६ मंसिर २०८१, बिहिबार
21 November 2024, Thursday

युएईलाई हराउँदै नेपाल यु १९ विश्वकपमा छनोट

युएईलाई हराउँदै नेपाल यु १९ विश्वकपमा छनोट

न्युयोर्क- युएईमाथि ऐतिहासिक जित निकाल्दै नेपाल यु १९ विश्वकपमा छनोट भएको छ। बुधबार भएको खेलमा युएईलाई ८ विकेटले पराजित गर्दै नेपालले विश्वकपमा स्थान बनाएको हो।

नेपालले ६ खेलबाट १० अंक जोड्यो। युएईले पनि समान खेलबाट समान अंक जोडे पनि नेपाल नेट रनरेटमा अगाडि रहँदै विश्वकपमा स्थान बनाउन सफल भएको हो।

नेपालले ३.९३५ नेट रनरेट बनायो। यस्तै, नेपाललाई पहिलो खेलमा १३ रनले हराएको युएई भने ३.७४० नेट रनरेटमा समेटियो। नेपालले अर्को वर्ष मलेसियामा हुने विश्वकप खेल्नेछ। युएईले दिएको ८४ रनको लक्ष्य पछ्याएको नेपालले १४.४ ओभरमा दुई विकेट गुमाउँदै ८६ रन बनायो।

नेपालको ऐतिहासिक जितमा ओपनर साना प्रभिनले अविजित रहँदै सर्वाधिक ३५ रन बनाइन्। ४२ बल खेलेकी उनले एक चौका प्रहार गरिन्। कप्तान पूजा महतो २१ रनमा आउट हुँदा सावित्री धामीले १२ रनको योगदान दिइन्। यस्तै, उपकप्तान सोनी पाख्रिन १३ रनमा अविजित रहिन्। दुईपल्ट यु १९ विश्वकप छनोट खेलेको नेपालले युएईलाई पहिलोपल्ट हराएको हो।

सम्बन्धित खबर