शौचालयमा शिशु जन्माएर फरार महिला पक्राउ
- २६ कार्तिक २०८१
- १ मिनेटको पढाई
काठमाडौं । झापाको हल्दिबारी –१ गोलधापस्थित द नेपाल हेल्थ क्लिनिक एण्ड डाइग्नोस्टिक सेन्टरको शौचालयमा शिशु जन्माएर फरार भएकी महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
सीसीटीभी फुटेजका आधारमा ती महिलाको पहिचान गरिएको हो । उनी बिर्तामोड –१० की भएको बताइएको छ । मृत शिशुको पोस्टमार्टम भई नसकेकाले ती महिलालाई प्रहरीले निगरानीमा राखेको छ ।
पोस्टमार्टम रिपोर्ट आइसकेपछि उनीमाथि कार्वाही गर्ने जनाइएको छ । सीसीटीभी फुटेजमा एकजना महिला सिटी रिक्सामा आएको र क्लिनिकको बेन्चमा बसेको देखिएको छ । शनिवार दिउँसो २:३० बजेतिर क्लिनिकको शौचालयमा मृत शिशु फेला परेको थियो ।
ती महिला पेट दुखेर अस्पतालमा आएको र शौचालयभित्र शिशु जन्माएर फरार भएको पाइएको प्रहरीले जनाएको छ । ती महिलाको श्रीमान वैदेशिक रोजगारीका क्रममा विदेशमा रहेको पाइएको छ ।
महिला तथा बालबाकासम्बन्धी कुरा भएकाले हाललाई पक्राउ परेकी महिलाको नाम नखुलाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णबहादुर चन्दले बताए। यो वैदेशिक रोजगारीका कारण समाजमा बढेको विकृतिकै एउटा रुप हो प्रहरी प्रवक्ता चन्दले भने ।