न्युयोर्क- तपाईँले हालै सामाजिक सञ्जालमा मानिसहरूले ‘ब्लूस्काई’बारे चर्चा गरिरहेको देखेर यो के हो भन्ने ठान्नुभएको हुन सक्छ। यो इलोन मस्कको सामाजिक सञ्जाल ‘एक्स’को विकल्प मानिएको सामाजिक सञ्जाल हो। यसको लोगो र त्यसमा प्रयोग भएको रङ्गले त झन् यो उस्तै देखिन्छ पनि।
ब्लूस्काईका प्रयोगकर्ता द्रुत गतिमा बढिरहेका छन् र प्रतिदिन १० लाख नयाँ प्रयोगकर्ताहरू थपिइरहेका छन्। यो समाचार तयार पार्दासम्म ब्लूस्काईमा एक करोड ६७ लाख प्रयोगकर्ताहरू थिए। तर तपाईँले समाचार पढ्दासम्म यो सङ्ख्या पुरानो भइसक्छ।
त्यसो भए यो के हो र किन धेरै मानिसहरू यसको प्रयोग गर्न सुरु गरिरहेका छन्?
ब्लूस्काई के हो
ब्लूस्काईले आफूलाई “खास हुनुपर्ने जस्तै सामाजिक सञ्जाल” भएको बताउँछ तर यो अरू सामाजिक सञ्जालहरूजस्तै नै देखिन्छ। हेर्दा यसको पेजमा बायाँतर्फ रहेको बारमा खोजी, नोटिफिकेशन्स र गृहपृष्ठजस्ता तपाईँले अपेक्षा गरेका सबै कुरा देखिन्छन्।
यसको प्रयोग गरेर मानिसहरूले ‘पोस्ट, कमेन्ट र रिपोस्ट’ गर्नुका साथै आफूलाई राम्रो लागेका कुराहरूमा ‘लाइक’ गर्न पनि सक्छन्। यसलाई सरल रूपमा भन्नुपर्दा यो ‘एक्स’मा परिवर्तन हुनुअघि ‘ट्विटर’ जस्तो थियो, त्यस्तै देखिन्छ।
यसको सबैभन्दा प्रमुख भिन्नता चाहिँ ब्लूस्काई विकेन्द्रीकृत छ। त्यो भनेको यसका प्रयोगकर्ताहरूले आफ्नो विवरण कम्पनीको सर्भरमा नभई आफ्नै सर्भरमा सङ्ग्रह गर्न सक्छन्। यसको अर्थ मानिसहरूले ब्लूस्काईकै नाममा आफ्नो खाता नखोली प्रयोगकर्ताले चाहेको खण्डमा आफ्नै नामा पनि खाता खोल्न सक्छन्।
तर अधिकांश मानिसहरूले यसो गर्दैनन् भन्दा अत्युक्ति हुँदैन। नयाँ प्रयोगकर्ताहरूको ‘यूजरनेम’ पछाडि “.bsky.social” हुन्छ।
यसका मालिक को हुन्?
यदि तपाईँलाई पनि यो ‘एक्स’जस्तो लागेको भए यस्तो किन भयो भन्ने थाहा पाउँदा तपाईँलाई अचम्म नलाग्न सक्छ। ट्विटरका पूर्वप्रमुख ज्याक डोर्सीले नै ब्लूस्काई बनाएका हुन्। उनले एक पटक ब्लूस्काईलाई यसलाई ट्विटरकै विकेन्द्रीकृत स्वरूप बनाउन चाहेको अनि एकै व्यक्ति वा संस्थाको मात्रै स्वामित्वमा सीमित गर्न नचाहेको बताएका थिए।
तर यसपछाडि काम गरिरहेको टोलीमा अहिले उनी छैनन्। उनले सन् २०२४ मेमा यसको सञ्चालक समितिबाट राजीनामा दिएका थिए। उनले सेप्टेम्बरमा उनले यसमा रहेको आफ्नो खातासमेत हटाए। अहिले ब्लूस्काईका मुख्य मालिक र सञ्चालक यसका प्रमुख कार्यकारी जे ग्राबर हुन्। उनले यसलाई अमेरिकी सार्वजनिक लाभको संस्थानका रूपमा सञ्चालन गरेका छन्।
यसले किन लोकप्रियता आर्जन गरिरहेको छ?
हुन त ब्लूस्काई सन् २०१९ देखि नै प्रयोगमा छ तर यस वर्षको फेब्रुअरीसम्म पनि अन्य प्रयोगकर्ताले तपाईँलाई निमन्त्रणा गरेपछि मात्र तपाईँ त्यसमा खाता खोल्न पाउनुहुन्थ्यो। अर्थात् आम सर्वसाधारणका लागि ढोका खोल्नुअघि नै यो एपका निर्माताले पर्दापछाडि देखिएका समस्याहरूको समाधान गरे र यसलाई स्थिर बनाउन विभिन्न परीक्षण गरे।
उनीहरूको योजना एक हिसाबले सफल पनि भयो। तर नोभेम्बरमा आईपुग्दा नयाँ प्रयोगकर्ताको यसप्रतिको उत्साह यति उच्च भयो कि त्यसकै कारण यो बारम्बार नचल्ने भइराख्छ। यसै महिना भएको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा डोनल्ड ट्रम्प विजयी भएसँगै ब्लूस्काईका प्रयोगकर्ता बढ्नु कुनै संयोग होइन।
एक्सका मालिक इलोन मस्कले ट्रम्पको चुनावी अभियानमा बलियो साथ दिएका मात्र थिएनन्, उनी ट्रम्प प्रशासनमा पनि सशक्त रूपमा सामेल हुँदै छन्। यसकारण एक्स प्रयोगकर्ताहरूमा राजनीतिक विभाजन आयो र ट्रम्पको विरोधमा केही प्रयोगकर्ताले एक्स छाड्न थाले।
अन्य मानिसले भने ब्लूस्काईको लोकप्रियता बढ्नुपछाडि अन्य कारणहरू रहेको बताएका छन्। यूकेको ‘गार्डिअन’ पत्रिकाले एक्सलाई “विषाक्त मिडिया प्ल्याटफर्म” भन्दै त्यहाँ केही पनि पोस्ट नगर्नु पनि एक कारण हुन सक्ने उनीहरूको भनाइ छ। ब्लूस्काई एप डाउन्लोड गर्नेहरूको सङ्ख्या संसारभर ह्वात्तै बढेको छ। गत बिहीवारको तथ्याङ्कअनुसार यूकेमा एपलको एप स्टोरबाट डाउन्लोड गरिएका निःशुल्क एपहरूमध्ये यो सङ्ख्याका हिसाबले सबैभन्दा माथि थियो।
पप गायक लिजो र ‘टास्कमास्टर’का ग्रेग डेभिसलगायतका विभिन्न सेलब्रटीहरूले पनि ब्लूस्काईमा प्रवेश गर्ने र एक्सको प्रयोग कम वा बन्द गर्ने घोषणाा गरेका छन्। यो वृद्धि महत्त्वपूर्ण भए पनि यसले आफ्नो प्रतिस्पर्धी एक्सलाई वास्तवमै चुनौती दिन भने अझै केही समय लाग्न सक्छ।
एक्सले आफ्ना कुल प्रयोगकर्ताको सङ्ख्या सार्वजनिक गरेको छैन तर यसका करोडौँ प्रयोगकर्ता रहेको बुझिएको छ। मस्कले विगतमा २५ करोड मानिसले दिनहुँ आफ्नो प्ल्याटफर्म चलाउने बताएका थिए।
ब्लूस्काईले कसरी पैसा कमाउँछ
ब्लूस्काईले कसरी पैसा कमाउँछ भन्ने कुरा शाब्दिक अर्थमै पनि “लाखौँ डलरको प्रश्न” हो। विभिन्न लगानीकर्ता तथा नयाँ कम्पनीमा लगानी गर्ने कम्पनीहरूको पैसामा ब्लूस्काई सुरु भएको हो। यसै माध्यमबाट यसले करोडौँ डलर कमाएको छ।
तर एकदमै धेरै नयाँ प्रयोगकर्ता थपिएपछि यसमा थप लगानी आवश्यक हुने छ। ट्विटर लोकप्रिय रहेका बेला यसले विज्ञापनबाट नै अधिकांश पैसा कमाएको थियो। तर ब्लूस्काईले आफूले त्यसो गर्न नचाहेको बताएको छ।
बरु आफ्नो ‘यूजरनेम’ आफूले चाहेजस्तो बनाउने सुविधालगायतका सेवाका लागि पैसा माग्नेलगायतका विकल्प निरन्तर खोज्ने उसको भनाइ छ। यो जटिल सुनिए पनि भन्न खोजेको के हो भने त्यसो गर्दा प्रयोगकर्ताको ‘यूजरनेम’ अझ धैरै व्यक्तिगत हुने छ।
यस्तो उपायको पक्षमा रहनेहरू यसले प्रमाणीकरणको एक स्वरूपमा काम गर्न सक्ने बताउछन्। यदि ब्लूस्काईका सञ्चालकले विज्ञापन प्रयोग नगर्ने हो भने उनीहरूले आफ्नो एप चलाइराख्न पनि अवश्य पनि ग्राहकसँग पैसा लिएर विभिन्न सुविधा दिनेलगायतका विकल्प खोज्नैपर्छ।
तर त्यसो गर्दा धेरै पैसा उठेन भने प्रविधि क्षेत्रका ‘स्टार्टअप’हरूका लागि त्यो नौलो भने हुने छैन्। सन् २०२२मा मस्कले किन्नुअघि ट्विटरले पनि सार्वजनिक कारोबार सुरु भएको आठ वर्षमा बल्ल नाफा दोबर बनाएकझ थियो।
अनि हामीलाई थाहै छ संसारका सबैभन्दा धनी व्यक्तिले यसको स्वामित्वका लागि मात्र ४४ अर्ब अमेरिकी डलर खर्च गरेपछि यो सकियो। अहिले ब्लूस्काईको भविष्य अज्ञात छ तर यसको वृद्धि निरन्तर रहने हो भने जे पनि हुन सक्छ। बीबीसी