कोस्टारिकाले किन गर्यो ८ नेपालीको भिसा रद्द?
- ०४ मंसिर २०८१
- १ मिनेटको पढाई
न्युयोर्क- उत्तर अमेरिकी देश कोस्टारिकाले ८ जना नेपालीको भिसा रद्द गरिदिएको छ। भिसा रद्द गरिदिएपछि कोस्टारिका पुगेका उनीहरू शनिबार काठमाडौं फर्किएका छन्।
फर्किनेहरूमा आशिष माझी, बुद्धिलाल माझी, चन्द्रबहादुर थापा मगर, गणेश बहादुर थापा मागर, आकाश जिसी, अशोक ढकाल, अम्बिरकुमार ढकाल र दिनेश प्रसाद अधिकारी रहेको स्रोतले जनाएको छ।
दिनेश कतार एयरलायन्सको विमानबाट फर्किएका हुन् भने बाँकी ७ जना फ्लाइ दुबईको विमानबाट फर्किएका हुन्। स्रोतका अनुसार कोस्टारिकाले दिनेशको ‘वर्किङ भिसा’ रद्द गरिदिएको थियो भने बाँकी ७ जनाको त्यहाँ पुग्नुअगावै भिसा ‘क्यान्सेल’ गरिदिएको थियो। भिसा रद्दको कारण भने नखुलेको स्रोतको भनाइ छ।
‘एक जनाको वर्किङ भिसा रद्द गरिएको र बाँकी ७ जनाको त्यहाँ पुग्नुअघि नै भिसा क्यान्सेल भएको रहेछ। के कति कारणले रद्द भएको भन्ने खुलाइएको छैन,’ स्रोतले अन्नपूर्णसँग भन्यो।
आकर्षक तलब र विभिन्न प्रलोभनमा परेर नेपालीहरू कोस्टारिकालगायत देश जाने गरेका छन्। कतिपय अमेरिका प्रवेश गर्ने मनसायले पनप त्यहाँ पुग्ने गरेको पाइन्छ।