२७ फाल्गुन २०८२, बुधबार
11 March 2026, Wednesday

अमेरिकामा खोप विरोधी अभियन्ता नै स्वास्थमन्त्रीमा नियुक्त

अमेरिकामा खोप विरोधी अभियन्ता नै स्वास्थमन्त्रीमा नियुक्त

न्युयोर्क- अमेरिकाको स्वास्थ्यमन्त्रीमा खोप विरोधी अभियन्ता रोबर्ट एफ केनेडी जूनियर नियुक्त भएका छन् ।  नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफुलाई चुनावमा सहयोग गरेका रोबर्टलाई स्वास्थ्यमन्त्रीमा नियुक्त गरेको घोषणा गरेका हुन्।

रोबर्ट एफ केनेडी जूनियरले डोनाल्ड ट्रम्पलाई धन्यवाद दिदैँ आफ्नो कार्यकालमा अमेरिकालाई फेरि स्वस्थ बनाउने वाचा गरेका छन्। केनडीको नेतृत्वमा दीर्घकालीन रोगको महामारीको अन्त्यसँगै अमेरिकालाई फेरि महान र स्वस्थ बनाउने नारा पूरा हुने ट्रम्पले बताए।

केनेडी विश्वभर कोभिड महामारीविरुद्धको खोप विरोधी अडानलाई लिएर चर्चित छन्। उनको नियुक्तिलाई लिएर केही जनस्वास्थ्य अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन्।

युएस सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका निर्देशक डा।म्यान्डी कोहेनले एपीसँग कुरा गर्दै भनिन्, ‘म पछि गएर बालबालिका वा वयस्कहरूलाई खोपले काम गर्छ भनेर सम्झाउन वा ज्यान गुमाएको हेर्न चाहन्न । चिन्तित छु ।’ रोबर्ट एफ केनेडी जूनियरले पनि २०२४ को राष्ट्रपति चुनावमा आफ्नो स्वतन्त्र उम्मेदवारी पनि दिएका थिए। तर पछि उनले ट्रम्पलाई आफ्नो समर्थन दिएर चुनावी मैदानबाट बाहिरिएका थिए।