अमेरिका लगिदिने भन्दै ठगीको आरोपमा अभिनेत्री ऋचाविरुद्ध प्रहरीमा उजुरी
- २९ कार्तिक २०८१
- १ मिनेटको पढाई
काठमाडौं । चलचित्र ‘तेल भिसा’की नायिका तथा निर्माता ऋचा घिमिरे र निर्देशक शंकर घिमिरेविरुद्ध ठगीको आरोपमा उजुरी परेको छ । काठमाडौं प्रहरी परिसरमा उनीहरूविरुद्ध ठगीको उजुरी परेको हो ।
अमेरिका लगिदिने भन्दै पैसा लिएर अमेरिका नलगेको र पैसा फिर्ता पनि नगरेको भन्दै उनीहरूविरुद्ध उजुरी परेको प्रहरीले जनाएको छ ।
“अमेरिका लगिदिन्छु भनेर पैसा लिएको तर अमेरिका पनि नलगेको र पैसा फिर्ता माग्दा पनि नदिएको भन्दै उजुरी परेको छ,” एक उच्च प्रहरी अधिकारीले भने, “घटनाको वास्तविकता के हो हामी अध्ययन गरिरहेका छौँ ।”
ऋचा र शंकर दुवै लामो समयदेखि अमेरिका बस्दै आएका छन् । ‘तेस भिसा’मा ऋचाको लगानी र अभिनय दुवै छ । यो चलचित्रमा शंकरको लेखन तथा निर्देशन छ । ‘तेल भिसा’ यही मंसिर ७ गते रिलिज हुँदैछ ।
‘तेल भिसा’मा अभिनेता विपीन कार्की, वर्षा राउत, पूजा चन्द, बुद्धि तामाङ, सुचित्रा उप्रेतीलगायतको अभिनय छ । अनिल पाण्डे र शिवराज कार्कीको लगानी रहेको चलचित्रका कार्यकारी निर्माता प्रिन्स युवराज कार्की र श्रुती दाहाल हुन् । ‘तेल भिसा’ मंसिर ७ गते रिलिज हुँदै छ ।