चीनमा कारले भीडलाई कुल्चिँदा कम्तीमा ३५ जनाको मृत्यु
- २७ कार्तिक २०८१
- १ मिनेटको पढाई
न्युयोर्क- चीनको झुहाई सहरमा एउटा कारले रंगशालाबाहिर कसरत गरिरहेका मानिसहरूको भीडलाई कुचेको छ । यस दुर्घटनामा कम्तीमा ३५ जनाको मृत्यु भएको छ । अरू ४३ जना घाइते भएको बताइएको छ ।
एक जना ६२ वर्षीय पुरुषले आफूले हाँकिरहेको एसयूभी झुहाईको खेलकुद केन्द्रमा ठोक्काएका थिए । अधिकारीहरूले यसलाई गम्भीर आक्रमण भनेका छन् । चिनियाँ सञ्चारमाध्यमका अनुसार घाइते हुनेमा ठुलो संख्यामा वृद्ध, युवा र बालबालिका रहेका छन् । कार चलाउने व्यक्तिले भाग्ने प्रयास गरे पनि प्रहरीले उनलाई घटनास्थलबाटै नियन्त्रणमा लिएको थियो ।
अचम्मको कुरा के छ भने सोही सहरमा हुन लागेको ठुलो नागरिक तथा सैनिक एयर शोका लागि रहेको कडा सुरक्षा घेराबिच यो दुर्घटना भएको हो । प्रारम्भिक अनुसन्धानबाट अभियुक्त सम्बन्ध विच्छेदपछि सम्पत्तिको छिनोफानोको कुराले बेखुस थिए । यही कारण उनले मानिसहरूमा कार चलाएको आशंका गरिएको छ । घटनापछि आफैँले आफैँलाई चोट पुर्याएकोले अभियुक्त कोमामा रहेको र प्रहरीले उनीसँग सोधपुछ गर्न नसकेको बताइएको छ ।