हुन आमन्त्रण गरेका छैनन् । चुनावी अभियानमा र प्रचार प्रसार अभियानमा पर्याप्त सक्रियता नदेखाएकोले उनलाई आफ्नो दोस्रो कार्यकालमा ट्रम्पले पोम्पिओलाई सामेल नगराएको ट्रम्पका समर्थकहरूको भनाइ छ ।

७८ वर्षीय ट्रम्प अमेरिकाको ४७ औँ राष्ट्रपति निर्वाचित भएका छन् । उनले नोभेम्बर ५ मा भएको निर्वाचनमा ६० वर्षीया उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गरेका थिए । ट्रम्प यसअघि सन् २०१७ देखि सन् २०२१ सम्म राष्ट्रपति रहेका थिए । चुनावी नतिजापछि, सबैको नजर ट्रम्पको आगामी प्रशासनमा पर्न सक्ने सम्भावित व्यक्तिहरूमा थियो ।

रिपब्लिकन पार्टीबाट राष्ट्रपतिको दाबेदार समेत रहेकी निक्की हेलीले ट्रम्पको नयाँ सरकारमा महत्त्वपूर्ण पद पाउने सम्भावना बताइएको थियो । तर अहिले ट्रम्प आफैँले यो सम्भावनालाई अस्वीकार गरेका छन् । “म पूर्व राजदूत निक्की हेली वा पूर्व विदेश सचिव माइक पोम्पिओलाई ट्रम्प प्रशासनमा सामेल हुन आमन्त्रित गर्दिनँ,’ सामाजिक सञ्जाल ट्रुथ सोसलमा एउटा पोस्टमा ट्रम्पले भनेका छन् । तर अघिल्लो कार्यकालमा गरेको सेवाका लागि उनले दुवैलाई धन्यवाद दिएका छन् ।