८ मंसिर २०८१, शनिबार
23 November 2024, Saturday

राष्ट्रपति पौडेल अजरबैजान प्रस्थान

राष्ट्रपति पौडेल अजरबैजान प्रस्थान

राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजान प्रस्थान गरेका छन् । अजरबैजानको बाकुमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) मा भाग लिन राष्ट्रपति पौडेल त्यसतर्फ प्रस्थान गरेका छन् ।

अजरबैजानका राष्ट्रपति इलहम अलियभको निमन्त्रणामा उक्त सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल आइतबार साँझ उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बाकु प्रस्थान गरेका हुन् ।

राष्ट्रपति पौडेललाई बिदाइ गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरेलगायतका उच्च पदस्थ व्यक्ति  पुगेका थिए ।

राष्ट्रपति पौडेलले कात्तिक २७ र २८ गते हुने ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई सम्बोधन गर्नेछन् । सम्मेलनमा ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य हानि तथा नोक्सानीको सम्बोधन’ विषयक उच्चस्तरीय बैठकसमेत हुनेछ ।

नेपाल जलवायुको असरबाट सबैभन्दा बढी प्रभावित हुने मुलुकमध्ये पर्छ ।यसैले कोप–२९ मा नेपालले आफ्ना विषय महत्त्वपूर्ण ढंगले प्रस्तुत गर्ने लक्ष्य राखेको छ । जसमा मेलम्ची, मुस्ताङ, कञ्चनपुर, थामे, काठमाडौँ उपत्यकालगायत क्षेत्रमा असामान्य मौसमजन्य घटनाबाट भएको क्षतिबारे जानकारी गराउने पनि एक छ ।